Comments Add Comment

२१ औं तिलोत्तमा गोल्डकप आजबाट, उदघाटन खेलमा एपीएफ र झापा भिड्दै

४ फागुन, बुटवल । मोफसलकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१ औं संस्करण आजबाट शुरु हुँदैछ । बुटवल-११ देवीनगरस्थित एन्फा एकेडेमीको रंगशालामा दिउँसो शुरु हुने उदघाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र झापा ११ खेल्नेछन् ।

जिल्ला फुटबल संघ रुपन्देही आयोजक रहेको प्रतियोगितामा दुई विदेशी टिमहरु क्यामरुनको दाफिन्स एफसी र भारतको ब्रदर्स युनाइटेड पनि खेल्न आउँदैछन् । घरेलु टिमहरुमा नेपाल पुलिस, एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही ११, सुनसरी ११, संकटा र च्यासल युथसहित १० टिमले भाग लिएका छन् ।

फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार, उपविजेताले ५ लाख ५० हजार, प्रतियोगिता अवधिकै उत्कृष्ट खेलाडीले स्कुटर तथा विभिन्न ६ विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले २५ हजारका दरले नगद पुरस्कार पाउने आयोजक संघका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।

प्रतियोगिता अवलोकन गर्न मैदानको तीनतर्फ एउटा स्थायी र तीनवटा अस्थायी प्याराफिट बनाइएको छ । जसमा करिब दुई हजार दर्शक अट्ने छन् । रंगशालाको पुरानो प्याराफिटमा करिब तीन हजार दर्शक अटाउँछन् ।

एक करोड बढी खर्च अनुमान गरिएको प्रतियोगिताको पहिलो चरणका खेल हेर्न एक सय र दुई सय तथा सेमिफाइनल र फाइनल खेल हेर्न दुई सय र चार सय रुपैयाँको टिकट दर कायम गरिएको छ । टिकट बिक्रीबाट २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ । प्रतियोगितालाई यशोदा फुड्स प्रालिले मुख्य प्रायोजन गर्दै २५ लाख रुपैयाँ र संरक्षक बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गर्ने भएका छन् ।

तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि शुरु भएको तिलोत्तमा गोल्डकपको गत वर्षको उपाधि थ्रीस्टार क्लबले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment