+
+
Shares

घर टुट्नुको कारण, महत्वकांक्षी श्रीमान् वा श्रीमती ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १३:०१

‘जीवनभर एकअर्काको साथ दिने’ कसम खाएर जोडिएका कति सम्बन्ध एउटा मोडमा आइपुगेपछि दुई चिरा पर्छ ।

एउटै छानोमुनी जीवन काट्ने, एउटै थालमा खाने, एउटै विच्छ्यौनामा एकाकार हुने भावनात्मक बन्धन किन टुट्न पुग्छ ? जवाफ एउटै वाक्यमा पुरा हुँदैन । श्रीमान र श्रीमतिबीचको सम्बन्धमा कटुता आउनु, भ्रम र अविश्वास बढ्नु, अन्ततः अलग-अलग हुने निर्णयमा पुग्नुमा एउटै मात्र कारक हुँदैन । यसमा विभिन्न कारण हुन्छन् । दोषी एकमात्र हुँदैनन् । दुबैले केही न केही त्रुटी गरेकै हुन्छन् ।

दाम्पत्य सम्बन्ध टुट्नु एकदम दुःखदायी कुरा हो । यसले सम्बन्धित श्रीमान् र श्रीमतीलाई मात्र होइन, उनीहरुका सन्तानलाई विक्षिप्त बनाउँछ । उनीहरुका आफन्त, नातेदार, छिमेकी पनि यसबाट नराम्ररी प्रभावित हुन्छन् ।

तर, नचाहेरै दम्पतीबीच सम्बन्धमा फाटो आउँछ । जब उनीहरु एउटै छानोमुनी उभिएर रमाउन असमर्थ हुन्छन्, तब दुबै अलग हुन्छन् ।

श्रीमान् र श्रीमतीको महत्वकांक्षा पनि कहिले काहीँ दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ ।

यसै सन्दर्भमा यहाँ एक सामाग्री प्रस्तुत गरिएको छ ।

निर्देशक गुलजारको सन् १९७५ मा प्रदर्शित फिल्म ‘आंधी’ले सफलताको तमाम रेकर्ड तोड्यो । यो फिल्मका विषयमा केही विवाद भए, किनभने यो दिवंगत पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जिन्दगीमा बनेको थियो । संजीव कुमार यस फिल्मका नायक र सुचित्रा सेन नायिकाको भूमिकामा थिए । फिल्म ‘आंधी’को केन्दि्रय विषय राजनीति थियो । तर, यसको भित्री कथा दाम्पत्य सम्बन्धमाथि पनि थियो । त्यसको हरेक प|mेममा इन्दिरा गान्धी प्रष्टसँग देखिन्थ्यो । साथै देखिन्थ्यो, एक प्रतिभाशाली पत्नीको महत्वकांक्षा । आफ्नो महत्वकांक्षा पुरा गर्नका लागि उनीहरुले आफ्ना श्रीमान्समेत त्यागे । छोरालाई पनि त्यागे । तर, उनीहरुलाई भुल्न सकेनन् ।

श्रीमान्सँग छुटिएपछिको एक दिन जब उनी राजनीतिक दिन गुजार्नका लागि पहाडी भेगमा पुग्छन् र जुन होटलमा बस्छन्, त्यसका म्यानेजर उनका श्रीमान् हुन्छन् ।

दोस्रो पटक श्रीमान्सँग अनायसै भेटिएपछि नायिका कमजोर हुन्छिन् । अब उनलाई सम्झना हुन्छ कि, असली सुख श्रीमान्को अंगालो, भान्सा, घरगृहस्थी, आपसी नोकझोंक र बच्चामा हेरचाहमा हुने रहेछ । राजनीतिक सफलतामा होइन ।

तर, समस्या के छ भने अब राजनीतिको दलदलबाट चाहि कसरी उम्कने ? किनभने श्रीमानले राजनीति रुचाउँदैनन् । राजनीति वा श्रीमान् मध्ये एक छनौट गर्नुपर्ने अन्र्तद्वन्द्व उनीभित्र सुरु हुन्छ । अन्ततः उनी आफ्ना श्रीमानलाई छनौट गर्छिन् र सुखमय जीवन विताउने लक्ष्य तय गर्छिन् ।

दोस्रो पटक श्रीमान्सँग जोडिएपछि उनी खुलेआम रमाइलो गर्न थाल्छिन् । घुमफिर गर्न थाल्छिन् । तब, उनीमाथि चारित्रिक बदनामी लगाइन्छ ।

स्वभावले जिद्दी र रिसाह उनी यसबाट निकै तनावग्रस्त हुन्छिन्, किनभने उनको नजरमा उनले कुनैपनि गलत गरिरहेकै हुँदैनन् ।

चुनाव प्रचार प्रसारकोे सिलसिलामा उनको चरित्रमाथि प्रश्न उठाइन्छ । तब उनले आफ्ना श्रीमानलाई पनि त्यहाँ उपस्थित गराएर स्पष्ट पार्छिन् कि, ‘ऊ मेरो श्रीमान् हो । यदि उनीसँग घुमफिर गर्नु, रोमान्स गर्नु अपराध हो भने, मैले अपराध गरें ।’ अन्ततः उनी भावुक भएर जनता समक्ष अपील गर्छिन् कि, ‘म भोट होइन, न्याय माग्न चाहन्छु ।’

आखिर जनताले उनलाई निर्वाचनमा जिताउँछन् र न्याय दिन्छन् । अन्तिम दृश्यमा जब उनी हेलिकप्टरमा बसेर दिल्ली जाने तयारीमा हुन्छन्, तब हिरो -श्रीमान्) भन्छन्, ‘म सधै तिमीले जितेको हेर्न चाहन्छु ।’

फिल्मको ‘ह्याप्पी इन्डिङ’ हुन्छ । तर, बुद्धिजीवी दर्शकसामु यो प्रश्न छाडेर जान्छ कि, हिजो करियरका लागि छाडेका श्रीमानलाई सार्वजनिक रुपमा स्वीकार्नु पनि राजनीतिको हिस्सा थिएन ? यो जनतामाथि भावनात्मक ब्ल्याकमेलिङ थिएन ?

प्रमाणित के हुन्छ भने, राजनीतिमा सबैकुरा जायज हुन्छ । प्रमाणित के पनि हुन्छ भने, एक महत्वकांक्षी श्रीमती, जसलाई हार मनपर्दैन, जित्नका लागि उनी कुनैपनि हदसम्म पुग्न सक्छिन् ।

यो एक हिन्दी फिल्मबाट लिइएका दृष्टान्त हुन् । हाम्रै समाजको पुरातन धारणा के छ भने, महिलाहरुले घर-गृहस्थी सम्हाल्नुपर्छ । उनीहरुले चुल्होचौका सम्हाल्नुपर्छ । छोराछोरी स्यहारसुसार गर्नुपर्छ ।

यस्तो अवस्थामा महिलाले घरको संघार नाघेर बाहिर आउनुलाई ‘बिद्रोह’ भन्ने गरिन्छ । कतिपय परिवारका लागि यो अशोभनिय मानिन्छ । तर, महिलाहरुले सधै आफुलाई खुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्ना इच्छा-आकंक्षालाई गुम्साएर राख्न सक्दैनन् । उनीहरु घरको परिधीबाट बाहिर जान खोज्छन् । यस्तो अवस्थामा पनि श्रीमान् र श्रीमतीबीच कतिपय मतभेद हुनसक्छ । त्यही मतभेदले क्रमस सम्बन्धमा चिसो ल्याउन थाल्छ ।

कतिपय श्रीमतीमा उच्च महत्वकांक्षा हुन्छ । उनीहरु आफ्नो करियर, नेम र फेमका लागि पनि परिवारको परिधीबाट बाहिर आउन खोज्छन् । यस्तो अवस्थामा पनि श्रीमान् र श्रीमतीबीच तालमेल मिल्दैन ।

श्रीमती महत्वकांक्षी हुनु समस्या हो ?

प्रश्न जटिल छ । किनभने हामीकहाँ श्रीमतीले घर-परिवार सम्हाल्नुपर्ने दायित्व हुन्छ । खाना पकाउने, बालबच्चाको हेरचाह गर्ने, सासु-ससुराको ख्याल गर्ने जस्ता यावत् काम श्रीमतीले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । यसरी घरभित्रको काम श्रीमतीले सम्हालेपछि घर-व्यवहारको वा बाहिरको कामको जिम्मेवारी श्रीमान्ले लिन्छन् । यस किसिमको तालमेलले परिवारमा सुख छाउँछ । दाम्पत्य सम्बन्धमा तालमेल मिल्छ ।

तर, महिला अर्थात श्रीमतीले घर-धन्दामै आफुलाई सीमित गर्नुपर्छ भन्ने जुन धारणा छ, त्यसले पनि समस्या पैदा गर्न सक्छ । किनभने श्रीमतीको महत्वकांक्षा आफैमा समस्या होइन । समस्या चाहि के हो भने, श्रीमानले त्यसलाई उचित व्यवस्थापन गर्न नसक्नु ।

तर, के आफ्ना श्रीमतीको महत्वकांक्षा पुरा गराउने बाटोमा श्रीमानले सहयोग गर्न सक्छन् ? यसको जवाफ नकारात्मक आउन सक्छ । किनभने पुरुषमा आफ्नै अभिमान हुन्छ । अहंम हुन्छ । अक्सर श्रीमान चाहन्छन् कि, श्रीमती आफुभन्दा अगाडि बढ्न सकोस् । उनीहरुले अलग पहिचान बनायोस् र लोकपि्रय होस् ।

अब श्रीमती पनि श्रीमान्को इच्छा अनुसार आफुलाई खुम्चाएर बस्न तयार हुँदैनन् । उनीहरु आफ्नो आकंक्षा पुरा गर्नका लागि जस्तोसुकै अडान लिन पछि पर्दैनन् । यता श्रीमान् पनि आफ्नो अडानबाट पछाडि हट्दैनन् ।

हो, यही मोडमा आइपुगेपछि दुबैले लिने निर्णय हो, अलग हुने ।

यसको सोझो अर्थ के भने, श्रीमान् र श्रीमतीको अहंम्, अडान, आकंक्षाले उनीहरुमा फाटो ल्याउँछ । दाम्पत्य सम्बन्ध टुट्न पुग्छ ।

श्रीमान् र श्रीमतीका आ-आफ्नै इच्छा, आकंक्षा, चाहना हुन्छन् । तर, उनीहरुको लागि सर्वोपरी भनेका आफ्ना परिवार हुन्, जो उनीहरुले रचना गरेका हुन्छन् । उनीहरु छोराछोरी, आमाबुवा, सासुससुरासँग अभिन्न रुपले जोडिएका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले जुन पारिवारिक संरचना बनाएका हुन्छन्, त्यसलाई जोडेर राख्नु दुबैको दायित्व हो ।

केही कुरा

– श्रीमान्-श्रीमतीमा कुनैपनि किसिमको प्रतिस्पर्धा गृहस्थी र दाम्पत्य दुबैका लागि सुखद हुँदैन, यसलै यसबाट बच्नुपर्छ । एकअर्काको भावना र इच्छालाई सम्मान गरेर उनीहरुले यी सबै कुरा पाउन सक्छन् ।

-श्रीमती जीवनमा केही बन्न चाहन्छिन् वा हासिल गर्न चाहन्छिन्, त्यो गलत होइन । यो उनको हक हो । यद्यपी श्रीमतीले यो कुरा बुझ्नुपर्छ कि उनी के प्राप्त गर्न चाहन्छिन् ? त्यसले उनमा के हासिल हुन्छ ? श्रीमान्को भावनालाई ठेस लगाएर प्राप्त गरिने यस्ता कुराले जीवनमा के अर्थ राख्छ ?

-श्रीमान्को प्रोत्साहहन र प्रशंसाले श्रीमतीको प्रतिभा निखारिन्छ । उनको मनासय श्रीमतीलाई होच्याउने होइन ।

-श्रीमती प्रतिभाशाली छिन्, सार्वजनिक जीवन व्यतित गरिरहेकी छिन् भने यही कारणले श्रीमान्लाई हीनताबोध चाहि हुनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?