Comments Add Comment

कोरियन कम्पनीले सेनालाई बुझायो फास्ट ट्रयाकको डीपीआर

२१ माघ, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को डीपीआरको मस्यौदा तयार भएको छ । कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा आइतबार राति नेपाली सेनालाई बुझाएको हो ।

सेनका प्रवक्ता यमबहादुर ढकालका अनुसार निर्धारित समयभित्रै कोरियाली कम्पनीले डीपीआर सेनालाई बुझाएको हो । ‘अब डीपीआर अध्ययन गर्छौं, त्यसमा केही आवश्यक परेमा रिभ्यु हुन्छ’ उनले भने, ‘त्यसपछि यसलाई छिट्टै अन्तिम रुप दिन्छौं ।’

यो डीपीआर करिब १० करोड १५ लाख रुपैयाँको लागतमा तयार भएको हो ।

डीपीआर बन्नुअघि नै नेपाली सेनाले ७६ किमी लामो यो एक्सप्रेस–वेलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको छ ।

केही खण्डमा डीपीआर नबनेका कारण काम सुरु हुन सकेको छैन । मकवानपुरको लेनडाँडास्थित कान्तिराजथप र फास्ट ट्रयाकको मिलन विन्दु रहेको क्षेत्रमा डीपीआर नभएकाले अझै काम अघि बढेको छैन ।

लेनडाँडा फास्ट ट्रयाककै सबैभन्दा जटिल विन्दु हो । त्यहाँ एडीबीले गरेको सम्भाव्यता अध्ययनमा एउटा मात्रै सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको थियो । यहाँ झण्डै साढे २ सय मिटर अग्लो र निकै लामो पुल पनि प्रस्ताव गरिएको थियो ।

तर, सेनाका फास्ट ट्रयाक आयोजना प्रमुख योगेन्द्रबहादुर खाँडका अनुसार यहाँको भौगर्भिक अवस्थाको विस्तृत अध्ययन गर्दा अग्लो पुल बनाउन उपयुक्त देखिएको थिएन ।


६० वर्षपछि पिच हुन लागेको कान्तिराजपथ जोगाउन यहाँ सुरुङमार्ग जरुरी देखिएको थियो । माथिबाट फास्ट ट्रयाक जान असहज भएकाले त्यसरी निर्माण गर्दा कान्तिराजपथ नै जोखिममा पर्ने तर्क नेपाली सेनाका अधिकारीहरुको छ ।

‘त्यहाँ महाभारत र शिवालिक पर्वतको संगम हुन्छ, ठूलो भूकम्प आयो भने अग्लो पुलमा समस्या आउन सक्छ,’ खाँड भन्छन्, ‘त्यसैले यो निकै जटिल भूगर्भलाई ख्यालमा राखेर तीनवटा खण्डमा ६.५ किलोमिटरको सुरुङ प्रस्ताव गरेका छौं । त्यसैकारण करिब ९ किलोमिटर खण्डमा हामीले काम गरेका छैनौं ।’

कोरियाली कम्पनीले दिएको डीपीआर रिपोर्टले यो क्षेत्रमा सुरुङमार्ग निर्माण प्रस्ताव गरेको छ । यसतै खोकनालाई नै प्रस्थान विन्दुका रुपमा अध्ययन गरिएकाले सर्ने सम्भावना कम छ । हाल खोकनाका झण्डै आधा द्रुतमार्ग प्रभावितले मुआब्जा बुझेका छैनन् । उनीहरुले द्रुतमार्गको प्रस्थान विन्दु सार्न माग गरिरहेका छन् ।

सेनाले हाल सजिलो भूभागमा सडकको रेखांकनअनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्र रुपमा गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment