Comments Add Comment

पौडेल र सिटौला पक्ष केन्द्रीय समिति बैठकमा अनुपस्थित

१४ फागुन, काठमाडौं । अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा गठनको माग गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित भएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठक ११ बजेका लागि बोलाइएको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु बैठक हलमा छन् । तर, पौडेल, सिटौलासहितका नेताहरु केन्द्रीय कार्यालयमा भएपनि बैठक हलमा गएनन् ।

महामन्त्री शशांक कोइराला पनि बैठकमा छन् ।

‘अनुशासन र निर्वाचन समिति अर्ध न्यायिक निकाय भएकाले सहमतिमा र एकै पटक गठन गर्नुपर्छ भन्ने हाम्रो माग हो’ नेता कल्याण गुरुङले भने, ‘यही माग राखेर हामी बैठकमा नगएका हौं ।’

अघिल्लो केन्द्रीय कार्यसमितिले महासमितिमा पार्टी सभापति देउवाले गरेको बाचाविपरीत बहुमतका आधारमा विधान पास गरेको थियो, जसमा पौडेल र सिटौला पक्षले नोट अफ डिसेन्ट लेखेका छन् ।

बैठक स्थगित 

पौडेल र सिटौला पक्षका नेताहरु सहभागी नभएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए । दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरेको भन्दै केन्द्रीय समिति बैठक बहिस्कार गरेका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment