Comments Add Comment

मुख्यमन्त्री गुरुङको स्वीकारोक्ति : अपेक्षाअनुसार काम गर्न सकिएन

गोरखामा लखन थापाको शालिक

२ फागुन, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक बर्षको अवधिमा प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

बिहीबार गोरखा आएका उनले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा अपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् । ‘यो बर्ष प्रदेशमा विकासको पूर्वाधारको सम्भाव्यता अध्ययन र डीपीआर तयार गर्ने अनि दोस्रो बर्ष निर्माणको कामलाई तिव्रता दिने भन्ने योजना थियो,’ उनले भने, ‘तर परिस्थितिले साथ दिएन ।’

ऐन, कानून र नीति नियम निर्माणमा ढिलाइ र कर्मचारी अभावले विकास आयोजना कार्यान्वयनमा बाधा पुगेको मुख्यमन्त्री गुरुङले बताए । उनले प्रदेश सरकारले २५ वटा कानून र एक सय भन्दा बढी कार्यविधि बनाएको जानकारी दिँदै अब बजेट कार्यान्वयनले तिब्रता पाउने बताए ।

विकास निर्माणका योजनाहरुको धमाधम सम्झौता भइरहेको मुख्यमन्त्री गुरुङले बताए । ‘यो बर्ष बजेट कार्यान्वयनको प्रारम्भ नै हुदैन कि भन्ने थियो तर कार्यान्वयन शुरु भएको छ,’ उनले भने । जेठ मसान्तसम्म करिव ८० प्रतिशत बजेट कार्यान्वयन हुन सक्ने उनले अनुमान गरे ।

विकास निर्माणमा हुने लापरवाही र ढिलासुस्तीको निरीक्षण र अनुगमन गर्न ‘एक्सन रुम’ बनाएको भन्दै मुख्यमन्त्री गुरुङले भने ‘त्यो रुमबाट विकास निर्माण सँग सम्बन्धित अड्डासँग सिधै सम्पर्क गर्छाै, योजनाहरुको बारेमा सोधपुछ गर्छाै र निगरानी पनि गर्छाै ।’

जिल्ला कार्यालय हटाएर जनताले दुख पाए

मुख्यमन्त्री गुरुङले संघीय सरकारले जिल्लाका कार्यालयहरु हटाउँदा जनताले दुख पाएको बताएका छन् । ‘गाउँगाउँमा सिंहदरवार भन्ने तर जिल्लाको सबै कार्यालय हटाउने ! जनताको सेवासँग सम्बन्धित सबै कार्यालय जिल्लामै रहनुपर्छ,’ उनले भने ।

नेपालका प्रथम शहीद लखन थापा मगरको शालिक अनावरण गर्न गोरखा आएका मन्त्रीले बिहीवार कार्यालय प्रमुखहरुसँग भेटघाट गरेका थिए । त्यस क्रममा उनले गोरखामा पुननिर्माणको कामलाइ तिव्रता दिन आग्रह गरे । जिल्ला समन्वय समितिले प्रशासन, स्थानीय तह र अन्य निकायबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले जिल्लाका विकास निर्माणका कामको प्रभावकारी अनुगमन र निरीक्षण गर्न समेत सुझाव दिए ।

लखन थापाको शालिक अनावरण

मुख्यमन्त्री गुरुङले गोरखा नगरपालिकाको अस्पतालमार्गमा निर्माण गरिएको नेपालका प्रथम शहीद लखन थापा मगरको शालिक अनावरण गरेका छन् । प्रथम शहीद थापाको १४२ औ स्मृति दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो ।

प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान गोरखाको पहलमा ११ लाख लागतमा थापाको अर्धकदको शालिक निर्माण भएको हो ।

शालिक निर्माणका लागि गोरखा नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको प्रतिष्ठानका उपाध्यक्ष उमेश रानाले बताए । सदरमुकामबाट थापाको जन्मस्थल बुंकोट जाने प्रवेशद्वार भएकाले अस्पतामार्गमा उनको शालिक निर्माण गरिएको उनले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष रुलबहादुर आलेले थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरे । राज्यले शहीद थापाको उचित सम्मान गर्न नसकेको उनले गुनासो गरे । राणा शासनविरुद्घ विद्रोह गर्ने थापालाई वुंकोटको काहुले भङ्गारमा तत्कालीन राणाहरुले फाँसी दिएका थिए ।

प्रथम थापालाई सरकारले २०७२ असोज ३ गते नेपालकै पहिलो शहीद घोषणा गरेको थियो । यसअघि २०५६ सालको मन्त्रिपरिषद वैठकले थापालाई शहीद मात्र घोषणा गरेको थियो । थापासँगै मारिएका उनका साथी जयसिं चुमीलाई पनि शहीद घोषणा गर्न प्रतिष्ठानले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment