४ कात्तिक, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बने ।
कतिपय जेनजीले आपत्ति जनाउँदा–जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट मानिएका अर्याल गृहमन्त्री बनेका थिए ।
तिनै गृहमन्त्री अर्यालसँग अहिले जेनजी आन्दोलनको केन्द्रमा पुगेका सुदन गुरुङको ‘टसल’ बढिरहेको देखिन्छ । एकपछि अर्को फेसबुक स्टाटस लेख्दै गुरुङले उनको राजीनामा माग गरिरहेका छन् ।
सोमबारको सिमरा घटनापछि त गुरुङ गृहमन्त्रीप्रति झनै आक्रामक देखिएका छन् । यसअघि बेलामौकामा राजीनामा मागिरहेका उनले अहिले यसको गति बढाएको देखिन्छ । गृहमन्त्रीले राजीनामा नदिए आन्दोलन गर्नेसम्मका योजना बनाएको गुरुङ निकटका जेनजी अगुवाहरूले बताइरहेका छन् ।
गुरुङ एकाएक गृहमन्त्री अर्यालमाथि खनिएका भने होइनन् । प्रधानमन्त्री कार्कीले अर्याललाई गृहमन्त्रीमा सिफारिस गर्ने समाचार आएलगत्तै देखि नै गुरुङ उनीविरुद्ध खनिएका थिए ।
गुरुङसहित केही जेनजीले ‘अर्याल आन्दोलन हाइज्याक गरेर गृहमन्त्री खान आएको’ आरोप लगाएका थिए । आरोपमा मात्रै सीमित नरहेका जेनजी गृहमन्त्रीमा अर्याल सिफारिस भएको दिन राति नै बालुवाटार पुगे । केही घण्टाअगाडि मात्र पदभार ग्रहण गरेकी प्रधानमन्त्री कार्कीको राजीनामा मागे ।
‘यो खोई के हो लयर, त्यहाँभित्र बसेर गृहमन्त्री बनाउँदो रहेछ, म चाहिँ लास–सासमा हिँडिरहेको थिएँ,’ आन्दोलन हाइज्याक भएको बताउँदै त्यसबेला सुदन गुरुङले भनेका थिए, ‘हाम्रो आन्दोलन हाइज्याक भयो । सबैभन्दा पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौँ, त्यही ठाउँबाट थुतेर निकालिदिन्छु ।’
उनै गुरुङ पछिल्लो समय झन् खुलेर गृहमन्त्रीविरुद्ध लागिरहेको सामाजिक सञ्जालमा आएका उनका अभिव्यक्तिले देखाउँछ ।
मंगलबार बिहान मात्र एक पोस्ट गर्दै गुरुङले लेखेका छन्, ‘न्यायले पनि शहीदहरूलाई जिस्क्याइरहेको देखिन्छ । शहीद परिवार कस्तो देशमा सन्तानले रगत बगाए भन्दै झस्किँदै गरेको सुनिन्छ ।’
बारा जिल्लाका जेनजी अगुवा (जो सोमबारको घटनामा सडकमा थिए) को भिडियो सेयर गर्दै गुरुङले गृहमन्त्रीलाई सोधेका छन्, ‘त्यो बच्चाहरूको रगतले लतपतिएको कुर्सीमा बसेर, हत्याराहरू ठाडो शिर उठाएर हाँस्दै हिँडेको लाचार भएर टुलुटुलु हेरेर बस्न लाज लाग्दैन गृहमन्त्रीज्यू ?’
यो पोस्ट गरेको एक घण्टाअघि मात्र उनको अर्को पोस्ट छ, जसमा बारा जिल्लाका संयोजक सम्राट उपाध्यायलाई स्यालुट भन्दै देशभरका युवालाई जागरुक हुन आग्रह गरेका छन् ।
‘पार्टीप्रेमी हैन, देशप्रेमी’ युवा एकजुट भएर सिमरामा जस्तै हिम्मत देखाउनुपर्ने सन्देश उनले दिएका छन् ।
यो रिपोर्ट तयार गर्नुभन्दा १२ घण्टा अगाडि गृहमन्त्रीको राजीनामा माग गरिएको उनको अर्को पोस्ट छ । केही ग्राफिक्ससहित गरिएको पोस्टमा उनले ह्यासट्याग प्रयोग गरेका छन् ।
उक्त पोस्टको क्याप्सनमा गुरुङले लेखेका छन्, ‘मौनतालाई कमजोरी नठान्नुस्, जनआन्दोलनको ज्वालामुखी उठ्दैछ ।’
त्यसअघि पनि सुदन गुरुङले गृहमन्त्रीको राजीनामा माग गर्दै निरन्तर अभिव्यक्ति दिइरहेका देखिन्छन् । प्रहरीसँग कहीँकतै कुनै बहानामा नोकझोक हुनथाले तत्काल गृहमन्त्रीसँग उनी खनिएका प्रशस्त पोस्ट देखिन्छन् ।
उनको सामाजिक सञ्जाल हेर्दा पनि सो कुरा पुष्टि हुन्छ । यसरी सुरुवातबाटै गृहमन्त्रीप्रति असन्तुष्ट रहेका गुरुङ अब भने उनीसँग वारपार गर्ने मुडमा देखिन्छन् ।
अचम्म के भने, गुरुङका पोस्ट र ग्राफिक्समा ‘द काउन्सिल अफ जेनजी’ को लोगो प्रयोग भएको छ, जसका संयोजक उनी स्वयं हुन् । तर उनले गरिरहेको यो गतिविधिलाई लिएर सोही समूहका प्रदेश संयोजकहरू सहमत छैनन् । ती संयोजकहरूसँग कुरा गर्दा यस विषयमा समन्वय पनि नभएको देखिएको छ ।
द काउन्सिल अफ जेनजीको लोगो नै प्रयोग गरेर गुरुङले निरन्तर गृहमन्त्रीको राजीनामा माग्दै पोस्ट गरेपछि अनलाइनखबरले केही प्रदेश संयोजकसँग कुरा गर्यो । उनीहरूले त्यसबारे आफूहरूलाई थाहा नभएको बताए । गृहमन्त्रीको काम माग्ने समयमा राजीनामा किन मागिएको हो आफूहरूले नबुझेको उनीहरूको भनाइ छ ।
‘लोगो प्रयोग भएको विषय त थाहा भएन । यसबारे सल्लाह गरेर थप कुरा भनौँला । अहिलेसम्म हामीसँग छलफल भएको छैन,’ मधेश प्रदेश संयोजक शिव यादवले भने ।
त्यस्तै, अर्का एक प्रदेश संयोजकले आफूहरू सुदन गुरुङकै कारण अप्ठ्यारोमा परेको बताए । उनका अनुसार गुरुङले आफ्नै सुरले आफूअनुकूल निर्णय गरिरहेकोमा प्रदेश संयोजकहरू असन्तुष्ट छन् ।
‘हामी त अप्ठ्यारोमा पर्यौं नि ! उहाँले कहाँ, कतिबेला, के हालिदिनुहुन्छ । बाहिर बोल्नै गाह्रो हुने अवस्था बनिसक्यो,’ ती प्रदेश संयोजकले भने, ‘यद्यपि, यस विषयमा हामी सल्लाह गरेर साझा धारणा बनाउने प्रयत्न गर्छौं ।’
उसो भए द काउन्सिल अफ जेनजी भित्र तिक्तता बढेको हो त ? कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङले आफूहरू भित्र केही कुरामा विमति रहे पनि समग्रमा त्यस्तो नभएको बताए । उनका अनुसार गृहमन्त्रीको राजीनामा माग्ने विषय बाहेकमा यो समूह सँगै छ, कुनै तिक्तता छैन ।
‘अहिले गृहमन्त्रीको राजीनामा माग्ने समय होइन । बरु काम गर्नको लागि दबाब दिने हो । अहिले हामीले राजीनामा मागेका छैनौँ । राजीनामाको विषय उहाँ (सुदन गुरुङ) को व्यक्तिगत कुरा हो, समूहको हैन,’ चाम्लिङले भने ।
यसबारे थप बुझ्न हामीले उनी निकट जेनजी अगुवा अनिल बानियाँलाई सोध्यौँ । बानियाँका अनुसार गृहमन्त्रीको राजीनामा माग्नुपर्ने समय आएको गुरुङको बुझाइ छ । २३ भदौको घटनामा तत्कालीन सत्ता प्रमुखलगायत सम्बन्धितलाई कुनै कारबाही नगरिएको, सोधपुछ नगरिएकोमा गुरुङ असन्तुष्ट छन् ।
‘त्यत्रो नरसंहार भएको विषयमा सरकार बोल्दैन । गृहमन्त्रीले एक्सन लिन सक्नुभएको देखिएन । अनि राजीनामा नमागेर के गर्ने त ? उसमाथि हिजो सिमरामा हाम्रा साथीहरूमाथि पार्टी कार्यकर्ताले हातपात गरे, यसमा पनि सरकार चुकेको, डराएको देखियो,’ बानियाँले भने, ‘त्यही भएर नै दाइले (सुदन गुरुङ) आक्रामक भएर पोस्ट गर्नुभएको हो । यदि सहज ढंगले राजीनामा नआए हामीले फेरि आन्दोलन पनि गर्न सक्छौँ ।’
हिजो गृहमन्त्री र प्रधानमन्त्री सडकमा हुँदाका अभिव्यक्ति सम्झिँदै बानियाँले थपे, ‘हिजो उहाँहरू आफैँ सडकमा हुँदा बच्चाहरू मार्नेलाई कारबाही हुनुपर्छ भन्ने । तर सत्तामा पुगेपछि आफैँ काम नगर्ने, उल्टै हाम्रै साथीहरूमाथि आक्रमण हुन थालेपछि दाइका पोस्टहरू आइरहेको हो ।’
यसबारे गुरुङसँग थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रधानमन्त्रीका विश्वास पात्र गृहमन्त्री
यसरी बाहिरबाट विभिन्न खाले दबाब आए पनि प्रधानमन्त्री सुशीला कार्की भने गृहमन्त्रीप्रति सन्तुष्ट रहेको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ ।
स्रोतका अनुसार प्रधानमन्त्री गृहमन्त्रीको कामलाई लिएर सन्तुष्ट रहेकोले बाहिरी दबाबले फरक पार्ने छैन । बरु यही टिमलाई थप मजबुत गराएर जसरी पनि चुनाव गराउनेमा प्रधानमन्त्रीको ध्यान छ ।
‘हामीले प्रधानमन्त्रीको आत्मविश्वास घटेको देखेका छैनौँ । बाहिरबाट त अनेकखाले दबाब आउँछन् । मुख्यतः प्रधानमन्त्री आफ्नो गृहमन्त्रीलाई लिएर कति सन्तुष्ट हुनुभएको छ भन्ने कुरा महत्त्वपूर्ण हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘दुई महिनाअघिको सुरक्षा संयन्त्र र आजमा धेरै सकारात्मक परिवर्तन छ । यसले उहाँ ढुक्क हुनुहुन्छ । गृहमन्त्रीले कुनै गल्ती गरे एउटा कुरा, नत्र बाहिरी दबाबको भरमा उहाँमाथि कुनै निर्णय लिने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्न ।’
प्रतिक्रिया 4