Comments Add Comment

दाम्पत्य सम्बन्ध तोड्दै हुनुहुन्छ ?

‘तिमीले महिलाको मात्र हैन, पुरुषका बारेमा पनि लेखेको देख्छु, आज मलाई तिम्रो सहयोग चाहिएको छ, मिल्छ भने आजै भेटाैं न ।’

झण्डै एकवर्षसम्म भेट हुन नपाएको एकजना पत्रकार साथीले अस्ति फोन गरेर अत्तालिँदै यसो भने । मैले उनलाई नाई भन्न सकिनँ ।

साझ ५ बजे लभिव मलको गेटकै आडमा भएको क्याफेमा हामी बस्याैं ।

साथीले बिस्तारै हेल्मेट र चस्मा खोल्यो । महिनांै नसुतेको जस्तो फुङ्ग परेको अनुहार । चुस्स परेको, फुलेको दाह्री ।

तिमी त कस्तो बुढो पो भएछौ है । ठट्टा गर्दै मैले भनें । मैले त्यति भन्नासाथ उनका आँखा रसाए ।

म मौन हुन पुगे । उनले एउटा अमेरिकानो मगाए मैले क्यापाचिनो ।

उम.. भन त के तनाव भो तिमीलाई ? मैले सोधें ।

त्यही त हो नि यार, मेरी श्रीमतीले रातदिन म तँलाई डिभोर्स दिन्छु भन्छे । हाम्रो झगडा यतिसम्म भैसक्यो कि अब त म बोल्नासाथ उसले डाडुपन्यु जे पायो त्यसले हिर्काउँछे । उसले घाँटीको दागहरु देखाउँदै भन्यो, यी हेर उसले कोपारेको ।

उसका आँखाबाट भल्किएको आँसुको बेगलाई मेरा शब्दहरुले रोक्न सकेनन् । मैले सोधें- तिमी के चाहान्छौ त ?

उसले भन्यो- मैले उसलाई स्कुल पढ्दादेखि मन पराएर बिहे गरेको हुँ । हिजो जति माया थियो, त्यसमा कुनै कमी छैन । म उलिाई छाडेर बस्न सक्दिनँ ।
तिमीहरुवीच के कुरामा विवाद छ त ? मैले प्रश्न गरें ।

लामो श्वास तान्दै उसले आफ्नो कुरा सुरु गर्‍यो-

बिहे गर्दा म २७ वर्षको थिएँ उनी २० वर्षकी । बिहे भएपछि उनी घरमै बस्थिन् । मैले उनको पढाइलाई निरन्तरता दिनुपर्छ भनेर कलेज पठाएँ ।

उनलाई चिया असाध्यै मन पर्ने । बिहान पहिलो कप चिया बनाएर मैले उनलाई उठाउँथे । सँगै चिया पिएपछि हाम्रो दैनिकी सुरु हुन्थ्यो । बिहानको खाना उनी बनाउँथिन्, बेलुका मैले बनाउँथें । हरेक दिन बाहिर जाँदा उनले के कपडा लगाउने र मैले के लगाउने भन्ने समेत हामीले एकअर्कालाई सोध्ने गर्थ्याैं ।

दिनहरु बित्दै थिए । हाम्री छोरी ८ वर्षकी भइन् । उनले विस्तारै दिउँसो जागिर गर्ने र साँझ कलेज जाने गर्न लागिन् । म छोरी स्कुलबाट आउँदा घर पुगिसक्थें र साँझको खाना बनाएर उनलाई कुर्थें । विस्तारै उनको बच्चा अनि मप्रतिको लगाव मैले कम महसुुस गर्न थाले ।

उनी विस्तारै मसँग चिढिन थालिन् । दिउँसो अफिस टाइममा फोन गरें भने घर आएर कराउथिन् । साँझ घर आएपछि हाम्रो यस्तै सानो सानो कुरामा झगडा पर्न थाल्यो ।

उनले तिमी मलाई शंका गर्छौ र त जतिबेलै फोन गर्छौ भन्थिन् । तर, मैले शंकाले हैन, मायाले फोन गर्थें  ।

विस्तारै हामीवीचको सम्वन्धमा खट्पट सुरु भयो । उनले मलाई कन्ट्रोल मन पर्दैन भन्न थालिन् । उनको व्यवहारले म चिढिन थालें । कामको शिलशिलामा उनी बाहिर जाँदा पनि विस्तारै मलाई असुरक्षित महसुस हुन थाल्यो ।

हिजो पनि उनी यस्तै कुरामा रिसाइन् । झगडाले ठूलो रुप लियो । त्यसकै निसानी हो यो मेरो घाँटीको दाग । आज विहानै उनी बच्चासहित घर छाडेर हिँडिन् । अब तिमी नै भन, म के गरौं ?
उनी मसँग यति कुरा गरुञ्जेलमा धेरैपटक घुँक्क घुँक्क गर्दै रोए । उनको आँशुलाई मेरो शान्त्वनाका शब्दले रोक्न सकेन । तिम्री श्रीमतीसँग म कुरा गर्छु भन्दै म उनीसँग छुटिएँ ।

साँझ फेसबुकमा मैले उनकी श्रीमतीसँग कुरा गरेर भेट्न आग्रह गर्थें । भोलिपल्टै त्यही क्याफेमा हाम्रो भेट भयो ।

आजभोलि फेसबुकमा अनलाइन नि देख्दिनँ, कता हराको तिमी ? मात्र के भनेकी थिएँ, उनका आँखा रसाए । के भयो ? मैले केही थाहा नपाएझै गरी सोधें ।

खै के हो के यार, बिहे गरेर गल्ती गरिएछ । आफ्नो करिअरमा धेरै अगाडि बढ्नुपर्ने मान्छे, घरायसी किचलोले म यता न उताकी भएँ । उनले अनुहार मलीन बनाउँदै भनिन् ।

के भयो, भन न त ? मैले सोधधें ।

हेर न मेरो बुढा मलाई तिमी एकदम राम्री छ्यौ, तिमीलाई त जसले नि आँखा लगाउँछन् भन्दै फेसबुकमा कसैसँग बोल्न नि दिँदैन । बाहिर कतै एक्लै जान नि दिँदैन । उसमा भएको असुरक्षाको भावलाई मैले हटाउनै सकिनँ ।

छोरीसहित आएकी उनले एक हातले आँशुपुछ्दै र अर्को हात छोरीको काँधमा राख्दै बोलेकी थिइन् । मामु रोएको देखेर छोरी समेत रुन थालिन् ।

उनले रुँदै थप वयान गर्न थालिन् ।

सानै थिएँ उनले मन पराउँदा । बच्चा बेलामा सधैं जन्मदिनमा क्याडबरी चक्लेट किनेर दिने उसको बानी अहिलेसम्म कुनै वर्ष छुटेको छैन । माया त कति लाग्छ लाग्छ, तर पनि अब हामी सँगै जिन्दगी बिताउन सक्ने अवस्थामै रहेनौं । सायद छिट्टै डिभोर्स हुन्छ होला ।

मलाई उनीसँग धेरै कुरा गर्न मन थियो । तर, छोरीलाई होमवर्क गराउनु छ भन्दै उनी मसँग छुट्टइिन् ।

म भने एकछिन क्याफेमै बसेर सोच्न थालें।

दुबैजनाको मनमा एक अर्काप्रति यति धेरै माया छ । तर, पनि सम्बन्ध भने टुट्नै लागिसक्यो । यी दुबैजना अहिले एकअर्कासँग अलग छन् । आखिर किन होला ?
केही महिनाअगाडि विदेश जादाँ मैले एकजना बहिनीसँग स्टारवक्र्समा कफी पिउँदै गर्दा सोधेकी थिएँ- के छ ज्वाइँ र छोराको खबर ?

के हुनु दिदी, नेपालमा छ ठीकै होला । निधार खुम्च्याउँदै उनले भनिन् ।

किन, के भयो र ? मैले सोधें

आँखाभरि आँशु पार्दै उनले भनिन्- दिदी, म ८ वर्ष भयो विदेश बसेको । म नेपालकी छोरी, त्यो भन्दैमा मैले स्वतन्त्र भएर हिँड्न र आफुखुशी लगाउन नि नपाउनु ?
किन, के भयो र ? मैले फेरि सोधें ।

मेरो श्रीमान मलाई सधैं कन्ट्रोलमा राख्न खोज्छन् । मैले नराम्रो काम गर्न पो हुन्न । म विवाहित मान्छे, मलाई मेरो सीमा थाहा छ । तर, बुढाले जहिल्यै शंकाको नजरले हेर्दा मन नै मरिसक्यो ।

एक वर्षअगाडि विदेशमा भेटिएकी तिनै बहिनीलाई मैले हालसालै अनामनगरमा एक वकिलकोमा एक्कासी भेटें ।

उनी डभोर्सका लागि नेपाल आएकी रहिछन् । घर सिन्धुपाल्चोक । तर, उनी काठमाडौंबाटै डिभोर्स फाइल गरेर विदेश र्फकने तयारीमा रहिछन् ।

उनले वकिलाई सारा कुरा सुनाइसकेपछि वकिलले उनका श्रीमानलाई फोन गरिन् र भनिन् तपाईकी श्रीमती सम्बन्ध विच्छेदको मुद्दा दायर गर्दै हुनुहुन्छ, सकेसम्म मिलेको राम्रो । नमिल्ने भए पनि सहमतिमै सम्वन्ध विच्छेद गरे छिटो र सजिलो हुन्छ ।

उताबाट जवाफ आयो- म उनीविना बस्न सक्दिनँ, त्यसैले उनलाई सम्झाएर घर पठाइदिनुस् ।

ती बैनी कुनै हालतमा सम्झौता नगर्ने मुड बनाएर आएकी थिइन् । तर, उनका श्रीमान भने वकिलसँग बिन्ती बिसाउदै थिए- ‘म्याडम मेरो शरीरको नशा-नशामा छन् उनी, म उनिविना बाँच्न सक्दिनँ । छोरा मान्छे हुँ, आफ्नी श्रीमतीलाई कन्ट्रोल त गरिहाल्छु नि । रीस उठ्दा दुईचार थप्पड लगाएँ पनि होला । तर, माया धेरै छ म्याडम, म उनलाई छाड्न सक्दिनँ ।

उनका श्रीमानले फोनमा गरेको गफ सुन्दा लाग्थ्यो, यो जोडीभित्र अथाह माया छ । तर, त्यो माया सम्वन्धविच्छेदको नाममा तोडिँदैछ ।

वकिलले लामो श्वास तान्दै म सम्झाउने कोशिस गर्छु भनेर फोन राखिन् ।

मैले फेरि बहिनीलाई सम्झाउने शैलिमा सोधें-

तपाईका बुढाले धेरै माया गर्ने रैछन् । बच्चा सानो छ, बुढाबुढी मिलेर बस्नुस् ।

मेरो कुराले उनका आँखा रसाए । रुँदै भनिन्-

त्यस्तो हैन नि दिदी । म विदेशमा विहानदेखि रातिसम्म काममा खटिन्छु । तर साझ थाकेर डेरामा पुग्छु, कहिले किन फोन उठाइनस्, कहिले किन यस्तो कपडा लगाको ? कहिले हिजो छुट्टकिो दिन कहाँ गाको, यस्तै यस्तै कुरामा सधैं किचकिच सुन्नुपर्छ । ८ वर्षदेखि यही किचकिच सुन्दा-सुन्दा मन नै फाटिसक्यो । माया गर्छ भन्दैमा जहिल्यै किचकिच र उसको कन्ट्रोलमै बाँच्न पनि त गाह्रो हुन्छ नि, हैन ?

मसँग उनलाई दिने कुनै जवाफ भएन ।

किन बिग्रन्छ सम्बन्ध ?

मैले यहाँ दुईवटा जोडीका दुबैतर्फको भावनालाई समेट्नुको कारण यो हो कि श्रीमान र श्रीमतीवीच असाध्यै माया हुँदाहुँदै पनि विभिन्न कारणले सम्वन्धहरु टुट्दै गएका छन् ।

माथिका यी दुबै जोडीले आफ्नो जीवनसाथीलाई माया त गर्छन् तर पनि सम्वन्ध भने तोडिएको छ ।

फरक रक्त सम्वन्धको परिवारमा हुुर्किएका युवा र युवतीको विचार एउटै भने पक्कै हुँदैन । बच्चादेखिको सामाजिक पारिवारिक संरचना र हुकाईको परिवेश, आदिले गर्दा पनि दुईजनाको विचार फरक-फरक हुन्छ ।

तप् फरक विचारका युवक र युवतीवीच जब विवाह हुन्छ, त्यसपछि विस्तारै एकअर्काका विचारहरु जुध्न थाल्छन् । वैवाहिक सम्वन्धमा धेरैले एकअर्काको भावनाको कदर गर्दै , एकले अर्काको विचारलाई सम्मान गर्दै आफुलाई परिवर्तन गर्दै लैजान्छन् भने कोही आफ्नो विचारमा टसमस गर्न रुचाउदैनन् ।

श्रीमानले यसो नगर उसो नगर भन्दा त्यसलाई आफुलाई नियन्त्रण गर्न खोज्यो भनेर नकारात्मक सोच बनाइहाल्ने र श्रीमानले पनि महिला भनेको घरभित्रै बस्नुपर्छ, बाहिर गए भने बिग्रन सक्छन् भन्ने आशंकामा जतिबेला पनि कता हो, के हो भनेर केरकार गरिरहने गर्दा दुबैजनाको मन विस्तारै टुट्दै जान थाल्छ ।

सम्वन्ध टुट्ने धेरै कारणहरु हुन्छन् । कतिपय अवस्थामा सम्वन्ध मिलाउनुभन्दा तोड्नु नै दुबैका लागि हितकर देखिन्छ । तर, मैले यहाँ यस्ता दुईजोडीसँगको कुरालाई मात्र राखें, जहाँ एकअर्कावीचमा ठूलो मतभेद नहुँदा पनि र एकअर्कालाई माया गर्दागर्दै पनि सम्वन्ध विच्छेद हुने अवस्था निम्तिएको छ । यी जोडी न त सम्वन्धमा रहँदा खुशी भए, न त अहिले एकअर्कासँग छुटिएर नै खुशी हुन सकेका छन् ।

कुनै पनि सम्बन्धलाई टिकाउने महत्वपुर्ण आधार भनेकै विश्वास र सम्मान हो ।

त्यसैले एकअर्काप्रतिको विश्वासलाई कायम राख्नका लागि दुवैपक्षले एकअर्काको भावनालाई बुझेर, त्यसको सकेजति सम्मान गरेर अगाडि बढेको खण्डमा यसरी एकअर्कामा माया हुँदाहुँदै सम्बन्धलाई तोड्नुपर्ने बाध्यता आउने थिएन होला ।

पत्रकारिता गरिरहेका मेरा अरु साथीहरू जसका श्रीमान श्रीमती दुबैजनासंग म नजिक छु र उनीहरुवीच पनि यस्तै समस्याहरु रहेको गुनासो समय-समयमा मैले सुन्ने गरेकी छु । कतिपयको त सम्बन्ध विच्छेद भएका खबर आउने गरेका छन् ।

ती साथीहरुलाई यही लेखमार्फत म एकमुष्ट सुझाव दिन चाहान्छु कि एकअर्काको भावनालाई सम्मान गरेर दुवैपक्षले विश्वासको वातावरणलाई कायम राख्ने प्रयास गर्दै आफ्नो पारिवारिक जिन्दगीलाई अगाडि बढाउनुहोस् ।

तपाईको घर नै तपाईलाई स्वर्गीय आनन्द दिने मन्दिर हुनेछ । अनि तपाईको जोडी मुना र मदनको जस्तै प्रेममय जोडी बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment