Comments Add Comment

निरुता, दिलिप र उत्तमको हिट जोडी फेरि पर्दामा

नायकद्धय दिलिप रायमाझी, उत्तम प्रधान र नायिका निरुता सिंहले एकसाथ काम गरेको चलचित्र ‘दर्पण छाया’ले आज भन्दा करिब १८ बर्ष अगाडि नेपाली बक्स अफिसमा धमाका नै मच्चायो । यो गीतले ३ कलाकारलाई नयाँ परिचय पनि दिएको थियो ।

यही चलचित्रको नामको पछाडि २ राखेर निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छाया २’ पनि बनाए । तर, यो चलचित्र बक्स अफिसमा खराब रह्यो । तुलसीले नाम मात्र सापटी लिएपनि पुरानो भाव चलचित्रमा उतार्न सकेनन् । अब, नायक उत्तम प्रधान नयाँ चलचित्र निर्माणमा जुटेका छन् । चलचित्र ‘दर्पण छाया’ जहाँ सकिएको थियो, सोही स्थानबाट सुरु गरेर उनले कथा लेखेका छन् । उत्तम आफैले लेखेको कथामा लगानी पनि उनकै रहेनछ ।

रोचक कुरा त के छ भने, यो चलचित्रमा ‘दर्पण छाया’ जोडी निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधान नै देखिनेछन् । चलचित्रको बिषयमा नायिका निरुता सिंहले अनलाइनखबरसँग भनिन्–‘हो, हामी ३ जना मिलेर एकसाथ काम गर्दैछौ । तर, चलचित्रको नाम ‘दर्पण छाया’ भने रहने छैन ।’

उनका अनुसार, चलचित्रको काम सुरु पहिले नै हुनुपर्ने हो । तर, उत्तम प्रधान भारतमा हुन लागेको चुनावमा बढी व्यस्त भएकाले काम सुरु हुन सकेको छैन । निर्वाचनपछि यो चलचित्र बन्ने उनको भनाई छ । निरुताले भनिन्–‘यो चलचित्रको कथामा हामी ३ नभई हुँदैन । हामी, तिनै जना यो चलचित्रमा काम गर्न राजी भएका छौ ।’ उनले निर्देशन कसले गर्ने भन्ने बिषयमा आफूलाई थाहा नभएको बताइन् ।

यो चलचित्रको छायांकन अर्को बर्षबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment