Comments Add Comment

विदेशी भूमिमा हुने अवार्ड पैसा र मोजमस्तीले बदनाम हुँदै

चलचित्रकर्मी भन्छन्–‘पैसा माग्नेको अवार्डलाई बहिष्कार गरौ’

बुधबार आयोजना भएको एक अवार्डको पत्रकार सम्मेलनमा कार्यक्रम संचालक नरेश भट्टराइले सुरुवातमै पत्रकारलाई एउटा कुराको जानकारी गराए, जुन जानकारी गराउन आवश्यकता थियो या थिएन भन्ने बहस गर्न सकिन्छ । नरेशले हङकङमा आयोजना हुन लागेको ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’मा सहभागी हुने चलचित्रकर्मीले कुनै पनि पैसा तिर्नुनपर्ने जानकारी गराए ।

वास्तवमा यो जानकारी गराउनुपर्ने बिषय नै होइन । तर, अहिले नेपाली चलचित्रको विदेशमा आयोजना हुने अवार्ड यति ध्वस्त भैसकेको छ कि, नरेशलाई पैसा लाग्दैन है भनेर जानकारी गराउन कर नै लाग्यो । अहिले विदेशमा आयोजना हुने अवार्ड वदनाम हुनुको मुख्यकारण नै पैसाको चलखेल हो । अवार्ड कसलाई दिने ? अवार्डका लागि को लायक छ ? अवार्डमा कसलाई लैजाँदा गरिमा बढ्छ भन्ने बिषय आयोजकले सोच्न छाडेका छन् । बरु, पैसा कसले धेरै हाल्छ उसलाई अवार्डमा सहभागी गराउने र अवार्ड पनि उसैलाई दिने प्रचलन यति धेरै बढेको छ कि, त्यसले विदेशी बजारमा आयोजना हुने अवार्ड समारोह बदनाम हुन थालेका छन् ।

वुधबार आयोजित पत्रकार सम्मेलनमा यो बिषयमा चलचित्र क्षेत्रका दुई चर्चित संस्थाका प्रमुखहरुले कुरा उठाएका थिए । चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले भने–‘पैसा दिएर अवार्डमा सहभागी हुने बिषयमा चलचित्रकर्मी नै सजग हुनुपर्छ । हामी आफैले पैसा नदिने हो भने त्यस्ता अवार्ड विस्तारै किनारा लाग्दै जान्छन् । विदेश घुम्न पाइने र अवार्डको लोभमा आयोजकले जती भन्यो त्यती नै पैसा तिरेर जाने अनी नेपाल आएपछि कुरा काट्ने प्रचलन बढेको छ । यसले अवार्डलाई बदनाम बनाएको हो ।’

यता, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको भनाई पनि उदयको जस्तै थियो । विदेशमा अवार्ड आयोजना गर्दा त्यसले सिंगो चलचित्रको नै प्रतिनिधित्व गर्ने भएकाले चलचित्रकर्मी पनि मर्यादित हुनुपर्ने उनको भनाई थियो । यसका लागि उनले आयोजकलाई सेड्यूल बनाएर कार्यक्रम गर्न आयोजकसँग आग्रह गरे । आकाशले भने–‘विदेशमा अवार्ड आयोजना हुँदा त्यसले नेपाली चलचित्र क्षेत्रलाई माथि उठाउन पर्छ, बदनाम गर्ने होइन । यसैले, बदनाम हुने गरी कसैले पनि काम गर्नु हुँदैन ।’

आकाशले यसो भनिरहँदा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो तितो अनुभव सुनाए । उनले भने–‘अवार्डमा जाने कलाकर्मीलाई सेड्यूल बनाएर पनि केही नलाग्ने रहेछ । महंगो खर्च गरेर होटल बुक गर्यो, राती आधा कोठा त खाली नै हुन्छ । कलाकारका लागि एउटा सेड्यूल बनाइदियो, आयोजकलाई झनै हैरानी ।’

नेपालबाट उडेपछि धेरै कलाकर्मी अब रम्ने समय यही नै बेला हो भन्ने सोच्न थाल्छन् । जसलेगर्दा, न त उनीहरु आयोजकको सेड्यूल अनुसार हिड्छन् न त नियममा नै । कलाकारले एउटा अवार्डमा सहभागी हुँदा सिंगो देशको नै प्रतिनिधित्व गरेका हुन्छन् । तर, विदेशमा आयोजना हुने अवार्डका लागि पुग्ने चलचित्रकर्मीले नेपाली आकाशबाट उडेपछि यो कुरा चटक्कै विर्सिएको पाइन्छ । यसैले, कहिलेकाही कलाकारले सडकमै घिनलाग्दा हर्कत गरेको भिडियो सार्वजनिक हुने गरेको छ ।

चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले भने–‘मैले आजसम्म पैसा दिएर अवार्डमा सहभागी भएको छैन र पैसा लिएर अवार्ड पनि गरेको छैन । विदेशमा आयोजना हुने अवार्डले नेपाली चलचित्रको विदेशी बजार विस्तारमा ठूलो योगदान गरेका हुन्छन् । तर, ती अवार्डमा आफै जाने र अवार्ड पाइएन भने कुरा काट्दै हिड्ने प्रचलन हटाउनुपर्छ ।’

हुन पनि हो, अहिले अवार्डमा चलचित्रकर्मीको उपस्थिती साह्रै नै फितलो हुने गरेको छ । अहिले अवार्ड पाउँदाको गरिमा सकिदै गएको छ । अर्कोतिर, विदेशमा आयोजना हुने अवार्डमा सहभागी हुनका लागि पैसा तिर्नै पर्ने प्रथा बढ्न थालेपछि कलाकार विच्किन थालेका छन् । जसलेगर्दा, विदेशमा पुग्ने जम्बो टोलीमा चिनिएका अनुहार भन्दा घुम्न र रमाइलो गर्न जानेको संख्या बढेको छ ।

नेपाली चलचित्रको बजार विस्तारका लागि विदेशमा आयोजना हुने अवार्ड सबैभन्दा ठूलो हतियार हुन् । तर, यसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि आयोजक, चलचित्रकर्मीले नै गम्भिर भएर नसोच्ने हो भने अवार्ड त बदनाम हुन्छन् हुन्छन्, त्यसको हावाले चलचित्र क्षेत्रलाई पनि छपक्कै छुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment