Comments Add Comment

प्रधानमन्त्रीको सुदूरपश्चिम दौडाहा : महाकाली सन्धिमा भारतसँग गुनासो

ब्यारेकमा बास, निर्मलाका परिवारलाई उपहास ! पशुपति शर्माको चर्चा

८ फागुन, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिने सुदूरपश्चिम भ्रमण विभिन्न आयोजनाहरुको उद्घाटन र शिलान्यास मात्रै सीमति भएन, पार्टीभित्रको गुटबन्दी व्यवस्थापनसम्मका प्रयासहरु भए । प्रधानमन्त्रीको बास सेनाको ब्यारेकमा भयो ।

मंगलबार श्री एयरलाइन्सको जहाजबाट धनगढी अवतरण गरेका प्रधानमन्त्री ओली त्यहाँबाट सेनाको हेलिकप्टर चढेर कैलाली र डोटीलाई जोड्ने सहजपुर–बोगटान सडक खण्डको शिलान्यास गर्न पुगे । यो सडक २९ वर्षअघि नै शिलान्यास गरिएको थियो ।

सडक शिलान्यास गरिसकेपछि प्रधानमन्त्री ओली दलबलसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउकाको गृहजिल्ला डडेल्धुरातिर लागे ।

डडेलधुरा पुगेर प्रधानमन्त्री ओलीले विद्युत सब स्टेशनको उद्घाटन गरे । उनले सामान्य खालको कार्यक्रम उदघाटनका लागि देउवाको गृहजिल्लामा पुगेर सुदूरपश्चिमको विकासमा नेपाली कांग्रेसको होइन, अब नेकपाको भूमिका रहनेछ भन्ने सन्देश दिन खोजेको नेकपाका स्थानीय नेताहरुको विश्लेषण छ ।

डडेलधुराको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओली मंगलबार साँझ नेपाली सेनाको ५ नम्बर बाहिनी तेघरीमा बास बसे । प्रधानमन्त्री ओलीले ब्यारेकभित्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुसँग छलफल गरे ।

छलफलका क्रममा प्रधानमन्त्रीले आफ्नो काममा दत्तचित्त भएर लाग्न र जनताको मन जित्न निर्देशन दिएको मन्त्रीहरुको भनाइ छ । सो क्रममा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुलाई जनताको हितभन्दा बाहिर गएर काम गरेको भन्ने गुनासा आएकाले सच्चिन आग्रह गरेका थिए । त्यसो नगरे मन्त्री पद धरापमा पर्ने प्रधानमन्त्रीले संकेत गरेको नेकपाका एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले सेनाको ब्यारेकमै रहेका बेला नेकपाका नेताहरुको विवादसमेत मिलाउने प्रयास गरे । सुदूरपश्चिम प्रदेशमा नेकपाभित्र भीम रावल र कर्ण थापा समूहबीच देखिएको मतभिन्नतालाई हटाउने प्रयास प्रधानमन्त्रीले गरेको नेकपाका स्थानीय नेता बताउँछन् ।

प्रधानमन्त्री ओलीले नेताद्वयलाई गुटबन्दीमा नलागी पार्टी हितमा काम गर्न निर्देशन दिएको स्रोतले अनलाइनखबरलाई बतायो । प्रधानमन्त्रीले बुधबार बिहान ९ बजे प्रदेश सभालाई सम्बोधन गरेका थिए ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले अहिलेको दुई तिहाई सरकार बनाउन जनताले मत दिएकाले जनहितमा आफूहरु लागिरहेका बताए । उनले सबैलाई जनताको हितमा काम गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले विपक्षी दलहरुलाई समेत विकास निर्माणका लागि टुटेर होइन जुटेर अघि बढ्न आग्रह गरे ।

करिब अढाई घण्टा भाषण गरेका प्रधानमन्त्री ओलीले पानीजहाज ल्याउनेदेखि रेल गुडाउनेसम्मका योजनाहरु दोहोर्‍याए ।

‘विकासको जिम्मा मलाई दिनोस्’

मंगलबार डडेलधुरामा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विकासको जिम्मा आफूले लिने बताएका थिए । नेपाल विद्युत प्राधिकरणको स्याउले १२३÷३३÷११ केभीको सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लोपटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको यो केन्द्रले यस क्षेत्रमा विद्युत वितरण र व्यवस्थापन गर्ने बताए ।

‘अब डडेलधुराबासीले चिन्ता लिनुपर्दैन, विकासको जिम्मा मेरो भयो’ प्रधानमन्त्री ओलीले भने ‘तपाईहरुका आवश्यकता के के छन् माननीयहरु मार्फत पठाउनुहोस्, पूरा गर्ने जिम्मा मेरो भयो ।’

प्रधानमन्त्री ओलीले पश्चिम सेती परियोजना जसरी पनि निर्माण भई छाड्ने बताएका छन् । उनले सुदुरपश्चिम आएर भनेका छन्– ‘म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती निर्माण हुन्छ ।’

प्रधानमन्त्री ओलीले डडेलधुरा अब पछि परिरहनु उपयुक्त नहुने बताएका छन् । उनले भनेका छन्, डडेलधुरा विकासमा पछि पर्नु लाजमर्दो कुरा हो । अब सिंगै सुदुरपश्चिम अगाडि बढ्छ । विकसित हुन्छ ।’

प्रधानमन्त्री ओलीले महाकाली नदीमा रहेका तुइन विस्थापन गर्न एकतर्फी रुपमा समस्या भएकाले भारतको उतराखण्डका मुख्यमन्त्री र प्रदेश प्रमुखसँग छलफल गरेको समेत जानकारी दिए । ‘अब पनि तुइनमा झुण्डिएर, टायरमा चढेर नदी तर्ने कुरा हुँदैन । तुइनलाई झोलुंगे पुल, पक्की पुल र केवलकारले विस्थापन गरिनेछ ।’

प्रधानमन्त्री ओलीे डडेलधुराको तुफानडाँडाँबाट पर्शुराम नगरपालिका हुँदै कञ्चनपुर जाने सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत जनाएर काठमाडौं फर्केका छन् ।

प्रदेश सांसदलाई विकासको नायक बन्न आग्रह

प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्यहरुलाई विकासका नायक, अभियानकर्मी र जनताको उच्चतम आकांक्षाका प्रतिविम्ब बन्नुपर्ने बताएका छन् ।

सुुदूरपश्चिमलाई छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेश सांसदहरुलाई प्रधानमन्त्रीले आग्रह गरे । संघीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा २८ अर्ब ८४ करोड छुटयाइएको छ ।

प्रधानमन्त्री ओलीले पहिलो वर्ष कानून निर्माण, कर्मचारी, कार्यालय व्यवस्थापन र नेपालको भविश्यको बाटो तय गर्ने आधार वर्षका रुपमा बितेको बताए । अब जनता आवश्यक शिक्षा, स्वास्थ्य, आवास, लुगा, खानाजस्ता कुरा धेरै वर्ष कुरेर बस्न नसक्ने भएकाले तीनै तहका सरकार मिलेर विकासका काम अघि बढाउनुपर्ने प्रधानमन्त्रीले बताए ।

‘सुदूरपश्चिममा पर्वतारोहण, पदयात्रा, मन्दिर–तीर्थस्थल, शुक्लाफाँटा आरक्ष आदिमा पर्यटकको आकर्षण रहेको बताउँदै प्रधानमन्त्रीले सुदुरपश्चिमका सांसदहरुलाई भने ‘महाकाली, कर्णाली र सेती नदीबाट विद्युत् र सिँचाइको सम्भावना छ । औद्योगिक क्षेत्र स्थापना भएपछि लगानीकर्ता पैसा, प्रविधि र मेसिन लिएर त आउनेछन्, तर जग्गाको सहजता मिलाइदिनुहोला ।’

सुदूरपश्चिम प्रदेशमा खान लाउन नपुग्ने कुनै कारण नभएको बताउँदै प्रधानमन्त्रीले भने, ‘तीव्र विकासको सम्भावना तपाईंकै हातमा छ, यहाँ सम्भावना भएको केराखेती, फलफूलखेती बढाऔं, कृषि वन विकास गरौंँ, फलफूलको उत्पादन निर्यात गर्न सकिन्छ, कानूनी जटिलता फुकाउन र आवश्यक बजेट व्यवस्था गर्न स्थिर सङ्घीय सरकार तपाईँको साथमा छ ।’

महाकाली सन्धीबारे गुनासो, छाउपडी हटाउन आग्रह

प्रधानमन्त्री ओलीले महाकालीबाट आवश्यक मात्रामा पानी लिने र दोधारा चाँदनीका लागि आवश्यक १० क्युसेक पानी लिने कुरा अघि बढिरहेको जानकारी दिए । पञ्चेश्वर परियोजनाका विषयमा छिमेकबाट औपचारिक रुपमा ‘हुन्छ हुन्छ’ भन्ने, तर अनौपचारिकरुपमा नाफाघाटाको कुरा आइरहेकाले ढिलासुस्ती भइरहेको गुनासोसमेत ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा छरिएर रहेका बस्तीमा विकास पुर्‍याउनु चुनौतीपूर्ण भएकाले एकीकृत गरेर ससाना बजार विस्तार गर्न सुझाव दिए । सुदूरपश्चिममा कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा हटाउन विशेष अभियानै चलाउनुपर्नेमा जोड दिँदै उनले भने–‘समस्या छ, छाउपडी हटाऊँ भन्दा नमान्ने दिदीबहिनी र दाजुभाइ धेरै छन् । अभियानै चलाएर अन्त्य गरौंँ ।’

प्रधानमन्त्री ओलीले आउँदो शैैक्षिक सत्रदेखि कुनै पनि बालबालिका विद्यालयभन्दा बाहिर रहन नहुने बताउँदै निर्मला पन्त बलात्कार पछिको हत्या काण्डका अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरिरहे पनि पत्ता लाग्न नसक्नु दुःखद हो भन्दै पत्ता लगाएरै छाडिने बताए ।

सुदूरपश्चिम प्रदेशसभालाई करीब दुई घण्टा सम्बोधन गरेका प्रधानमन्त्रीले भने, ‘युद्धका घाउ र असर छन्, सरकार त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन लागेको छ । तर, घाउ कोट्यायाएर शान्ति हुन नदिने प्रयास हुँदैछ, हिंसा भड्काएर द्वन्द्व व्यवस्थापनको खेतीपाती हुन दिनुहुँदैन, अब क्रान्तिका नाममा कुनै लफ्फाजीको काम छैन ।

विप्लव माओवादीका गतिविधितर्फ संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘जनतामा आतंक फैलाउने, विकास आयोजना अवरोध गर्ने काम हुनुहुँदैन, नेपालमा शान्ति भएको छैन भनेर गलत सन्देश दिने प्रयास पनि गर्नुहुँदैन ।’

निर्मला पन्तका परिवारलाई सुरक्षाकर्मीको छेकबार

कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याई छाड्ने प्रतिवद्धता जनाएका प्रधानमन्त्री ओलीले निर्मलाका परिवारसँग भने भेटघाट गरेनन् । प्रधानमन्त्री आएको थाहा पाएपछि बिहानै अधिकारकर्मीसहित धनगढी पुगेका निर्मलाका परिवारलाई सुरक्षाकर्मीहरुले प्रदेश सभास्थलमै प्रवेश गर्न दिएनन् ।

सुरक्षाकर्मीले प्रधानमन्त्रीसम्म पुग्नै नदिएपछि अन्ततः निर्मलाका परिवारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेर आफ्ना कुराहरु राखे ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रधानमन्त्रीसँग भेट गराईदिन आग्रह गरेपनि भेट गर्न नपाएको निर्मलाका परिवारको गुनासो छ ।

यसवीचमा प्रधानमन्त्रीले सुदुर पश्चिममा उद्योगी व्यवसायीहरुसँग भने भेटघाट गरेर तस्वीरसमेत खिचाए ।

रंगशालामा कार्यकर्तालाई सम्वोधन

प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्वोधन गरिसकेपछि बुधबार नै धनगढीस्थित क्षेत्रीय रंगशालामा कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कार्यकर्ताहरुलाई विचलित नभई संयमित रुपमा प्रस्तुत हुन आग्रह गरे । उनले देशले छिटै काँचुली फेर्ने र युवाहरुलाई स्वदेशमै रोजगारीका लागि अवसरहरु प्रदान गर्न अहिलेको सरकार लागिपरेको बताए ।

प्रधानमन्त्री ओली र नेकपा नेताहरुको टोली आजै श्री एयरलान्यसको नियमित उडानबाट काठमाण्डौ फिर्ता भएका छन् ।

पशुपति शर्माको गीतको चर्चा

प्रधानमन्त्री ओलीले बुधबार सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठकलाई सम्वोधन गरेका छन् । उनको सुदूरपश्चिम भ्रमणको मुख्य उद्देश्य पनि यही नै थियो ।

प्रदेशसभालाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पशुपति शर्माको गीतको प्रशंग पनि पहिलोपटक कोट्याए ।

प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शर्माको गीतलाई जनताले मन नपराएको बताए । लोकगायक शर्माको नाम नलिई प्रधानमन्त्रीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’

प्रधानमन्त्री ओलीले कांग्रेसका संघीय सांसद अमरेशकुमार सिंहप्रति पनि प्रदेशसभाबाटै कटाक्ष गरे । सिंहको नाम नलिई उनले एक सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको सुनाए । प्रधानमन्त्रीले हाँस्दै भने, ‘अचम्म लाग्यो मलाई, कहाँ जान खोज्दैछौं हामी ? भावनामा बगेर एउटा गीत लेखे, युट्युबमा पनि हाले तर, सबैले राम्रो गरेनौ भाइ भनेपछि हटायो त सिध्यियो नि कुरा !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment