Comments Add Comment

काठमाडौंका २८४ स्थानमा शौचालय आवश्यक, भएकाको हालत दयनीय

२१ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र २८४ स्थानमा सार्वजनिक शौचालय सञ्चालन गर्नुपर्ने अध्ययनले देखाएको छ ।

काठमाडौंको सहरी आवश्यकता पूरा गर्न भएकालाई स्तर उन्नति गर्ने, केही नयाँ ठाउँमा थप गर्ने, शौचालयलाई सशुल्क चलाउने कि निशुल्क चलाउने भन्ने नीतिगत व्यवस्था गर्नुपर्ने खाँचो अध्ययनले औंल्याएको हो ।

महानगरपालिकाभित्र सार्वजनिक शौचालय सञ्चालनको अवस्थाबारे अध्ययन गर्न माघ ६ गते गठिन कार्यदलले सोमबार प्रतिवेदन बुझाउँदै भएका शौचालयको अवस्था परिवर्तन तथा सुविधा थप गरेर तत्काल महसुस गर्न लायक सुधार गर्नुपर्ने निश्कर्ष पेश गरेको छ ।

कार्यदलका संयोजक एवं सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काˆलेले सार्वजनिक शौचालय निर्माणका लागि ठाउँ पहिचान गर्ने, निर्माण तथा सञ्चालन ढाँचा तयार गर्ने अधिकार सम्पन्न समितिका संयोजक एवं काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई प्रतिवेदन बुझाएका हुन् ।

अध्ययन प्रतिवेदन बुझाउँदै काफ्लेले अहिले चलेका कतिपय शौचालयमा चुकुल नभएको, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलाहरुलाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्न सके मात्रै पनि तत्काल सुधार देखिने बताए ।

‘हामीले शौचालय निर्माण सञ्चालन र व्यवस्थापनका लागि ई-ट्वाइलेट, स्मार्ट र इको जस्ता विभिन्न ढाँचा शिफारिस गरेका छौं, निर्णयकर्तालाई सजिलो होस् भनेर निर्माण तथा सञ्चालनतर्फ महानगर आफैंले बनाउने तथा चलाउने, निजी क्षेत्रलाई बनाएर चलाउन दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत बनाउने तथा चलाउन दिनेजस्ता बिकल्प प्रस्ताव गरेका छौं’, उनले भने ।

समितिकी संयोजक एवं महानगरकी उपप्रमुख श्रेष्ठ खड्गीले कामको थालनी भइरहेका शौचालयको अवस्था र व्यवस्थामा सुधार गरेर अघि बढ्ने बताइन् ।

हाल काठमाडौंका विभिन्न ५८ स्थानमा ५८ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन् । भएका शौचालय पनि पसलले घेरिएको अवस्थामा छन् । साधारण मान्छेले शौचालय कहाँ छ भन्ने भेउ पाउँदैनन् ।

कतिपय शौचालय पैसा उठाउन मात्र चलेका छन् । त्यहाँ न सरसफाइ छ न पानीको प्रबन्ध छ । यसरी चलेका शौचालयलाई व्यापारभन्दा सेवाका लागि रुपान्तरण गर्नुपर्छ ।

सोमबार बुझाइएको प्रतिवेदनमा पहिलो चरणमा भएकालाई सुधार गर्ने र त्यसपछि क्रमशः नयाँ निर्माण तथा आधुनिक शौचालय थप गर्न सुझाव दिइएको छ।

यसमा कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन बिश्वविद्यालयजस्ता निकायसँग समन्वय गर्दा १२ वटा शौचालय थप गर्न सकिने देखाइएको छ ।

आयल निगमले सञ्चालन गरेको पेट्रोल पम्पमा ७२ वटा शौचालय थप्न सकिने प्रतिवेदनमा उल्लेख छ । महानगरभित्रका व्यवसायिक सपिङ कम्प्लेक्स, मलहरु मध्ये ६७ वटामा सम्बन्धितसँग छलफल गरेर सार्वजनिक शौचालय सञ्चालन गर्न सम्भव रहेको अध्ययनले देखाएको छ ।

कार्यदलले महानगरका ५७ स्थानमा शौचालय राख्न सकिने राय दिएको छ । साथै वडाध्यक्षहरुसँगको छलफलपछि स्थान बढ्न पनि सक्ने प्रतिवेदनमा भनिएको छ । आवश्यकतालाई आधार मानेर टेकु चोक, सानेपा पुल, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछा पोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरीलाई प्राथमिकतामा राख्न सुझाइएको छ ।

यस्तै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर सोह्रखुट्टे, बल्खु र कुलेश्वरमा प्राथमिकताका साथ सार्वजनिक शौचालय निर्माण गर्न कार्यदलको सुझाव छ ।

भएका शौचालयका हालत दयनीय

महानगरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको अवस्था बुझ्न आइतबार उपप्रमुखको नेतृत्वमा समितिका सदस्यहरु ईश्वरमान डंगोल र न्हुच्छेकाजी महर्जनको टोली बिज्ञसहित सहरका विभिन्न स्थानमा पुगेको थियो ।

अनुगमनका क्रममा भएका शौचालयको अवस्था दयनीय देखियो । टोलीले बीर अस्पताल अगाडि आकाशे पुलमुनि, पुरानो बसपार्कभित्र, रत्नपार्क आसपास, बिद्युत प्राधिकरण अगाडि, भृकुटीमण्डप बाहिरको शौचालय निरीक्षण गरेको थियो ।

विष्णुमती लिंक रोडअन्तर्गत परोपकार विद्यालय नजिकको, पानी पोखरीस्थित खानेपानी विभागको परिसरमा रहेको निर्माणधीन ई-ट्वाइलेट र नयाँ बसपार्कस्थित बसपार्क भित्रको शौचालय पनि टोलीले निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा यी शौचालय शौच सेवा भन्दा अन्य व्यापारको अखडा बनेको भेटियो । शौचालयमा न्युनतम पूर्वाधार पनि देखिएन । बीर अस्पताल अगाडिको शौचालयमा भने महिलाका लागि स्यानिटरी प्याड फाल्ने बिन र शौचालयको हावा बाहिर फाल्ने ˆयान राखिएको देखियो ।

भृकुटी मण्डप अगाडिको शौचालय भित्र सफा थियो तर, बाहिर भने पसलले ढाकिएको थियो । नयाँ बसपार्कभित्रका शौचालयको सफाइ ग्रुप फोरलाई जिम्मा लगाएको पाइएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment