Comments Add Comment

‘स्टार, मेगास्टार’को ट्याग अस्थायी हो, मेरो नाम नै स्थायी हो’: अनमोल(भिडियो)

‘पैसाको वरिपरी म होइन, पैसा मेरो वरिपरी घुमेको छ’

नेपाली चलचित्र क्षेत्रमा उदाउँदो क्रममा रहेका नायक अनमोल केसी, छोटो तर स्पष्ट बोल्छन् । उनी अभिनित चलचित्र ‘क्याप्टेन’ फागूण १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी फुटबल खेलाडी बनेका छन् । उनै, अनमोलले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो करिअर, विवादको बारेमा स्पष्ट पारेका छन्ः

१. तपाइको डेढ महिनाको अन्तरमा २ वटा चलचित्र आउँदैछ, तपाइको हकमा यो चाडो भएन र ?
मैले काम गर्ने तरिकाले त यो चाडै नै हो । तर, कतिपय यस्तो प्रोजेक्टहरु हुन्छन्, जसलाई कुनै पनि कलाकारले आफ्नो हातबाट जान दिदैन । झरना थापा र सुहाना इन्टरटेन्मेन्ट जस्तो ब्यानरलाई हातबाट जान दिनु हुँदैन भनेर नै मैले ‘ए मेरो हजुर ३’ गरेको हुँ । यसपटक चलचित्र रिलिजको समय अन्तर कम छ, तर दर्शकले दुबै चलचित्रमा फरक स्वाद पाउनुहुनेछ ।

२. तपाइले चलचित्र ‘क्याप्टेन’ मार्फत आफ्नो काम गर्ने बिषय परिवर्तन गर्न खोज्नुभएको हो ? वा आफू हरेक भूमिकामा सक्षम देखाउन खोज्नुभएको हो ?

यो मेरो लागि नयाँ प्रयास हो । हरेक कुरामा जोखिम मोलिएन भने केही नयाँ गर्न सकिदैन । नेपालमा खेलकुदको बिषयमा बनेका चलचित्रले राम्रो व्यापार गरेका छैनन् । तर, यो खेलकुदसँग सम्बन्धित चलचित्र मात्र होइन । यसमा लभ स्टोरी, देशभक्ति, पारिवारिक कथा छ । यो अफ ट्रयाकको चलचित्र होइन ।

३. तपाई चलचित्रमा काम गर्ने पक्का गर्नुअघि कस्तो चलचित्रलाई राम्रो भनेर मुल्यांकन गर्नुहुन्छ ?
पहिलो कुरा त एउटा कलाकारले कथा नै हेर्छ । कथाको पहिलो लाइन पढ्दा नै मज्जा आउँछ । म जब कथामा रमाउन थाल्छु, मलाई मन पर्न थाल्छ । फेरि फेरि कथा पढ्न मज्जा लाग्छ । अर्कोतिर, चलचित्रको कथा मात्र राम्रो भएर हुँदैन । त्यसमा म सुट हुन्छु या हुँदिन भनेर पनि हेर्ने गर्छु ।

अनमोल केसीसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


४. तपाई चलचित्रको कथा पढिरहँदा अक्षरमा कसलाई देख्नुहुन्छ ?
म मुख्यतया आफ्नो भूमिका नै हेर्छु । म सह–कलाकारको भूमिका खासै हेर्दिनँ ।

५. तर, एउटा मात्र कलाकारले चलचित्र धान्न गाह्रो हुँदैन र ?
म यो कुरा स्विकार गर्छु । सह–कलाकार राम्रो भएन भने चलचित्र चल्दैन । यसैले पनि म आफूले चलचित्रमा काम गर्ने पक्का गरेपछि, सह–कलाकार को राख्ने बिषयमा सुझाव भने दिन्छु ।

६. तपाइको होम प्रोडक्शनबाट चलचित्र नबनेको भए, के तपाइले यो कथामा काम गर्नुहुन्थ्यो होला ?
यस्तै खालको कथा भएको खण्डमा त पक्कै पनि गर्थेँ होला । तर, बाहिरी ब्यानरबाट चलचित्र बनेको भए पक्कै पनि यसको बजेट धेरै लाग्थ्यो । मेरो बुबाको कनेक्शनले गर्दा नै हो, यो चलचित्र सस्तोमा बनेको छ । एन्फाले पनि हामीलाई समर्थन गर्नुभयो, अरुलाई नगर्न पनि सक्नुहुन्थ्यो ।

७. चलचित्रको मुख्य पात्र फुटबल हो कि, अरु पनि छ ?
पक्कै पनि, मैले एउटा कुरा स्पष्ट पार्न आवश्यक छ । त्यो के भने, यो फुटबलको मात्र कथा होइन । यसमा प्रेम, रोमान्स, परिवार, दुख, पीडा सबै छ । फुटबल त चलचित्रको एउटा भाग मात्र हो । यो फुटबलको वृत्तचित्र होइन । मलाई लभर ब्वाइको भूमिकामा मन पराउने दर्शकका लागि पनि त्यो पाटो चलचित्रमा छ ।

८. पहिलो पटक चलचित्रमा तपाई मध्यम स्तरको मानिसको भूमिकामा देखिनुभए छ है ?
यो मेरो लागि फरक अनुभव हो । सिमेन्ट बोक्दा, गाडी पुच्दा म रमाइरहेको हुन्थेँ । यो कुरा मैले आफ्नो जीवनमा गरेको थिइनँ । तर, यसपटक यो भूमिका गर्दा साच्चै नै आनन्द आयो । ८० प्रतिशत कृषक भएको हाम्रो देशमा यो भूमिकाले मलाई उहाँहरुको जीवन जीउन सहज बनाइदियो ।

९. तपाइलाई धनी र गरिब भूमिका गर्दा कुनमा बढी आनन्द आयो ?
चलचित्रमा जसरी मैले भित्ताहरु रंगाएको छु, यो काम गर्दा आनन्द आयो । एउटा सम्पन्नशाली जीवन त मैले बाँचिरहेको छु नै । हामी आर्थिक रुपमा पनि सुरक्षित छौ । मेरो जीवनमा बुबा र मुमा सँगै त हुनुहुन्न । यो मेरो लागि दुखको कुरा हो । तर, मैले चलचित्रमा मध्यम बर्गको दुख र सुख हेर्न पाए ।

१०. तपाइले जीन्दगीमा मिस गरेको एउटा कुरामा, बुबा–आमा एकसाथ नहुनु पनि हो ?
म यो कुरामा आफूलाई अभागी नै ठान्छु । हो, एउटा मानिसले जीवनमा सबै कुरा पाउँदैन । मैले काम गरेर घर जाँदा, बुबा र आमा एकसाथ भएको भए मैले अझै आप्नो करिअरमा सुखद क्षण पाउथ्यँ होला । तर, उहाँहरु अलग भएपनि म दुबै जनासँग सम्पर्कमा छु । सबैले मेरो राम्रो नै चिताउनुहुन्छ ।

११. फुटबल नै नजान्ने मान्छे, कसरी यो कथामा काम गर्छु भन्ने आट गर्नुभयो ?
मैले फुटबल नखेलेपनि, म पहिलेदेखि नै फुटबलको फ्यान हुँ । चलचित्र ‘कृ’मा काम गरेपछि म केही नयाँ कथामा काम गर्न चाहन्थेँ । अझ, चलचित्रको मात्र नभएर देशकै नायक बन्ने कथामा काम गर्न मन थियो । यसैले पनि मैले यो कथा रोजेँ । म अहिले नै नेता, प्रधानमन्त्री बन्ने भूमिकामा फिट हुन्न । यसैले पनि मैले खेलकुदलाई नै रोजेँ ।

१२. तपाई चलचित्रमा काम गर्दा निकै मिहिनेत गर्नुहुन्छ, तर काम सकिएपछि एकदमै अल्छी हुनुहुन्छ भन्ने सुनिन्छ । आखिर किन यस्तो ?
हो, म एकमदै अल्छी छु । म कोठामा नै रमाउँछु, यही नै मेरो संसार हो । मलाई बाहिर जान खासै मन पनि लाग्दैनँ ।

१३. कोठा बाहिर निस्कदा दर्शकले देख्छन् भनेर हो ?
त्यस्तो होइन । मेरो नेचर नै यस्तै हो । म कलाकार नहुँदा पनि आफ्नै कोठामा बढी रमाउथ्यँ । मलाई मेरो घर नै मनपर्छ । आफू वरिपरी नै रमाउने मेरो बानी छ । आफ्नो दर्शकसँग टाढा भाग्ने कलाकार त मुर्ख हो । दर्शकबाट टाढा नै भाग्नु छ भने त, किन चलचित्रमा आउनु, होइन र ?

१४. अहिले तपाइलाई स्टार, सुपरस्टार, मेगास्टार जस्ता ट्याग दिइन्छ ? के तपाई यसमा योग्य हुनुहुन्छ ? यस्ता ट्यागले कत्तीको दबाब महशुश हुन्छ ?
हेर्नुहोस्, यस्ता ट्याग भनेका अस्थायी हुन् । अन्तिममा मेरो परिचय त अनमोल केसी नै हो । मलाई चिनाउने अनमोल केसीले हो, कुनै ट्यागले होइन । मलाई सुरुमा ‘छक्का, गे’ भन्नेहरु नै अहिले मलाई ‘मेगास्टार’ भन्नुहुन्छ । तपाइले जस्तो काम गर्दै जानुहुन्छ, ट्याग त्यही अनुसार नै बन्ने हो । मैले चोर्दै हिडे भने मान्छेलाई मलाई ‘मेगास्टार’ भन्दैन नी, डाका भन्छ ।

१५. तपाइलाई मानिसहरुले जसरी सुरुवातमा ‘छक्का, गे’ भन्थे, यसले तपाइलाई निराश बनायो कि प्रेरणा दियो ?
पक्कै पनि मलाई यो कुराले प्रेरणा नै दियो । मलाई धेरैले ज्यान बनाउ भन्नुभयो । मैले ‘कृ’मा त्यो प्रयास गर्न खोजेको हो । मलाई यस्ता कुराले नकारात्मक प्रभाव कहिले पनि पारेन । मैले ४०–४५ पटक पुस अप गर्थेँ भने, यो कुरा संझेर अझै ५ पटक बढी पुसअप गर्थेँ ।

१६. तपाइलाई चलचित्रमा लिन किन यत्ती गाह्रो ?
मैले अहिलेसम्म काम गरेका कुनै पनि चलचित्रले नराम्रो व्यापार गरेको छैन । दर्शकले मेरो कामलाई सधै नै माया गर्नुभएको छ । अब, त मैले मेरो ड्याडको नामलाई पनि अगाडि बढाउनुछ । यो क्षेत्रमा नै जन्मिएकाले, म चलचित्र क्षेत्रको ‘छोरा’ पनि हुँ । नम्बर र पैसा भन्दा पनि दर्शकले मलाई मेरो चलचित्रबाट नै चिन्नु हुन्छ । म गम्भिर भएकाले पनि बढी चुजी छु ।

१७. यो चलकेटी अनुहार कहिलेसम्म विक्छ जस्तो लाग्छ ?
हेर्नुहोस्, यो चकलेटी अनुहारमा रमाउनु भनेको ‘मुतमाथि न्यानो’ हुनुजस्तै हो । चलचित्र क्षेत्रमा अनुहार होइन काम बिक्छ । चलचित्र भनेको फोटोसुट होइन ।

१८. तपाइले ‘ए मेरो हजुर २’ गर्नुभएन, तर ‘ए मेरो हजुर ३’ किन गर्नुभयो ?
एउटा कलाकार भएपछि कुनै पनि भूमिकामा आफूलाई देख्नुपर्छ । इमान्दार भएर भन्नुपर्दा मैले ‘ए मेरो हजुर २’मा आफूलाई देखिन । सम्बन्ध र पैसा आफ्नो ठाउँमा छ, पहिले त मानिसले आफ्नो काममा इमान्दारिता देखाउनुपर्छ । झरना थापा दिदीहरुसँग मेरो नराम्रो भएको भए मैले ‘ए मेरो हजुर ३’ गर्ने नै थिइनँ । काम गर्दा सम्बन्ध र सबैकुरा मिलाएर राख्नुपर्छ ।

१९. तपाइको वरिपरी किन सधै पारिश्रमिक घुम्छ ?
इमान्दार भएर भन्छु, म पैसाको वरिपरी होइन मेरो वरिपरी पैसा घुमेको हो । अहिले मैले चलचित्रमा काम गर्छु मात्र भन्ने हो भने, मेरो खातामा ५० लाख हालिदिने निर्माता पनि हुनुहुन्छ । तर, म यो कुरामा तयार छैन । म पैसाको पछि नै लागेको भए, ६ बर्षमा किन ६ वटा मात्र चलचित्र गर्थेँ र ?

प्रस्तुतिः विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment