Comments Add Comment

छि ! बसका सीट, यात्रु दोषी कि यातायात व्यवसायी ?

नेतादेखि यात्रुसम्मलाई दोष, यातायात व्यवस्था विभाग मूकदर्शक

१८ माघ, काठमाडौं । पुरानो बसपार्कबाट कोटेश्वर पुग्न खाली भेटिएको बसमा चढेकी रञ्जना देउजा अगाडिको महिला सीटमा बसिनन् । सीटहरु हेर्दै उनी अन्तिमभन्दा केही अघिल्लो सीटमा पुगिन् । उनले महिला सीट नरोज्नुको कारण हो– फोहोर र घीनलाग्दो सीट ।

‘सबै सीटमा टाटैटाटा छन्, यो सीट च्यातिए पनि अलि सफा रहेछ,’ रञ्जनाले सुनाइन्, ‘बसमा यस्तो फोहोरी सीट देख्दा ज्यादै घीन लाग्छ, नरमाइलो पनि लाग्छ ।’

तर, रञ्जनाले जस्तै धेरै यात्रुले त आफू बस्ने सीट नै हेर्दैनन् । उनीहरु फोहोर सीटमै भए पनि बस्छन् ।

‘छि भनेर के साध्ये ? यहाँ सफाभन्दा पनि खाली सीट पाउनै मुस्किल छ,’ रञ्जना भन्दा अघिल्लो सीटमा बस्न आइपुगेका रामनारायण दाहालले भने, ‘बस्नुअघि चाँहि हेर्नुपर्छ, एकपटक पाइन्टमा चुईंगम नै टाँसिएछ ।’

काठमाडौंमा सार्वजनिक बस चढ्दा धेरैले बस र सीटको सफाइको पक्षलाई ध्यान दिने गरेका छैनन् । अधिकांश बसका सीटहरु फोहोर, दुर्गन्धित र अव्यवस्थित हुन्छन् । सफा सीट खोजेर छानी–छानी बस चढ्ने विकल्प पनि उपलब्ध छैन यात्रुहरुलाई । नयाँ बसहरुमै पनि यो समस्या छ ।

एकपटक सर्वेन्द्र खनालले सार्वजनिक मञ्चबाटै यातायात व्यवसायीलाई भनेका थिए– कम्तीमा जुम्रा, उडुस र उपियाँ परिसकेको बसको सिट धोइदिनुस् र फेरिदिनुस् !

कुनै देशको सभ्यताको स्तर कति हो भन्ने जान्न सम्बन्धित देशको सार्वजनिक यातायात हेर्दा पुग्छ भन्ने गरिन्छ । नेपालमा सार्वजनिक यातायात प्रणाली भद्रगोल मात्रै मात्रै छैन, अस्तव्यस्त र दिक्कलाग्दो पनि छ ।

सुधार्नुपर्ने पक्ष धेरै छन् । तर, सार्वजनिक यातायातका साधनभित्र अझै पनि सरसफाइ लगायतका न्युनतम् कुरामा ध्यान दिने गरिएको भेटिन्न ।

एक त सार्वजनिक बसभित्र यात्रुले सीट भेट्नै मुस्किल छ, भेटिएका सीट पनि कस्ता हन्छन् ? यसको उत्तर सार्वजनिक सवारीमा यात्रा गर्नेहरुले मात्रै दिन सक्छन् ।

बसमा एकपटक सीटको खोल हालेपछि त्यो च्यातिएर काम नलाग्ने स्थिति नभइञ्जेलसम्म फेरिँदैन । धुने काममा पनि चासो दिइँदैन ।

यात्रुहरुले पनि सीट फोहोर भएको र च्यातिएको बारे खासै गुनासो गर्दैनन् । जस्तो छ, त्यसैमा बसेर यात्रा गर्ने आम प्रवृत्तिले यो फोहोरी प्रवृत्ति संस्कारकै रुपमा बदलिएको छ ।

घरबाट चिरिच्याट्ट भएर निस्किएको यात्रुलाई बस र बसका सीटहरु फोहोर छन् भन्ने हेक्का हुँदैन, किनभने नेपाली समाजले यसलाई पचाइसकेको छ ।

यही पक्षलाई देखेर होला, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखका रुपमा रहँदा सर्वेन्द्र खनालले एक सार्वजनिक मञ्चबाटै यातायात व्यवसायीलाई सोधेका थिए, ‘अरु धेरै हेर्दै गरौंला, कम्तिमा त्यो जुम्रा, उडुस र उपियाँ परिसकेको बसको सीट धोइदिनुस् र फेरिदिनुस् ।’

त्यतिबेला यातायात व्यवसायीले सरसफाइको पक्षमा तत्कालै सुधार गर्ने बाचा गरेका थिए । तर, अवस्था अहिलेसम्म बदलिएको छैन । काठमाडौंमा चल्ने अधिकांश बसका सीटहरु अहिले पनि घीनलाग्दा र दुर्गन्ध फैलाउने खालका छन् ।

गाडीभित्र पस्दा यस्तो देखियो !

अनलाइनखबरले मंगलबार सार्वजनिक बसहरुभित्र सीटहरुको अवस्था कस्तो छ भनेर अध्ययन गर्‍यो । अधिकांश बसका सीटका खोलहरु च्यातिएको अवस्थामा भेटिए । कतिपय सीटहरुमा भ्वाङ नै परेको देखियो ।

कतिपय सीटमा सबैथोक गइसकेर धारिला फलामहरु निस्किएका भेटिए, जसले यात्रुलाई कतिबेला काट्ने वा घोच्ने हो भन्ने ठेगान छैन ।

बसमा यात्रा गरिरहेका रमित श्रेष्ठ भन्छन्– पजेरोमा हिँड्ने नेतालाई यस्तोमा चढाउनुपर्‍यो क्या ! यस्तै सिटमा बसाउनुपर्‍यो । बुद्धि फिर्छ कि ?

कतिपय बसका सीटका खोलहरु नच्यातिए पनि मैलो देखिए । कतिपय सीटका खोलमा टाटो नै टाटो देखिए । टाउको राख्ने भाग कालो र मैलो देखिनु त सामान्य जस्तै छ ।

यति मात्रै हैन, धेरैजसो बसका झ्यालका पर्दाहरु पनि फोहोरले कट्कटिएका थिए । अधिकांश बसको तख्तामा राति चालक/सहचालकले ओढेर सुत्ने मन्डी देखिन्थे, ती पनि घीनलाग्दो अवस्थामा ।

बसको ढोकैदेखि धुलो र हिलो माटो भए पनि त्यसलाई सफा गर्ने जाँगर कसैले देखाएको पाइएन ।

सबैजसो बसभित्र डस्टबिन छैनन् । यात्रुले पनि आफूले प्रयोग गरेको प्लास्टिक, कागज, बदाम तथा बोक्रा पनि त्यतिकै सीटमुनि फाल्छन् । त्यसले बसभित्र थप दुर्गन्ध सिर्जना गरेको छ ।

बसभित्रै हिलो र धुलो माटो लागेको अतिरिक्त टायरलाई कभर नगरी राखिएका पनि हुन्छन् । यात्रुलाई कोचिएर यात्रा गर्दा त्यसमै टाँसिन कर लाग्छ । यसले घरबाट सफाचट भएर निस्किएको यात्रु बसभित्रै फोहोरी हुने गरेका छन् ।

यसैका कारण पनि सार्वजनिक सवारीमा भन्दा निजी सवारीमा सर्वसाधारणको मोह बढेको छ । कतिपय बसका चालकले सजाउनका निमित्त अगाडिको सिसासँगै पताकाहरु झुण्डएका छन् । त्यो पनि फोहोरले हेरिनसक्नु भइसकेको देखिन्छ ।

कतिपय बसका क्याबिन यति फोहोर छन् कि बस्नै नसक्ने अवस्था देखिन्छ । बसका सीट मात्रै नभएर भित्तातर्फका भागहरु पनि सफा छैनन् । जसले गर्दा भीडमा यात्रा गर्दा कपडामा कहाँनेर दाग लाग्छ भन्ने पत्तो हुन्न ।

कतिपय बसभित्र पोखिएका मोबिलहरु पनि सफा गरेको भेटिँदैन । यात्रुले गरेको बान्तालाई पत्रिकाले छोपेर दिनभर चलाई हिँड्ने बसहरु पनि काठमाडौं छन् ।

नेतादेखि यात्रुसम्मलाई दोष

हरिसिद्धिका लागि बस चढेका रमित श्रेष्ठ सार्वजनिक यातायातभित्र बेथिति हुनुमा नेताहरुको दोष देख्छन् ।

‘हामी त जस्तो भए पनि नचढी सुखै छैन, पजेरोमा हिँडने नेतालाई यस्तोमा चढाउनुपर्‍यो क्या !,’ श्रेष्ठ व्यंग्य गर्दै भन्छन्, ‘यस्तै सीटमा बसाउनुपर्‍यो, बुद्धि फिर्छ कि !’

उनले पानीजहाज ल्याउनुअघि चलिरहेका बसका सीट फेर्ने अभियान सुरु गर्ने सन्देश प्रधानमन्त्रीसम्म पुर्‍योइदिन अनुरोध गरे । ‘विकासभन्दा ठूलो जनस्वास्थ्य हो,’ उनले सीटतिर देखाउँदै भने, ‘यस्तो फोहोरले रोग सर्दैन ?’

फोहोर भएका बस र सीटहरुबारे चालकहरुलाई सोधियो भने साहुलाई फेर्न भनेको तर चासो नदिएको जवाफ दिन्छन् । व्यवसायीहरु भने चालक र सहचालकहरु अल्छी हुँदा यस्तो समस्या आएको तर्क गर्छन् । व्यवसायीहरुको जवाफ छ, यो धुने काम चालक तथा सहचालकहरुकै हो ।

चालक तथा सहचालकहरु यात्रुको बस सफा नहुनुमा यात्रुको प्रवृत्ति पनि दोषी रहेको सुनाउँछन् ।

‘आफूले खाएका बिस्कुट, चकलेट, चाउचाउ र बदामका खोलहरु बसभित्रै फाल्छन् कतिले बसभित्रै लुकेर खकारेरै थुक्छन्’ थानकोट रुटको बस चलाउने निर्मल बुढाथोकी भन्छन्, ‘रजस्वला भएकाले प्याड लगाउँदैनन्, सीटभरि रगत हुन्छ । सधैं सफा गरेर सम्भव नै हुन्न ।’

थानकोट रुटमा बस चलाउने निर्मल बूढाथोकी भन्छन्– यात्रुले बसभित्रै थुक्छन् । रजस्वला भएकाले प्याड लगाउँदैनन्, सीटभरि रगत हुन्छ

चालकहरु काठमाडौंको सडकलाई हिलो धुलो मुक्त नगरिकन सफा सीटमा बस्न नपाइने बताउँछन् । सडकमा हिलो र धुलोको राज चलिञ्जेल जति सफा गरे पनि नहुने उनीहरुको तर्क छ ।

साँखुको बस चलाउने रमेश बैजु भन्छन्, ‘अहिले त डेन्ट–पेन्ट हान्ने बेलामा मात्रै सीट फेर्छौं, कति फेर्नु, कति धुनु ? बाटोले हैरान गर्छ ।’

सरकारले पनि हेर्दैन

सरकारले प्रत्येक ६/६ महिनामा सवारीको प्राविधिक चेक जाँच गरेर जाँचपास गर्छ । तर, त्यसबेला बसभित्रका सफाइ र सीटको व्यवस्थापन लगायतका पाटोलाई यातायात व्यवस्था विभागले बेवास्ता गर्छ ।

जाँचपास गराउँदा एउटा खोट लाएपछि घुस खुवाउनै पर्ने भएकाले सीट र खोल फेर्ने लगायतका पक्षमा विभागले आँखा चिम्लिदिने गरेको उपभोक्ताकर्मी रामबहादुर थापा बताउँन् ।

‘घुस खुवाएर जाँचपास गर्नुपर्ने भएपछि व्यवसायीले थोत्रो भइन्जेलसम्म पनि बस मर्मत नगरी चलाउँछन्, उनीहरुलाई राज्यले नै छुट दिएकाले यस्तो भएको हो, नियमित अनुगमन गर्ने हो भने सीट नफेरी सुखै हुँदैन,’ उनी भन्छन् ।

यातायात व्यवस्था विभागका अधिकारीहरु भने सीट कस्तो छ भनेर विशेष अनुगमन नगरिएका कारण यस्तो अवस्था अएको स्वीकार्छन् ।

‘हामीसँग अनुगमनका लागि पर्याप्त जनशक्ति नै छैनन्,’ विभागका एक अधिकारीले भने, ‘तत्काल यस्ता विषयमा अनुगमन गरेर कारवाही गर्ने योजना पनि छैन ।’

फोहर बस
बसको क्याबिन
घिनलाग्दो सिट
फोहोरयुक्त र अस्तव्यस्त सिट
फोहोरले कट्कटिएका पर्दा
बसको फोहोर
च्यातिएका सिट

तस्वीरः शंकर गिरी/अनलाइननबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment