Comments Add Comment

अस्तव्यस्त पोखराः पार्किङस्थलमै सुपरमार्केट, सडकमै ठेक्का !

६ फागुन, पोखरा । पोखरा चिप्लेढुंगामा सेलवज टावर छ । यो टावरमा पार्किङका लागि बनाइएको अन्डरग्राउन्डमा सुपरमार्केट छ । सडकमै सवारी साधन पार्किङ गरेर पार्किङ प्रयोजनका लागि बनाइएको अन्डरग्राउन्डको सुपरमार्केटमा छिर्नुपर्छ ।

अर्को व्यस्त चोक महेन्द्रपुलमा रहेको सीता भवनको अवस्था पनि उस्तै छ । पार्किङका लागि बनाइएको अन्डरग्राउन्डमा धमाधम ब्यापार चलिरहेको छ । पार्किङचाहिँ सडकमै गर्नुपर्छ ।

यी त केही उदाहरणमात्रै हुन् । पार्किङका लागि बनाइएको अन्डरग्राउन्डमा अवैधानिक रुपमा व्यापार चलिरहेको छ । यसको नियमन गर्ने निकाय पोखरा महानगरपालिका भने पार्किङका लागि सडक नै ठेक्कामा दिन्छ ।

लाखौंको संख्यामा रहेको सवारी साधनका व्यवस्थित पार्किङस्थल नहुँदा बेलाबेला जामको समस्या आइरहन्छ । मुख्य सडकमा जाम हुने हुँदा सवारी चालक बाठो बन्छन् र सजिलो सहायक बाटो रोज्छन् ।

तर, सवारीको चापले गर्दा ती सहायक बाटोसमेत अस्तव्यस्त हुने र सडकमै पार्किङ हुने गरेको छ । पछिल्लो समय पोखराका मुख्य सडकमा मात्रै नभई शाखा गल्ली तथा बाटोमा पनि जामको समस्या देखिन थालेको सवारीचालकको गुनासो छ । साँघुरो सडक, त्यसमाथि दायाँबायाँ दुवैतिर पार्किङ गर्नाले अन्य सवारी चालकलाई समस्यामा पार्ने गरेको छ ।

भीड र जामको समस्या पोखरा महानगरपालिकाका भित्री शाखा बाटामा पार्किङ सुविधा नभएका कारण बढेको बताउँछन्, सवारी चालकहरु । महानगरले सहरी क्षेत्रमा बढिरहेको सवारी साधनको चाप र त्यसले निम्त्याइरहेको जाम रोक्न उचित योजना ल्याउन सकेको छैन । पार्किङ स्थल नहुँदा महानगर कार्यालय अगाडि नै अव्यवस्थित रुपमा गाडी पार्किङ हुने गरेका छन् ।

जिल्ला यातायात कार्यालयको प्रतिवेदन अनुसार पोखरामा दैनिक १ लाख ४० हजारभन्दा बढी सवारीसाधन गुड्छन् । जसमा अधिकतम् सवारी साधन बाटो छोटयाउँदै शाखाबाटा रोज्ने गर्छन् । बजारका मुख्य बाटा बाहेक अन्य शाखा तथा गल्लीबाटोमा पार्किङ गर्दा सवारीधनीले पार्किङ गरेवापतको शुल्क पनि तिर्नुपर्दैन । तर, महानगरले लामो समयदेखि पार्किङ सम्बन्धी उचित नीति ल्याउन नसक्दा मुख्य सडकमा हुनेे पार्किङवापतको शुल्कसमेत गुमाउँदै आएको छ ।

पार्किङ शुल्क उठाउनै ३ पटक टेन्डर !

पोखरा महानगरले पार्किङको शुल्क उठाउन एक हप्ताअघि  १५ दिने सूचना निकालेको थियो । अहिलेको टेन्डर महानगरले निकालेको तेस्रो पटक हो । तेस्रो पटकको टेन्डरमा महानगरले टेन्डर मूल्य न्यूनतम् ५ करोड ३९ लाख रुपैयाँ तोकेको छ । तर, हालसम्म पनि कुनै आवेदन नपरेको महानगर लेखा अधिकृत छविलाल शर्मा बताउँछन् ।

महानगरले यस अघि ७ करोड रुपैयाँमा २ पटक टेन्डर आहृवान गरेको थियो । शर्मा टेन्डर दाबी गर्ने संस्थाले ‘बोल रकम’ बढी भएका कारण कसैले पनि आवेदन नदिएको बताउँछन् । ‘उहाँहरु मूल्य रकम बढी भयो भनेर निवेदनै दिन आउनुभएन,’ उनले भने ‘त्यसैले यसपटक ३० प्रतिशत मूल्य घटाएर फेरि टेन्डर आहृवान गरेका हौं ।’ उनले पछिल्लो तेस्रोपटकमा मूल्य घटाएका कारण टेन्डर पर्ने विश्वास व्यक्त गरे ।

सम्झौता भएको कम्पनीबाटै पैसा असुल्न बाँकी

पोखरा महानगरले पोखराका मुख्य क्षेत्रमा पार्किङ व्यवस्थित गर्न र शुल्क उठाउन ७३ सालमा अशेष निर्माण सेवालाई जिम्मा दिएको थियो । त्यसबेला महानगरले २ वर्षको सम्झौतासहित २ करोड ८८ लाखमा उक्त कम्पनीलाई टेन्डर दिएको थियो । जसको अवधि सकिएकोमात्रै करिब ६ महिना हुन लागिसकेको छ ।

महानगरले उक्त कम्पनीबाट अहिलेसम्म १ करोड २५ लाख उठाउन बाँकी रहेको पाइएको छ । महानगर राजस्व शाखाका अनुसार उक्त कम्पनीबाट पैसा असुल्न ‘कदम’ चालिसकिएको छ । ‘हामीले पैसा असुल्न कारबाही प्रक्रिया सुरु गरिसकेका छौं,’ लेखा अधिकृत छविलाल शर्माले भने, ‘अबको केही हप्तामै सबै पैसा असुली हुन्छ ।’

लेखा अधिकृत शर्माले पैसा असुल्न राष्ट्र बैंकमा रहेको अशेष कम्पनीको खाता रोक्का गरिसकेको बताए । उनले भने, ‘उक्त बैंकबाट महानगरले १ करोड ग्योरन्टी दाबी गरिसकेका छौं । उक्त रकम महानगरले चाँडै प्राप्त गर्ने प्रक्रियामा छ ।’ उनले बाँकी २५ लाख असुल्न कम्पनीको नाममा रहेको तनहुँ छाप्देको जग्गा रोक्का गरिसकेको सुनाए ।

महानगर भन्छ- व्यवस्थित गर्ने काम अघि बढिसकेको छ

पोखरा महानगरले पोखरामा व्यवस्थित पार्किङ गर्ने काम भइरहेको महानगरले जनाएको छ । पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले आइल्यान्ड भत्काएर सडक चौडा बनाउनेदेखि फुटफाथ बनाउनेसम्मको काम भइसकेको बताए ।

‘पोखराका विभिन्न चोकका आइल्यान्ड भत्काएर सडक चौडा बनाइसकेका छौं,’ सुवेदीले भने, ‘सडकको मापदण्ड मिचेर बनेका संरचना पनि हामीले भत्काउँदै लगिरहेका छौं ।’ उनले पोखरा २६ का सडकको मापदण्ड मिचेर बनेका सबै संरचना भत्काइसकेको र हाल पोखरा २९ मा काम भइरहेको जानकारी दिए ।

पोखरा पृथ्वीचोकदेखि महेन्द्रपुलसम्मको पार्किङ व्यवस्थित गर्न महानगरले प्रदर्शनी केन्द्रअघि पार्किङस्थल बनाएको छ । पुस १९ गते बसेको महानगर ट्राफिक व्यवस्थापन समितिले उक्त जग्गा खाली गरेर पार्किङस्थल बनाउने निर्णय गरेको थियो । समितिका संयोजक सुरेन्द्र पौडेलले उक्त ठाउँमा निशुल्क पार्किङ सुरु भइसकेको जनाए । उनले सार्वजनिक, निजी साझेदारी शैलीमा पार्किङस्थल बनाउन सूचना आहृवान गरिएको जनाए ।

‘प्रदर्शनी केन्द्र नजिककै निशुल्क पार्किङ सुरु भइसकेको छ । लेकसाइड क्षेत्रको पार्किङ समस्या हटाउन क्याम्पिङ चौरलाई प्रयोग गर्न लागेका छौं,’ पौडेलले भने, ‘अन्य स्थानमा पार्किङस्थल बनाउन सार्वजनिक जग्गाको खोजी गरिरहेका छौं ।’ पोखरा नयाँबजार क्षेत्रमा माघ ८ गतेदेखि नै सडकमा पार्किङ गर्न नपाइने गरी बोर्ड ठड्याएको छ । तर, त्यही बोर्डमुन्तिर अव्यवस्थितरुपमा गाडी पार्किङ गरिराखेका दिनहुँका दृश्य हुन् ।

‘महानगरले बोर्ड त ठडयायो, तर अनुगमन भएन । नियम आएर पनि नआएको जस्तै भयो,’ नयाँ बजारका एक व्यापारीले भने, ‘प्रदर्शनीमार्गमा गाडी रोकेर महेन्द्रपुल, चिप्लेढुंगासम्म हिँडेर जाने भन्ने पनि वैज्ञानिक नै भएन ।’ उनले नयाँ बजार क्षेत्रमा सार्वजनिक गाडी कम गुड्ने भएकाले घण्टौं पर्खिनुपर्नेसमेत गुनासो पोखे ।

महानगरले सडक तथा पार्किङ व्यवस्थापन गर्न कुनै पनि चोकमा गाडी २ मिनेटभन्दा बढी रोक्न नपाइने नीति ल्याएको जनाएको छ । ‘तोकिएको क्षेत्रमा मात्रै गाडी रोक्न पाइन्छ । प्रत्येक चोकमा २/३ जना ट्राफिक प्रहरी खटाएका छौं,’ पौडेलले भने । तर कास्कीमा सडक व्यवस्थापन गर्न जम्मा २८ जना ट्राफिक प्रहरीको दरबन्दी छ ।

सडक व्यवस्थित गर्न महानगर ट्राफिक व्यवस्थापन समितिले मुख्य सडकका ग्यारेज शाखा बाटामा सार्नेसमेत निर्णय गरेको छ । २ महिनाअघि ‘ग्यारेज हटाउनू’ भनेर सूचना निकाले पनि कतिपय स्थानमा अझै हटेको पाइँदैन । समितिले गरेको निर्णय अनुसार ग्यारेज हटाउन अटेरी गरे  १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

समितिका संयोजक सुरेन्द्र पौडेल भन्छन्, ‘पहिल्यै निकालेको सूचनाले धेरैले हटाइसके । अब फेरि दोस्रोपटक सूचना निकाल्छौं र त्यसपछि कारवाहीमा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment