२९ माघ, काठमाडौं । रुपन्देही च्यालेन्जर्ससले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
आज (मंगलबार) भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गरेको हो ।
९४ रनको सामान्य चुनौती पछ्याएको रुपन्देहीले १३.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । रुपन्देहीका लागि पुनित मेहराले उत्कृष्ट ब्याटिङ गर्दै टिम उकासेका थिए ।
तीन विकेटको क्षतिमा १९ रन हुदा ब्याटिङ गर्न आएका उनले ४६ रन बनाए । २७ बलको सामना गरेका पुनितले चार छक्का र दुई चौका प्रहार गरे ।
त्यस्तै, बाबर हायतले १७ रन बनाएभने अन्य खेलाडी सस्तैमा समेटिएका थिए ।
बलिङतर्फ अविनास यादवले दुई विकेट लिए ।
यसअघि जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रनको झिनो स्कोर मात्रै बनाउन सक्यो । पहिलो ओभरदेखि नै विकेट पतन सुरु भएको विराटनगरका लागि १७ भन्दा बढि रन कुनै ब्याट्सम्यानले बनाउन सकेनन् ।
राजेश पुलामी मगरले अविजित १७, असदुल्लाह खानले १६ र कुशल भुर्तेलले १२ रन बनाए ।
बलिङतर्फ रुपन्देहीका पुनित मेहराले तीन, कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारीले समान २-२ विकेट लिए ।
सोमबार भएको आफ्नो पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको थियो ।
प्रतिक्रिया 4