Comments Add Comment

३ दिनभित्र बैंकको ब्याज घट्नेमा मोरङका व्यवसायी ढुक्क

अर्थमन्त्रीसँग सोमबार छलफल हुँदै

५ फागुन, विराटनगर । मोरङका दुई व्यवसायिक संगठनले उठाएको बैंकको ब्याजरसम्बन्धी मुद्दा बालुवाटारसम्म पुगेपछि अब ब्याज घट्नेमा मोरङका उद्योगी व्यवसायी ढुक्क देखिएका छन् । उनीहरु राष्ट्र बैंकका गर्भनरसँग भने सिण्डिकेटको पक्षमा लागेको भन्दै चिढिएका छन् ।

प्रधानमन्त्रीले तीन दिनभित्र समस्या समाधान गर्न अर्थमन्त्रीलाई निर्देशन पनि दिएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए । ‘उद्योग संगठन र मोरङ व्यापार संघले उठाएका मुद्दामा प्रधानमन्त्रीसँग छलफल भयो’ सारडा भन्छन् ‘प्रधानमन्त्रीले ब्याजदर घटाउन अर्थमन्त्रीलाई निर्देशन दिनुभएको छ ।’

‘जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर बैंकको सिण्डिकेटविरुद्ध सबै जिल्लालाई आह्वान पनि गरेका थियौं,’ सारडाले भने ‘अन्य जिल्लाले पनि विरोध गरेपछि महासंघले साझा मुद्दाका रुपमा यसलाई अघि सारेको हो ।’

ब्याज दरका कारण निजी क्षेत्र सशंकित बनेपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरका व्यवसायीलाई बालुवाटार बोलाएका थिए । सो छलफलमा अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योगमन्त्री मातृकाप्रसाद यादवलाई समेत उपस्थित गराएर प्रधानमन्त्री ओलीले ब्याजदर घट्नेमा ढुक्क हुन आग्रह गरेको व्यवसायीहरु बताउँछन् ।

शनिबार छलफलको व्यवस्थापन मोरङका व्यवसायीहरुले नै मिलाएर महासंघ अध्यक्ष भवानी राणालाई खबर गरेका थिए ।

छलफलमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा र उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले ब्याजदर बढेका कारण आत्मनिर्भर बन्ने अभियानमा असर परेको बताएका थिए ।

व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले उद्योग व्यवसाय क्षेत्रलाई दिने कर्जाको व्याजदर घटाउन अविलम्व पहल थाल्न अर्थमन्त्री डा.युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिएको व्यवसायीहरुले बताए ।

प्रधानमन्त्री ओलीले उद्योगी÷व्यवसायीलाई आन्दोलनमा नजान अनुरोध गर्दै निर्भिक भएर स्वच्छतापूर्वक व्यवसाय सञ्चालन गर्न अनुरोध पनि गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

बैंकको चर्काे ब्याजदरका कारण पलायन हुनुपर्ने अवस्था आएको बताउँदै आन्दोलनमा उत्रिएका मोरङका दुई व्यापारिक संगठनको मुद्दालाई समर्थन जनाउँदै बुटवल, वीरगञ्ज भैरहवा लगायत अन्य क्षेत्रका उद्योगीले पनि आन्दोलनको घोषणा गरेका छन् । उद्योगीको आन्दोलनलाई उद्योग बाणिज्य महासंघले पनि समर्थन जनाएको छ ।

उद्योगी व्यवसायीले रोजगारमुखी उद्योग सञ्चालनका लागि ७ प्रतिशत र व्यवसाय सञ्चालनका लागि ९ प्रतिशत भन्दा बढी ब्याज लिन नपाइने बताउँदै आएका छन् । विभिन्न बैंकहरुले सुरुमा थोरै प्रतिशत ब्याजमा सम्झौता गर्ने अनि महिनैपिच्छे चिठ्ठी पठाएर एकलौटी ढंगबाट ब्याजदर बढाउँदै ऋणीमाथि अत्याचार गरिरहेको गुनासो व्यवसायीहरुको छ । बैंकले लिने मनपरि ब्याजदरमा सरकारले नियन्त्रण गर्नुपर्ने व्यवसायीको माग छ ।

अर्थमन्त्रीको बेग्लै निम्तो

प्रधानमन्त्री ओलीले ब्याजदर घटाउन निर्देशन दिएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले उद्योगीलाई थप छलफलका लागि अर्थमन्त्रालयमा बोलाएका छन् । उनले सोमबारका लागि छलफलमा बोलाएका हुन् ।

‘अर्थमन्त्रीज्यूले केही विषयमा कम्फ्यूजन भएकाले भोलि (सोमबार) बोलाउनुभएको छ,’ सारडाले भने ‘अर्थमन्त्रीले ७० प्रतिशत माग तत्काल सम्बोधन सकिने बताउनुभएको छ ।’

डेपुटी गभर्नर सिण्डिकेटको पक्षमा लागेको आरोप

अर्थमन्त्री खतिवडाले यसअघि उद्योगी/व्यवसायी र नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालसँग छलफल गरेर ब्याजदर घटाउने बताएका थिए ।

तर, माघ २९ गते राष्ट्र बैंक डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी पनि विराटनगर आएका बेला उद्योगीहरुसँग छलफल गरेका थिए ।

छलफलका क्रममा गभर्नर शिवाकोटी बैंकहरुको सिण्डिकेटकै पक्षमा उभिएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment