Comments Add Comment

जनवादी गायक जीवन शर्मा ३२ वर्षपछि रक्तिमको नेतृत्वबाट अलग

फुटको खतरापछि चौथो सम्मेलन स्थगित

१ फागुन, काठमाडौं । नेकपा मसालको भातृ संगठन रक्तिम सांस्कृतिक समूहबाट अध्यक्ष जीवन शर्माले राजीनामा दिएका छन् । चर्चित जनवादी गायक शर्माले दुई दिनअघि पेश गरेको राजीनामा बुधबार पोखरामा बसेको केन्द्रीय कमिटीको बैठकले स्वीकृत गरेको हो ।

शर्माले आफ्नो उमेर र अन्य व्यस्तताको कारण देखाउँदै दुई दिनअघि राजीनामा दिएका थिए । तर, केन्द्रीय समितिले उनको राजीनामा बहुमतले अस्वीकृत गरेको थियो । बुधबार फेरि बसेको बैठकमा आफूले राजीनामा स्वीकृत गर्न पुनः अनुरोध गरेपछि स्वीकृत भएको शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

वि.सं.०४३ सालमा स्थापना भएको रक्तिम समूहमा शर्मा संस्थापक अध्यक्ष थिए । त्यसयता उनी निरन्तर यो पदमा छन् । संगठनको तेस्रो राष्ट्रिय सम्मेलन अगाडि पनि उनले राजीनामा दिएका थिए, तर स्वीकृत भएको थिएन ।

प्रगतिशील गायक भनेर चिनिने शर्माका थुप्रै गीतहरु लोकप्रिय छन् । ‘झरनाको चिसो पानी…, सिमली छायाँमा बसी..’ लगायतका गीतहरुले उनलाई समाजमा चिनाएका हुन् । गायक शर्माको माग देश तथा विदेशका कार्यक्रमहरुमा निकै माग हुने गर्छ ।

‘देश बाहिरबाट धेरै माग आउन थालेपछि संगठन र पार्टीलाई समय व्यवस्थापन गर्न गाह्रो भइरहेको थियो, उमेरले पनि ६० पुग्न आँटे । त्यसैले सक्रिय नेतृत्वबाट बिदा लिएको हुँ । तर, संगठन र पार्टीप्रति मेरो निष्ठा यथावत रहनेछ’ शर्माले अनलाइनखबरसँग भने ।

हालै मात्र शर्मालाई नेकपा मसालले निलम्बन गरेको समाचार सार्वजनिक भएको थियो । तर, उनले यो विषयमा बोल्न चाहेनन् ।

शर्माले भने, ‘पार्टीको जिम्मेवारीका विषयमा मैले केही बोल्न मिल्दैन, आन्तरिक कुराहरु बाहिर नल्याउने पार्टीको नीति छ ।’

शर्मामाथि कारवाही गरिएको समाचारका विषयमा नेकपा मसालले विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा समाचारको खण्डन वा पुष्टि दुबै गरिएको थिएन । नेकपा मसालमा कसको जिम्मेवारी के छ भन्ने कुरा गोप्य रहने र कारवाहीको विषय पनि गोप्य रहने पार्टीको विज्ञप्तिमा उल्लेख थियो ।

‘सम्वन्धित व्यक्तिको मृत्यु भएको अवस्थामा मात्रै उसको जिम्मेवारी खुलाइन्छ,’ नेकपा मसालको विज्ञप्तिमा भनिएको थियो ।

चौथो सम्मेलन स्थगित

रक्तिम समूहमा फुटको खतरा बढेपछि पोखरामा बुधबारदेखि हुने भनिएको चौथो सम्मेलन अन्तिम समयमा आएर स्थगित गरिएको छ । समूहमा जीवन शर्मालाई चुनौती दिँदै महासचिव नारायण योगीले विद्रोह गर्न खोजेका थिए ।

दुई दिनअघि बसेको केन्द्रीय समितिको बैठकले सम्मेलन तोकिएकै समयमा आयोजना गर्ने निर्णय बहुमतले गरेको भएता पनि आज महासचिव योगीले एक विज्ञप्ति जारी गरी सम्मेलन स्थगित गरिएको जनाएका थिए । तर, लगत्तै शर्माले अर्को विज्ञप्ति जारी गरी सम्मेलन नरोकिने बताए ।

यसरी विवाद बढेपछि शर्मा समूहको बैठक बसी सम्मेलन अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय लिएको हो ।

‘समूहमा आउन सक्ने सम्भावित फुटलाई रोक्न हामी एक कदम पछाडि हट्ने निर्णय गर्‍यौं,’ शर्माले अनलाइनखबरसँग भने । पोखराको सभागृहमा आयोजना हुने भनिएको सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट केही प्रतिनिधिहरु पोखरा आइसकेका थिए ।

जीवन शर्मामाथि आरोप

यसैवीच रक्तिम समूहका महासचिव नारायण योगीले भने जीवन शर्माले समूहभित्रका नयाँ प्रतिभाहरुलाई माथि उठ्न प्रोत्साहित नगरेको आरोप लगाएका छन् ।

योगी भन्छन्, ‘रक्तिम समूह भन्ने वित्तिकै जीवन शर्माको मात्रै नाम आउँछ । जबकि समूहभित्र अरु पनि प्रतिभावान साथीहरु हुनुहुन्छ । उहाँले नयाँ पुस्तालाई माथि उठ्ने किसिमको वातावरण बनाउनुभएन ।’

त्यसैगरी विदेशमा पार्टीका शाखाहरुले कार्यक्रमका लागि बोलाउँदा पार्टीलाई जानकारी दिएर मात्र जानुपर्नेमा शर्माले त्यसो नगरेको योगीको अर्को आरोप छ ।

‘विदेश जानै हुँदैन भन्ने होइन, तर पार्टीका साथीहरुले बोलाएको ठाउँमा जाँदा महासचिव वा प्रवक्तालाई जानकारी दिनुपर्ने हुन्छ, उहाँबाट यसको पालना भएको देखिएन,’ योगीले भने ।

नेकपा मसालले शर्मालाई कारवाही गरेको विषयमा भने योगीले पनि केही बोल्न चाहेनन् । ‘यस्ता कुरा मिडियाहरुमा आएका छन्, तर पार्टीको प्रवक्ताले बाहेक हामीले यी कुरामा बोल्न मिल्दैन,’ उनले भने ।

योगीका आरोपहरुलाई शर्माले अस्वीकार गरेका छन् । निवर्तमान अध्यक्ष शर्माले अनलाइनखरसँग भने, ‘अरुलाई मौका दिनकै लागि आफूले पटक-पटक राजीनामा दिए पनि स्वीकृत नहुँदा नेतृत्वमा रहन वाध्य भएको अनलाइनखबरलाई बताए ।

जीवनले अगाडि भने, ‘यदि मैले अरुलाई अगाडि बढ्न नदिन खोजेको भए राजीनामा नै दिने थिइनँ होला नि, होइन ?’

‘वैचारिक मतभेद छैन’

यद्यपि पार्टीबाट कारवाहीमा परेका भनिएका जीवन शर्मासँग आफूहरुको वैचारिक मतभिन्नता भने नरहेको महासचिव योगीले स्वीकार गरेका छन् । १५ पूर्ण सदस्य र ४ बैकल्पिक सदस्य रहेको रक्तिम समूहको केन्द्रीय कमिटीमा बहुमत भने शर्मासँगै थियो । तर, उनले बहुमतका आधारमा आफ्नो प्रभूत्व कायम गर्न नखोजेर सम्मेलन स्थगित गराएको अर्का एक सदस्य बताउँछन् ।

०४३ सालमा स्थापना भएको रक्तिम समूहमा नेकपा मसालप्रति आस्था राख्ने विभिन्न विधाका कलाकारहरु आवद्ध छन् । यो समूहले १२ भागसम्म गीति एल्बम निकालेको छ । अहिले भने यो क्रम बन्द छ । अहिले गीतहरु बनाएर युट्युवमा राख्ने, तथा चेतनामूलक सडक नाटकहरु आयोजना गर्दै आएको छ रक्तिम समूहले ।

यस समूहको आर्थिक दायित्व भने नेकपा मसालकै काँधमा छ । रक्तिम समूहको कार्यालय भने अनामनगरमा छ ।

अर्धभूमिगत अवस्थामा चलिरहेको नेकपा मसालमा महासचिव मोहनविक्रम सिंह र प्रवक्ता रामप्रकाश पुरीबाहेक अरुको जिम्मेवारी बाहिर खुलाइएको छैन ।

शर्माको राजीनामासँगै अब महासचिव योगीलाई अध्यक्ष बन्ने बाटो खुलेको छ । यद्यपि, उनले अध्यक्ष पदप्रति आफ्नो कुनै आशक्ति नरहेको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment