Comments Add Comment

जलाउन लगेको युवतीको शव खोलाको किनारबाट बरामद

१२ फागुन वीरगंज । प्रहरीले आइतबार दिउँसो जलाउन लैजादै गरेको किशोरीको शव बरामद गरेको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा चन्द्रवती खोलाको किनारबाट शव बरामद गरेको हो ।

स्थानीय चन्द्रिका मुखिया बिनको १८ बर्षीया छोरी लालसाकुमारी बिनको शव बरामद गरेको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक राजेश चौधरीले बताए ।

आत्महत्या गरेको दावी गरिएकी युवतीको शव प्रहरीले बरामद गरेको हो । उक्त शव प्रहरीले पोस्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ । युवतीको मृत्युको घटनालाई लुकाउन खोजेको आशंकामा प्रहरीले शव बरामद गरेको बताएको छ ।

प्रहरीले शव बरामद गरेपछि परिवारका सदस्य र छिमेकी भागेका छन् ।

स्थानीयका अनुसार किशोरीको बिवाहको तयारी भइरहेको थियो । फागुन १३ गते पटेर्वासुगौली गाउँपालिका ५ निचुटाबाट टीकाटालो (छेका) गर्न आउने कुरा थियो केटा पक्षले किशोरीको अभिभावकसंग पचास हजार रुपैयाँ दाइजो मागी रहेका थिए ।

किशोरीका अभिभावक चन्द्रिका मुखिया बिनको आर्थिक अवस्था कमजोर रहेको र पैसाको कारण बिहे रोकिने स्थिति बनेको जानकारी केटीले  पाएपछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले  सुसाइड हो वा अन्य कारणले मृत्यु भएको हो पोष्टमार्टम रिपोर्ट पछि मात्रै भन्न सकिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment