Comments Add Comment

चाहेजसरी काम गर्न सकेनौं- मुख्यमन्त्री शेरधन राई

२ फागुन, बिराटनगर । प्रदेश नं. एकमा शेरधन राईले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको विहीबार एक वर्ष पुगेको छ । यसवीचमा आफूले चाहेजसरी काम गर्न नसकेको मुख्यमन्त्री राईको निश्कर्ष छ ।

मुख्यमन्त्री राईको विश्लेषण छ, ‘बितेको एक वर्ष तपाईहरुले सोचेजस्तो र हामीले चाहेजसरी काम गर्न सकेनौं ।’

प्रदेशको संरचना नयाँ भए पनि छोटै समयमा यसलाई पूरा गर्न सकिन्न भन्ने सोचिएकोमा केन्द्र सरकारका कारण यसमा विलम्व भएको मुख्यमन्त्री राईको तर्क छ ।

मुख्यमन्त्री राई आफ्नो एकवर्षे कार्यकालको समीक्षा गर्ने क्रममा भन्छन्- ‘हामीले प्रदेशको संरचनालाई छोटै समयमा पूरा गर्न सकिन्छ भन्ने सोचेका थियौं । तर, संघीय सरकारका तर्फबाट व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसमा विलम्व भयो ।’

आखिर शेरधन सरकारले एक वर्षमा के-के काम गयो त ? सुनौं मुख्यमनन्त्री राईकै शब्दमा-

गर्न खोजेका काम छरितो ढंगले अगाडि बढ्न सकेन    

गत फागुन २ गते आजकै दिन म मुख्यमन्त्री पदमा नियुक्त भएको ठीक एक वर्ष पुगेको छ । फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको भोलि एक वर्ष पुग्दैछ ।

हामीले प्रदेशको संरचनालाई छोटै समयमा पूरा गर्न सकिन्छ भन्ने सोचेका थियौं । तर, संघीय सरकारका तर्फबाट व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसमा विलम्व भयो

सिंहदरबारमा केन्दि्रत शासन व्यवस्था गाउँगाउँसम्म पुर्‍याउन संविधानले संघीय प्रणाली अवलम्वन गरेको छ । अहिले सिंहदरबारका अधिकार ७ वटा प्रदेश र स्थानीय तहसम्म पुगेको छ । संघीय प्रणालीको एउटा हिस्सा हो, प्रदेश सरकार । नेपालको इतिहासमा पहिलोपटक प्रदेश सरकारहरु बनेका छन् ।

हामी शून्य संरचनाबाट अगाडि बढिरहेका छौं । संघ बनिबनाउ संरचनासहित पुरानै विरासतमा छ । स्थानीय तह विगतमा स्थानीय निकायका रुपमा अस्तित्वमा थिए । जसको आधारमा स्थानीय तहहरु निर्माण भएका छन् । तर, प्रदेशको हकमा भने फरक छ । विगतमा नभएको संरचनाका रुपमा शून्य अवस्थाबाट हामी अगाडि बढ्दैछौ ।

हामीले आफ्नो पहिलो वर्षको कार्यकाललाई संघीयता कार्यान्वयन र त्यसका लागि आवश्यक कानून तर्जुमा गर्ने वर्षका रुपमा कार्यातालिका नै बनाएर काम गर्‍यौं । हाम्रो यो पहिलो वर्ष कानुन निर्माण र आवधिक योजना निर्माणको वर्षको रुपमा रह्यो ।

सुरुका केही महिना हामीलाई संरचना, कर्मचारी र कार्यालयहरु व्यवस्थापनमा बित्यो । चाहिएअनुसार कर्मचारी नआएपछि हामीले गर्न खोजेका काम छिटो छरितो ढंगले अगाडि बढ्न सकेनन् ।

यद्यपि प्रदेशप्रति जनतालाई जोड्नका लागि हामी लागिरहेका छौं । हामी विकास र सुशासनमा जनताले आशा र भरोसा गर्नेनिकायका रुपमा प्रदेशलाई स्थापित गर्दैछौं ।

केके भयो, के हुँदैछ ?

हामीले प्रदेशको संरचनालाई छोटै समयमा पूरा गर्न सकिन्छ भन्ने सोचेका थियौं । तर, संघीय सरकारका तर्फबाट व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसमा विलम्व भयो । छ महिनाजति राजनीतिक स्तरका संरचनामै भर पर्नुपर्ने थियो । अहिले आएर प्रशासनिक संरचना निर्माण हुने क्रममा छन् । धेरै प्रदेश कार्यालयहरु स्थापित भइसकेका छन् । यद्यपि जनशक्तिको अभाव खड्कँदो रुपमै छ ।

कार्यालय स्थापना भइसकेपछि एक हिसावले कामको प्रक्रिया संस्थागत ढंगले अगाडि बढ्ने आधार तयार भएको छ । अर्काे कुरा कानुनको आवश्यकता थियो । कानुन निर्माणको प्रक्रियामा हामीले दुईवटा अधिवेशनमा गरी २४ वटा ऐन पारित गर्‍यो । निर्देशिका र कार्यविधिहरु दर्जनौं तयार गर्‍यो । तेस्रो अधिवेशनमा पनि दर्जनांै विधेयकहरु प्रदेशसभामा पेश भइरहेका छन् । त्यतिकै मात्रामा कार्यविधि लगायतका कानुनहरु पनि निर्माण भइरहेका छन् । तेस्रो अधिवेशन सकिँदा प्रदेशलाई आवश्यक धेरै कानुनहरु बनाइसक्छौं ।

यतिबेला हाम्रो ध्यान आवधिक योजना निर्माणमा छ । हामीले सरोकारवालाहरुसँग छलफल गरेर आवधिक योजनाको आधारपत्र सार्वजनिक गरिसकेका छौं । अब चाँडै आवधिक योजनापूर्णरुपले तयार हुन्छ । यसो भयो भने प्रदेश व्यवस्थित कार्ययोजनाका साथ अघि बढ्छ ।

अब हामी के गर्ने भन्ने कुरा हामीले बनाउँदै गरेको आवधिक योजनाले प्रष्ट पार्छ । प्रदेशको स्थिति के छ र हामीले के गर्ने भन्ने विस्तृत रिपोर्ट तयार गर्दैछौं । आवधिक योजनासँग जोडेर विस्तृत योजना बनाएर अघि बढ्छौँ ।

हो, बितेको एक वर्ष तपाईहरुले सोचेजस्तो र हामीले चाहेजसरी काम गर्न सकेनौं । यसमा केही प्राविधिक कुराहरु छन् । यो अवधिभित्र संघीयताको आधारभूत संरचना तयार गर्न हामीलाई समय लाग्यो । हामीसँग पर्याप्त जनशक्ति, र आवश्यक पूर्वाधार बनिसकेको छैन । धेरै कुरा त हामी पहिलोचोटि गर्दैछौं ।

हाम्रो प्रदेशको विकासको कुरा गर्दा नेपालको विकासका साझेदारहरु, निजी क्षेत्रका लगानीकर्ताहरुको महत्वपूर्ण सरोकारको क्षेत्रका रुपमा प्रदेश १ लाई स्थापित गर्ने कुरामा सफलता हासिल गरेका छौं । लगानीकर्ताका हिसाबले पनि १ नम्बर प्रदेश अनुकूल हो भन्ने सन्देश दिने कुरामा सफल भएका छौं । निजी क्षेत्र यो प्रदेशमा आउन तत्पर रहेको हामीले पाएका छौं ।

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य जोड दिएका छौं । कृषि क्षेत्रको विकासले नै अन्य क्षेत्रको विकासमा जोड पुर्‍याउँछ भन्ने मान्यताका आधारमा पहिलो प्राथमिकता कृषि क्षेत्रमा दिएका छौं ।

त्यसमा हामीले नीतिगत रूपमा कृषि क्षेत्रमा संलग्न हुन चाहनेहरूका लागि सुनिश्चित आधार तयार गरेका छौँ । व्यावसायिक खेतीका लागि भण्डारण क्षमताको आवश्यकता पर्छ। यसै वर्ष तीनवटा शीत भण्डार बन्दैछन् । यान्त्रिकीकरणका सन्दर्भमा अनुदानको व्यवस्था गरेका छौँ । सहकारीलाई कृषिसँग जोड्न, किसानका उत्पादनलाई बजारसम्म जोड्न योजना बनेका छन् । यी सबै कुराहरू कार्यान्वयनको चरणमा छन् ।

हाम्रो प्रदेशमा मिल्क होलिडेको ठूलो समस्या थियो । यसको तत्कालको समस्यालाई कम गर्न बिराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट स्तरोन्नती र सुदृढीकरणका लागि कामकाज अघि बढेको छ । साथै दीर्घकालीनरुपमा मिल्क होलिडेको समस्या हुन नदिन सहकारी र डेरी व्यवसायीहरुको संलग्नतामा एउटा पाउडर प्लान्ट स्थापना गर्दैछौं । हाम्रो प्रदेशलाई आत्मनिर्भर अर्थतन्त्र भएको प्रदेश बनाउन हामीले हरित अभियान घोषणा गरेका छौं ।

हाम्रो प्रदेशको भविष्यको समृद्धिको आधार पर्यटनसँग जोडिएको छ । हामीले एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कानको नारा सहित पर्यटन पूर्वाधारलाई जोड दिएका छौँ । हामीले गौरब गर्नुपछर्, संसारका अधिकांश अग्ला हिमाल हाम्रै प्रदेशमा पर्दछन् । यतिहुँदाहुँदै पनि हाम्रो प्रदेशबाट यी हिमालहरुको हवाइ दृश्य गर्ने व्यवस्था थिएन । हामीले निजी क्षेत्रको समन्वयमा माउन्टेन फ्लाइट सञ्चालनमा ल्याएका छौं । यो शुरुवात मात्र हो, पर्याप्त होइन, यसलाई हामी चाँडै व्यवस्थित र नियमित बनाउँदैछौ । जसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकषिर्त गर्न सकियोस् ।

सरकार आफ्ना नागरिकका समस्यामा मूकदर्शक बनेर होइन, जनताका सहयोगी र सारथी बनेर घरदैलोसम्म पुग्न खोजेको छ

विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउनको निम्ति प्रदेश मन्त्रिपरिषदबाट निर्णय गराई संघीय सरकारमा सिफारिस गरिएको छ । प्रदेशभित्र रहेका सबै विमानस्थलहरुमा बिराटनगर विमानस्थलबाट उडान सेवा शुरु गर्न पहल थालिएको छ । अहिले विराटनगर र भद्रपुर विमानस्थलमा रात्रिकालीन हवाई उडानसमेत सञ्चालन हुन थालेको छ ।

निजी क्षेत्रको समन्वय र सहकार्यमा सप्तकोशी नदीमा जल यातायात सञ्चालन हुन थालेको छ । यसलाई हामीले तुम्लिङटार र दोलालघाटसम्म विस्तार गर्नका लागि अध्ययन थालेका छौं । चियाको राजधानी इलामको सूर्याेदय नगरपालिका, सबैभन्दा बढी पर्यटक भित्रिने सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका र धनकुटाको आकर्षक पर्यटकीय गन्तव्यस्थल भेडेटार नाम्जे क्षेत्र रहेको साँगुरी गाउँपालिकालाई पर्यटकीय नगर र गाउँपालिका घोषणा गरिएको छ ।

जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्न तथा प्रहरीको मनोबल उच्च बनाउन जनतासँग प्रहरी कार्यक्रमअन्र्तगत फोन, इमेल, फ्याक्स, स्थान लगायतका आवश्यक सूचनासहितको स्टिकर बनाई प्रत्येक घर घरमा स्टिकर टाँस्ने काम हामीले गरेका छौं । करिब १० लाख घर धुरीमा यस्तो सूचनामुलक स्टिकर टाँसिएको छ । जसबाट प्रदेशबासीले सुरक्षाको अनुभूति गरेको खबरहरु छापा, टेलिभिजन, रेडियो, अनलाइनमिडियाहरुबाट पढ्न, हेर्न र सुन्न पाउँदा मलाई खुसी लागेको छ ।

सुरक्षित सीमा, सुरक्षित जीवन, खुल्ला सीमा र सुरक्षा चुनौतीलाई महसुस गर्दै बोर्डर आउट पोष्ट (बीओपी) हरुको योजनाबद्ध विकास गर्ने उद्देश्यका साथ १३ वटा बीओपी निर्माण कार्य अघि बढाइएको छ ।

उत्तरी सीमा क्षेत्र चीनसँगको व्यापारिक नाकाका रुपमा विकास गर्ने लक्ष्य राखिएको किमाथांका र ओलाङचुङगोलामा समेत बीओपी स्थापनाको प्रक्रिया अघि बढाइएको छ ।

मुख्यमन्त्री अत्यावश्यक सेवाकेन्द्र स्थापना गरी एकीकृत शान्ति सुरक्षा, विपद व्यवस्थापन र स्वास्थ सेवा उपलब्ध गराउने उद्देश्यले यस वर्ष तराई, भित्री मधेस र पहाडका एक-एक गाउँपालिकामा एक प्रहरी भ्यान, एक एम्बुलेन्स र एक दमकलसहितको व्यवस्थापन गर्दैछौं ।

प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्षस्थापनाका लागि काम भएको छ ।  कारागार सुधारका कामहरु भएका छन् । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ४९ नयाँ प्रहरी चौकी निर्माणको काम अगाडि बढेको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुदजस्ता विषयमा हामीले ध्यान दिएका छौँ । विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन म स्वयम् यो प्रदेशका अल्पसंख्यक तीनजना बालबालिकाको अभिभावकत्व लिँदै यस अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरिएको छ । यो वर्ष खेलकुदका लागि १३७ वटै पालिकामा एकैसाथ खेलमैदानहरू निर्माण हुँदैछन् ।

यो वर्ष हामीले स्वास्थ्य प्रवर्द्धन बर्षको रुपमा ०७५ घोषणा गरी स्वास्थ्य सरसफाई र स्वास्थ्य जीवन कार्यक्रमका लागि प्रभावकारी सञ्चार सचेतना जगाउने काम गरेका छौं । यसका लागि सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सद्भावना दूतका रुपमा नियुक्त गरेका छौं । शिक्षा र स्वास्थ्यमा हाम्रो विशेष जोड रहेको छ ।

प्रदेशस्तरमा विद्यालय तहको सिकाइलाई प्रविधियुक्त बनाउन र साधनस्रोत व्यवस्थापन गर्न इक्वालिटी फाउण्डेशन नेपालसँगको साझेदारीमा कम्प्युटर प्रविधियुक्त सिकाइका माध्यमबाट किताब र झोलारहित शिक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ । ९५९ वटा सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याबहरु स्थापना हुँदैछन् ।

प्रदेश विश्वविद्यालय स्थापनाका लागि तयारी भइरहेको छ । मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता र मुख्यमन्त्री अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्न एन्फासँग सम्झौता भएको छ । हाम्रो प्रदेशमा रहेका १४ वटै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने कार्य थालिएको छ । कोशी अञ्चल अस्पताललाई विशेषज्ञ चिकित्सकसहित शिक्षण अस्पलाल बनाउन पहल थालिएको छ ।

भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछोड्ने मेरो सरकारको निति छ । हामी पहिलोपटक नयाँ संरचनामा छौं । योबेला हामीले नै हो थिति बसाउने । त्यसैले प्रदेश सरकार आर्थिक मितव्ययी छ । हामी वित्तीय अनुशासनमा रहेर काम गरिरहेका छौं, जसका लागि वित्तीय अनुशासन कायम गर्न सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययितासम्बन्धी हामीले निर्देशिका नै जारी गरेका छौं ।

हामीले पाँचथरको कुम्मायक, तुम्बेवा, तेह्थुमको छथर र धनकुटाको चौबीसे गाउँपालिकाका खडेरी प्रभावित कृषकहरुलाई राहत प्याकेज उपलब्ध गराएका छौं । यसका लागि विज्ञटोलीले अनुगमन गरी मन्त्रिपरिषदको बैठकले सुख्खाग्रस्त क्षेत्रमा खडेरीका कारण उत्पन्न समस्याबारे राहत प्याकेज तय गरी वितरण गरेका छौं । यसरी सरकार आफ्ना नागरिकका समस्यामा मूकदर्शक बनेर होइन, जनताका सहयोगी र सारथी बनेर घरदैलोसम्म पुग्न खोजेको छ ।

दिगो विकास र समृद्धिको आधार पर्याप्त पूर्वाधारलाई मूल मन्त्र मानी भौतिक पूर्वाधारको विकासमा हाम्रो ध्यान केन्दि्रत छ । प्रदेशको बृहत्तर विकास गर्नका लागि प्रदेश गुरुयोजना तयार हुँदैछ । गुरुयोजना अनुसारका पूर्वाधारहरु निर्माण हुनेछन् । प्रदेशभरिको सडकको पूर्ण तथ्यांक तयार गर्दैछौं । संघ, प्रदेश र स्थानीय  तहमा रहने सडकहरुको वर्गीकरण गर्दै सबै स्थानीय तह छुने सडकको स्तरोन्नतिमा हामी लागि परेका छौंं ।

एउटा निर्वाचन क्षेत्रमा कम्तिमा एउटा प्रदेशस्तरीय सडक र एउटा पक्की पुल निर्माण गर्न थालिएको छ । हाम्रा सडकहरुमा सडक सुरक्षा र सुशासन कायम गर्न नयाँ कामको थालनी गरिएको छ । नेपालमै पहिलोपटक शुरु हुन लागेको यो कार्यक्रम हाम्रो प्रदेशका छ वटा जिल्लाहरुमा १०/१० किलोमिटर गरी ६० किलोमिटर सडकहरुमा प्रारम्भिक काम थालिएको छ ।

नेपालमै पहिलोपटक सुनसरी जिल्लाको कोशी गाउँपालिकाको भण्टाबारीमा अत्याधुनिक सुविधासम्पन्न रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालय स्थापना गरेर कामको योजना अगाडि बढेको छ ।

सडक, पुल, सिचाँई, भवन, खानेपानीलगायतका योजनाहरुको विस्तृत सर्वेक्षण गरी डीपीआर तयार पार्ने काम गरिएको छ । यसरी डीपीआर तयार भइसकेपछि योजनाका कामहरु अब फटाफट अगाडि बढाउन सजिलो हुनेछ ।

प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा सडक तथा पक्की पुलका योजनाहरु एक/एक वटा राख्ने गरी बहुवर्षीय योजना छनौट गरी काम अगाडि बढेको छ । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा लागू हुँदैछ । यसले समानुपातिक विकासमा जोड दिन्छ भन्ने मलाई लाग्छ । यसरी समानुपातिक विकासलाई प्राथमिकता दिँदा फायल बोकेर माग्ने र धाउने युगको अन्त्य गर्न सकिन्छ भन्ने मेरो मान्यता रहँदै आएको छ ।

संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हो । प्रदेशहरु जति बलिया हुन्छन्, संघीयता त्यति नै प्रभावकारी भएको मानिन्छ । त्यस अर्थमा हाम्रो प्रयास प्रादेशिक संरचनाहरुलाई व्यवस्थित गर्नेमा केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment