Comments Add Comment

अमेरिकी मन्त्रीलाई चिनियाँ राजदूतको जवाफ : नकारात्मक टिप्पणी होइन, लगानी गर

१४ फागुन, काठमाडौं । अघोषित व्यापार युद्धमा रहेका चीन र अमेरिका नेपाललाई लिएर जुहारीमा उत्रिएका छन् ।

नेपाल भ्रमणमा आएका दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपालमा चीनको लगानीबारे प्रश्न उठाएका थिए ।

भोलिपल्टै चिनियाँ राजदूत होउ यान्छीले सार्वजनिक मञ्चबाटै फेल्टरलाई जवाफ दिएकी छन् । मंगलबारदेखि सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै राजदूत होउले कोशांैं टाढा रहेको देशले नेपाल–चीनसम्बन्धबारे नकारात्मक टिप्पणी गर्नु अनुचित भएको बताइन् ।

नेपाल र चीनको सम्बन्ध पुरानो भएको भन्दै उनले यसमा कसैले भाँजो हाल्न जरुरी नभएको बताइन् ।

चीनले आफ्नो स्वार्थ हेरेर नभई नेपालले अघि सारेका विकास आयोजनामा काम गरेको उनले बताइन् । ‘बेल्ट एण्ड रोड एनिसिएटिभ चीनले एकपक्षीय स्वार्थ हेरेर ल्याएको होइन, यो दुबै देशको हितमा छ’ उनले भनिन् ।

दक्षिण एसियाली मुलुकहरुको अवस्थाबारे आफू जानकार रहेको भन्दै उनले भर्खर विकासको चरणमा रहेका देशहरुले विकसित मुलुकबाट ठूला आयोजना अपेक्षा गरेको बताइन् ।

चीनको सहयोगमा भर्खरै कलंकी–कोटेश्वर सडक निर्माण भएर हस्तान्तरण भएको र अर्को खण्डको डीपीआर बनिरहेको भन्दै राजदूत यान्छीले भनिन्, ‘अमेरिकाले अरु देशको सहयोगबारे नकारात्मक टिप्पणी गर्नुभन्दा विकास आयोजनामा लगानी गर्नु राम्रो हुन्छ ।’

अमेरिकी सहायक रक्षामन्त्री फेल्टरले चिनियाँ लगानीका कारण धेरै देश अप्ठ्यारोमा परेको भन्दै नेपालमा गर्ने लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए ।

जवाफमा चिनियाँ राजदूतले कुनै पनि देशलाई समस्यामा पार्ने नियत नभएको बताएकी छन् ।

अमेरिकी सहायक रक्षामन्त्री फेल्टरले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटेका थिए । लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गरेका उनले नेपालमा चिनियाँ लगानीबारे प्रश्न उठाएका थिए ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) मा गर्ने चिनियाँ लगानी नेपालको हितमा हुनुपर्ने भन्दै अमेरिकी पाहुनाले भनेका थिए, ‘श्रीलंका, माल्दिभ्स लगायत थुप्रै देशहरू चिनियाँ लगानीका कारण डेट ट्रयापमा परेका छन् । उसले नेपालमा गर्ने लगानी पारदर्शी हुनुपर्छ । चीनको मात्र होइन, नेपालको पनि हितमा हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment