Comments Add Comment

नविनाले ‘महान जनयुद्ध’ भन्दा तीर्थालाई चसक्क !

‘जनयुद्ध दिवस’ को कार्यक्रममा प्रधानमन्त्री नजाने

१ फागुन काठमाडौं । माओवादी जनयुद्धलाई कसरी हेर्ने भन्नेमा पूर्वएमालेभित्र विगतमा मत विभाजन हुने गरेको थियो । पार्टी अध्यक्ष केपी ओली जनयुद्धका कट्टर आलोचक थिए । वामदेव गौतम, झलनाथ खनाल लगायत नेताहरु माओवादीप्रति केही नरम दृष्टिकोण राख्थे । तर, त्यसयता कम्युनिष्ट राजनीतिमा धेरै पानी बगिसकेको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकाकार भएर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएको छ । एकीकृत पार्टीमा ओली र प्रचण्ड अध्यक्ष छन् । ‘जनयुद्धको सकारात्मक योगदान’ लाई पार्टीले दस्तावेजीकरण गरिसकेको छ ।

तैपनि पूर्वमाओवादीले फागुन १ गते मनाउँदै आएको ‘जनयुद्ध दिवस’ को विषय भने अझैसम्म पेचिलो बनिरहेको छ ।

नेकपा महासचिव विष्णु पौडेलले यस सम्वन्धमा पार्टी मातहतका निकायहरुलाई एसएमएस सर्कुलर (कतिपयलाई मौखिक) जारी गरेका छन् । त्यसमा उनले ‘जनयुद्ध दिवस’ नभनिकन ‘फागुन १ गते जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम गर्न’ निर्देशन दिएको बुझिएको छ ।

महासचिव पौडेलको परिपत्रलाई लिएर पूर्वमाओवादी र पूर्वएमालेका नेताहरुले आ–आफ्नै ढंगले व्याख्या गरिरहेका छन् । पूर्वमाओवादी नेताहरु ‘एमालेले पनि जनयुद्धलाई मान्यता दियो’ भन्दै हौसिएका छन् ।

अखिल एक कदम अगाडि

पार्टीभन्दा एक कदम अगाडि बढेर पूर्वएमालेको भातृ संगठन अनेरास्ववियूले माओवादीको हिंसात्मक आन्दोलनलाई ‘महान जनयुद्ध’ को रुपमा स्वीकार गरेको छ ।

अखिलकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा ‘आगामी फागुन १ गते महान जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञातअज्ञात सहिदहरुको सम्मान र सम्झनामा संयुक्तरुपमा श्रद्धान्जली कार्यक्रम गरिने’ उल्लेख छ ।

यसबारे अझै प्रष्ट हुन हामीले अनेरास्ववियूकी अध्यक्ष नविना लामालाई सोध्यौं, ‘के तपाईंहरुले पनि जनयुद्धलाई ‘महान’ भन्न थाल्नुभएको हो ?’

लामाले सहज जवाफ दिइन्, ‘हो, यसमा दुईमत छैन । जनयुद्धलाई स्वीकार गरेर नै पार्टी एकता भएको छ । जनयुद्ध ठीक थियो भन्ने निश्कर्षमा हामी पुगेकै हौं ।’

जनयुद्धका क्रममा माओवादीबाट एमालेका नेता कार्यकर्ता पनि हत्या, अपहरणमा परेका थिए । तर, अब यी कुराहरुलाई बिर्सिनुपर्ने लामा बताउँछिन् ।

लामाले भनिन्, ‘अतीतका घटनालाई बिर्सिएर अघि बढ्नुपर्छ । कार्यकर्तालाई बुझाउनुपर्छ । जनयुद्धलाई नेकपाले आफ्नो सम्पत्तिको रुपमा दस्तावेजीकरण गर्नुपर्छ ।’

अनेरास्ववियू र क्रान्तिकारीले ‘भव्य र सभ्य ढंगले’ जनयुद्ध दिवस मनाउने नविनाले बताइन् । दुवै संगठनले फागुन १ गते साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्न र देशभरका सबै जिल्ला एवं क्याम्पसमा कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

‘पार्टीबाट पनि सर्कुलर आएको छ, त्यसबमोजिम हामी देशभर जनयुद्ध दिवस मनाउँदैछौं,’ सांसदसमेत रहेकी अखिल अध्यक्ष नविनाले अनलाइनखबरसँग भनिन् ।

पार्टी एकता भए पनि एमालेनिकट अनेरास्ववियू र तत्कालीन माओवादीनिकट अनेरास्ववियू क्रान्तिकारी भने अहिलेसम्म अलग– अलग अस्तित्वमा छन् ।

तीर्था गौतम भन्छिन् : अचानोको चोट खुकुरीलाई के थाहा ?

जनयुद्धका बेला माओवादीबाट मारिएका थिए रुकुमका तत्कालीन एमाले सचिव यदु गौतम । ०५५ साल फागुन १ गते उनलाई माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । उनकी पत्नी तीर्था गौतम अहिले नेकपाबाट संघीय सांसद छिन् ।

नेकपा सांसद तीर्था भन्छिन्, ‘पार्टीले भुले पनि म र मजस्ता पीडितलाई विगतको घटना बिर्सिन गाह्रो छ । तर, पार्टीको नीति एवं निर्णयमा म कुनै असहमति राख्न चाहन्नँ ।’

नेकपा सांसद तीर्थाले १७ हजार मानिसको ज्यान गएको जनयुद्धबाट नेपाली जनताले के पाए भन्ने मूल्यांकन हुनुपर्ने बताइन् ।

तीर्थाले भनिन्– ‘म मेरो व्यक्तिगत पीडा खोतल्न चाहन्नँ । तर, जनयुद्धबाट पीडित लाखौं परिवारको अवस्था के छ ? उनीहरुले सम्मानपूर्वक बाँच्न पाउने परिस्थिति निर्माण भएको छ कि छैन भन्ने विषय महत्वपूर्ण हो ।’

अनेरास्ववियूले जनयुद्धलाई ‘महान’ भनेर निकालेको विज्ञप्तिले भने तीर्थाको चित्त दुखाएको रहेछ । उनी भन्छिन्, ‘त्यो उहाँहरुको भनाइ होला । तर, पीडितहरुको पीडा आफ्नो ठाउँमा छ । अचानोको चोट खुकुरीलाई थाहा हुँदैन ।’

प्रधानमन्त्री ओली कार्यक्रममा नजाने

अघिल्लो वर्ष फागुन १ गते तत्कालीन माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले पेरिसडाँडामा सांस्कृतिक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा तत्कालीन एमाले अध्यक्ष ओलीलाई निम्तो गरिएको थियो ।

प्रधानमन्त्री बन्ने संघारमा रहेका ओली जनयुद्ध दिवसमा सहभागी भएनन् । उनले एमालेका तर्फबाट वामदेव गौतमलाई जान भनेका थिए ।

नेपाल भ्रमणमा रहेका बेलायती मन्त्रीसँग भेटवार्ताको बहानामा ओलीले उक्त निम्तो टारेका थिए । उक्त सांस्कृतिक कार्यक्रममा बोल्ने क्रममा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले ओलीले जनयुद्ध स्वीकार गरिसकेको बताएका थिए ।

यसपालि भने वाइसीएलले कुनै कार्यक्रम राखेको छैन । पार्टी केन्द्र र जनसांस्कृतिक महासंघले गर्ने कार्यक्रममा आफूहरुको सहभागिता रहने वाइसीएलका अध्यक्ष दीपशिखाले बताए ।

तत्कालीन माओवादीको भातृ संगठन जनसांस्कृतिक महासंघ नेपालले फागुन १ गते प्रज्ञा भवनमा २४ औं जनयुद्ध दिवसका अवसरमा कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड हुनेछन् । कार्यक्रममा प्रधानमन्त्रीलाई पनि निम्तो गरिएको भए पनि व्यस्तताका कारण सहभागी नहुने सन्देश आएको महासंघका अध्यक्ष सरल सहयात्रीले अनलाइनखबरलाई बताए ।

‘प्रधानमन्त्रीको अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले हाम्रो कार्यक्रममा आउन नभ्याउने कुरा आएको छ, महासचिव विष्णु पौडेल चाहिँ आउनुहुन्छ,’ उनले भने ।

त्यसो त बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पनि ‘जनआन्दोलन र जनयुद्धका सहिदको सम्मान कार्यक्रम’ राखिएको छ । त्यसमा पनि प्रधानमन्त्री ओली अनुपस्थित हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको अर्को कार्यक्रम पहिल्यै तय भएकाले धुम्बाराही जान नभ्याउने बताए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भमा प्रधानमन्त्री जानुपर्ने भएकाले उता जान भ्याउनुहुन्न,’ उनले भने । तर, धुम्बाराहीमा साढे १० बजे कार्यक्रम छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन साढे १२ बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

साढे दुई घन्टा समय हुँदा पनि जान नभ्याउने स्थिति हुन्छ र भन्ने प्रश्नमा अर्यालले भने, ‘साढे १२ बजे कार्यक्रम छ, त्यसको तयारीका लागि पनि समय चाहियो नि ।’

एमाले र माओवादी एकिकरणपछि पहिलोपटक पेरिसडाँडास्थित माओवादी मुख्यालय जाँदा ओलीले जनयुद्धका सहिदको स्मारकमा माल्यार्पण गर्दै शीर झुकाएका थिए ।

पार्टी एकीकरणका क्रममा विधानमा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भनेर निकै खिचातानी भएको थियो । अन्ततः एमालेले जनयुद्ध शब्द स्वीकार गरेको थियो ।

माओवादीले ०५२ साल फागुन १ गतेबाट जनयुद्ध भन्दै हिंसात्मक आन्दोलन गरेको थियो । १० वर्षसम्म चलेको आन्दोलनका क्रममा सत्ता पक्ष र विद्रोही पक्षबाट करिब १७ हजार मानिस मारिएका थिए ।

रिजाल भन्छन् : सबै कुरा मिलिसकेका छैनन्

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल जनयुद्ध दिवसका विषयमा पार्टीले आधिकारिक धारणा बनाइनसकेको बताउँछन् । भोलि केन्द्र र प्रदेशहरुमा आयोजना हुने कार्यक्रमहरुलाई ‘जनयुद्ध दिवस’ भन्न नमिल्ने रिजालको तर्क छ ।

‘पार्टी महासचिवज्यूले ७ वटै प्रदेशका इञ्चार्जलाई जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम गर्न मौखिक निर्देशन दिनुभएको छ । तर, यसैलाई लिएर नेकपाले जनयुद्ध दिवसलाई मान्यता दिएको भन्नु अलि हतारो होला,’ रिजालले अनलाइनखबरसँग भने ।

एमाले र माओवादीवीच पार्टी एकता भइसके पनि धेरै सैद्धान्तिक कुराहरु मिलिनसकेको रिजाल बताउँछन् । उनी भन्छन्, ‘जनयुद्धलाई एमालेले मान्यता नदिएको भए त पार्टी एकता नै हुँदैनथ्यो । तर, जनयुद्धका विभिन्न आयामहरु छन् । त्यसका विषयमा फरक धारणाहरु छन् । उहाँहरुले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आउनुभएको छ । हामीले फागुन २४ गते सुखानीका सहिदको सम्झनामा सहिद दिवस मनाउने गर्छौं । यस्ता कार्यक्रमहरुलाई कसरी एकीकृत गर्न सकिन्छ भन्ने भावी दिनमा टुंगो लाग्ला । अहिले चाहिँ पार्टीले जनयुद्ध दिवसलाई नोटिसमा लिएको भन्नु उपयुक्त हुन्छ ।’

एकीकृत पार्टीको आधिकारिक दस्तावेजमा पनि जनयुद्धको विषयमा प्रष्ट धारणा बनिनसकेको उनले बताए ।

‘माधव नेपाल नेतृत्वको कार्यदलले बनाएको राजनीतिक दस्तावेज अध्यक्षद्वयलाई हस्तान्तरण भइसकेको छ । तर, एक वर्षसम्म पनि यसलाई अन्तिम रुप दिएर सार्वजनिक गर्न सकिएको छैन,’ रिजालले भने, ‘यो दस्तावेजले आधिकारिकता पाएपछि सबै विषयहरु प्रष्ट होलान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment