Comments Add Comment

जनयुद्ध भर्सेस रोजगार दिवस ! पेरिसडाँडाँमा ताल्चा

धुम्बाराहीमा पूर्वएमालेको खोजी

१ फागुन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले धुम्बाराहीस्थित नेकपा मुख्यालयमा जनयुद्ध दिवस मनाउनु ऐतिहासिक परिघटना भनिरहँदा पूर्वमाओवादी नेता कार्यकर्ता भने मञ्चमा मात्र होइन, हलमा पनि पूर्वएमाले नेताहरु कोको छन् भनेर खोजिरहेका थिए ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रमको ब्यानरमा नै जनयुद्धका अगाडि जनआन्दोलन थपिएको थियो । जबकि फागुन १ मा माओवादीले जनयुद्ध दिवस मनाए पनि नेपाली राजनीतिमा फागुन १ गते ‘जनआन्दोलन दिवस’ कसैले मनाएको अहिलेसम्म थाहा छैन ।

तर, बुधबार एमाले र माओवादी मिलेर बनेको नेकपाले ‘जनआन्दोलन र जनयुद्धका महान सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ आयोजना गर्‍यो । कार्यक्रममा पूर्वमाओवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । तर, पूर्वएमाले नेताहरु भने कमै देखिए ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली काठमाडौंमै भएर पनि जनयुद्ध दिवसमा सहभागी हुन भ्याएनन् । मञ्चमा प्रचण्डसँगै महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, अमृत बोहोरा लगायतका नेता सहभागी थिए । सहभागीहरुमा पनि पूर्वएमाले कमै देखिन्थे ।

त्यसैले पूर्वमाओवादी नेता कार्यकर्ता तत्कालीन एमालेबाट कोको आए भन्ने चासो दिइरहेका थिए । पूर्वएमाले खोज्नेहरु मध्ये एक दलजित श्रीपाइली भन्छन्, ‘जति गौरवका साथ पार्टीले जनयुद्धको अपनत्व लिन सक्नुपर्थ्यो, त्यो कमी महसुस भयो ।’

यद्यपि उनले पार्टी एकता गर्दा कतिपय विषयहरुमा गाह्रो भएको हुन सक्ने भन्दै यो (पूर्वएमाले नेताहरुको सहभागिता) क्रमिक रुपमा बढ्दै जाने आशा व्यक्त गरे । ‘आज जुन परिवर्तनमा हामी छौं, त्यसको बाहक जनता हुन्, महान जनयुद्ध नै हो’, उनले थपे, ‘यो उपलक्ष्यमा सबैले गौरव गर्नुपर्थ्यो, उत्सवको रुपमा सहभागी हुनुपर्थ्यो त्यो अलि कम देखियो ।’

कार्यक्रममा सहभागी तत्कालीन एमालेसम्बद्ध नेकपाका सांसद कृष्णभक्त पोखरेलले भने जनयुद्धले नै गणतन्त्रको मुद्दालाई जबरजस्त उठाएको बताए । ‘पूर्वएमाले भएर पनि जनयुद्ध र जनआन्दोलनको जगबाट गणतन्त्र आएको हो भन्न मलाई कुनै अप्ठ्यारो छैन’ पोखरेलले भने ।

पूर्वएमालेबाट आएका नेकपाका अर्का नेता नेता ठाकुर गैरेले जनयुद्ध दिवस पूर्वमाओवादीले मात्रै नभएर नेकपालेले मनाएको बताए ।

‘हिजो हामी विचारका हिसावले, सिद्धान्तका हिसावले नजिक थियौं भए पनि फरक-फरक कार्यनीतिका साथ हिँडेका थियौं’, गैरेले अनलाइनखबरसँग भने, ‘हिजो तत्कालीन एमालेले छुट्टै मनाउने दिवसहरु र तत्कालीन माओवादीले मनाउने छुट्टै दिवसहरु अब हाम्रा साझा भएका छन् ।’

पेरिसडाँडाँमा ताल्चा !

बुधबार जनयुद्ध दिवसको दिन भएता पनि पूर्वमाओवादीको मुख्यालय रहेको पेरिसडाँडा भने सुनशान देखियो । बुधबार दिउँसो पेरिसडाँडा पुग्दा मेन गेटमै ताला लगाइएको भेटियो । यद्यपि जनयु्द्धका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा स्थापित स्मारकमा भने माला र सिन्दुर लगाइएको देखिन्थ्यो ।

वाईसीएलको पहलमा बुधबार विहानै नेकपाका अध्यक्ष प्रचण्ड स्मारकमा माल्यापर्ण गर्न पेरिसडाँडा पुगेका रहेछन् । उनी करिव ३/४ मिनेट मात्रै कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

अघिल्लो वर्ष तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली पेरिसडाँडा आउने भनेर प्रचार गरिए पनि अन्तिममा सहभागी भएका थिएनन् । त्यसैले यो पटकको कार्यक्रम धुम्बाराहीमै राखियो । तैपनि प्रधानमन्त्री ओली सहभागी भएनन् ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई गलत अर्थ नलागोस् भन्ने आशय व्यक्त गर्दै अध्यक्ष प्रचण्डले धुम्बाराहीको सम्वोधनमा यो विषय कोट्याउन भुलेनन् । उनले धुम्बाराही आउनुअघि महासचिव र आफू बालुवाटार पुगेको र त्यहाँ प्रधानमन्त्री सरकारको वर्षदिने समीक्षामा व्यस्त भएकाले आफूसँगको सल्लाहमै कार्यक्रममा नआउनुभएको प्रचण्डले बताए ।

उता प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा आयोजित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट हरेक वर्ष फागनु १ गतेको दिनलाई ‘रोजगार दिवस’ रुपमा मनाइने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment