Comments Add Comment

घुन्सा आयोगको सिफारिस कति कार्यान्वयन भयो ?

१६ फागुन, काठमाडौं । हरेक हवाई दुर्घटनापछि सरकारले नछुटाउने एउटा काम हो, छानविन आयोग गठन । पछिल्लो समयमा जतिवटा विमान तथा हेलिकोप्टर दुर्घटना भएका छन्, सबैको छानविन आयोग बनाएको छ ।

सबै आयोगले सरकारलाई प्रतिवेदन पनि बुझाएको छ । प्रतिवेदनमा दुर्घटनाको कारण मात्र खोजी हुँदैन, आगामी दिनमा दुर्घटना नहोस् भनेर अपनाउने पर्ने सावधानीसमेत सिफारिस गरिएको हुन्छ । तर, त्यस्ता सिफारिस कति कार्यान्वयन हुन्छ ? कि मन्त्रालयमा ढड्डामा मात्र थन्किएको छ ?

१२ वर्षअघि ताप्जेलुङको घुन्सामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित विशष्ट व्यक्तिहरुको मृत्यु हुने गरी भएको दुर्घटनाबारे छानविन गर्न बनेको आयोगका अध्यक्ष केशरीराज पण्डित भन्छन्, ‘कसैलाई दोष दिन खोजेको होइन, तर त्योबेलामा आयोगले गरेको सिफारिस कार्यान्वयन भएको भए त्यही प्रकृतिको दुर्घटना दोहोरिँदैनथ्यो जस्तो लाग्छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन हुने गरी बुधबार भएको दुर्घटनाको प्रारम्भिक अनुसन्धान हेर्दा ०६३ सालमा भएको घुन्सा दुर्घटनासँग मिल्दोजुल्दो देखिएको जानकारहरू बताउँछन् ।

गृह मन्त्रालयले बुधबार दुर्घटनाको कारण खराब मौसम भएको प्रतिक्रिया दिएको छ । ७ असोज ०६३ मा भएको घुन्सा दुर्घटनाका बेला पनि मौसम अनुकुल थिएन । दुबै दुर्घटना हुँदा सिमसिमे पानी र हिउँ परिरहेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार घुन्सा दुर्घटनाका बेला जस्तै बुधबार पनि बादल लागेकाले ‘भिजिबिलिटी क्लियर’ थिएन ।

के थियो घुन्सा जाँचबुझ आयोगको सिफारिस ?

१८ मंसिर २०६३ मा तत्कालिन पर्यटनमन्त्री प्रदीप ज्ञवालीलाई बुझाएको प्रतिवेदनमा घुन्सा दुर्घटनाका प्रमुख चारवटा कारण आंैल्याएको थियो, स्थानीय मौसमको विश्लेषण नगरी खराब मौसममा उडान भर्नु, वर्षाको समयमा ताप्लेजुङको भूगोलमा कसरी उडान भर्ने भन्ने विषयमा पाइलट अनभिज्ञ हुनु, हेलिकोप्टरले उचाई लिए अनुसार पाइलटले गति कायम गर्न नसक्नु र हाईअल्टिच्यूडमा उडान भर्न आवश्यक सावधानी पर्याप्त मात्रामा नअपाउनु ।

आयोगले नागरिक उड्डयन प्राधिकरण, श्री एअरलाईन्स, पर्यटन मन्त्रालय र सम्वद्ध पक्षलाई छु्ट्टाछुट्टै सुझाव दिएको थियो । प्राधिकरणले गर्नुपर्ने काममा पाइलटलाई रिफ्रेसर तालिम दिए नदिएको, दिएको भए त्यो प्रभावकारी भए नभएको सुनिश्चित गर्न, विगतमा भएका गम्भिर दुर्घटना अध्ययन रिर्पोटअनुसार सावधानी अपनाउनुपर्ने लगायत ६ वटा सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई नागरिक उड्डयन (दुर्घटना अनुसन्धान) नियमावली, २०२४ लाई संशोधन गर्नुपर्ने, हेलिकप्टरको सुरक्षासम्बन्धी राष्ट्रिय नीति बनाउनुपर्ने लगायत ६ बुँदे सुझाव दिएको थियो ।

तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको घुन्सा दुर्घटनामा श्री एयरलाइन्स प्रालिको ९ए–एएचजे एमआई–८ हेलिकप्टर परेको थियो । आयोगले एयरलाईन्सलाई पनि स्ट्यान्डर्ड अपरेसन प्रोसेड्युर (एसओपी) पालना गर्नुपर्ने लगायत १० बुँदे सिफारिस गरेको थियो ।

तत्कालीन जाँचबुझ आयोगका अध्यक्ष पण्डितले अनलाइनखबरसँग भने, ‘बुधबार भएको दुर्घटनामा घुन्सा दुर्घटनाकै कतिपय गल्ती दोहोरिएको देख्दा अझै दुःख लागेको छ । मैले कसैलाई दोष दिन खोजेको होइन तर, त्यतिबेला हामीले दिएको सुझाव कार्यान्वयन भएको भए दुर्घटना हुँदैनथ्यो कि ?’

मन्त्रालय भन्छ : मानवीय त्रुटी बढी

तालुकदार पर्यटन मन्त्रालयका अधिकारीहरु भने हवाई दुर्घटनापछि बनेका आयोगहरुले दिएका अधिकांश सिफारिस कार्यान्वयन भएको दाबी गर्छन् ।

नागरिक उड्डयन प्राधिकरण गठनहुनुपर्व हवाई विभागले नै यस्तो आयोगहरु बनाउँथ्यो । प्राधिकरण गठन भएपछि २०५६÷५७ सालपछि मन्त्रालयले आयोग बनाएको छ र अपवाद बाहेक सबै आयोगले रिपोर्ट बुझाएको छ । मन्त्रालयका सहसचिव सुरेश आचार्य भन्छन्, ‘हरेक आयोगले रिपोर्ट बुझाएपछि सम्बन्धित विमान निर्माता कम्पनी र सञ्चालक कम्पनीसँग परामर्श गरेर अन्तिम रुप दिन्छौं र कार्यान्वयन गर्ने गरेका छौं ।’

उनका अनुसार हवाई दुर्घटनाबारे विभिन्न आयोगले बुझाएको रिपोर्ट कार्यान्वयन अवस्थाबारे हालै मात्र नागरिक उड्डयन प्राधिकरणलाई सोधिएको थियो । ७० प्रतिशत सिफारिस कार्यान्वयन भएको लिखित जवाफ आएको छ ।

सहसचिव आचार्य भन्छन्, ‘नेपालमा भएका धेरै हवाई दुर्घटनामा मानवीय कमजोरी देखिन्छ । इन्जिनमा खराबी भएका भएका दुर्घटना एकदमै कम छन् ।’

उनका अनुसार नेपालमा आँखाले हेरेर भिजिविलिटी छ भने उडान गर्ने गरिन्छ । तर, धेरै दुर्घटनामा विमान चालक थाकेको, वादलमा छिरेर अलमलिएको, आकस्मिक रुपमा सुरक्षित अवतरण गर्न सही निर्णय लिन नसकेको जस्ता समस्या देखिएको छ । आचार्य भन्छन्, ‘हरेक दुर्घटनापछि आयोग बन्छ र पाइलटलाई दोषी देखाइन्छ भनिन्छ, त्यसो होइन । हरेक आयोगमा पाइलट राखिएको हुन्छ र दुर्घटनाको कारण प्राविधिकभन्दा मानवीय नै हुन्छ ।’

जाँचबुझ आयोगका अध्यक्ष पण्डितको भनाइ जस्ताको त्यस्तै

पर्यटन मन्त्री अधिकारीसहित सातजनाको निधन भएको घटनाले स्तब्ध छु । अरुकोभन्दा मेरो फरक अनुभूति के छ भने बाह्र वर्ष पहिले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको छानविन मेरै नेतृत्वमा भएको थियो । सिंगो देश शोकमा परेका बेला मलाई पनि त्यो दुर्घटना नभई दिए हुन्थ्यो जस्तो लागिरहेको छ । नहुनु भइसक्यो, तर भविष्यमा यस्तो दुर्घटना नहोस् भन्नका लागि तितो बोल्न बाध्य भएको छु ।

। त्यतिबेला पनि अहिले जस्तै मौसमी गडबडी थियो । दुबै दुर्घंटनामा हेलिकप्टर पहाडमा ठोकिएको छ । उडेको एक मिनेटमै दुर्घटना भएको भनिएको छ । यदि यो सत्य हो भने उचाई लिने क्रममै कमीकमजोरी भएको हुन सक्छ ।

हामीले पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सम्बन्धित एयरलाइन्सलाई छुट्टाछुट्टै सुझाव दिएका थियौं । हेलिकप्टर मात्रै होइन, जुनसुकै दुर्घटनापछि गठन हुने आयोग वा समितिको सुझावलाई सम्बन्धित पक्षले गम्भिरतापूर्वक पालना गर्नुपर्दछ । ता कि उस्तै गल्तीले अर्को दुर्घटना नहोस् ।

मेरो नेतृत्वको आयोगका सदस्य सचिव यज्ञप्रसाद गौतम र क्याप्टेन प्रमोद लामा सरकारले हिजो गठन गरेको छानविन समितमा पनि हुनुहुन्छ । त्यो आयोगको प्रतिवेदनलाई उहाँहरूले सन्दर्भ सामग्रीको रुपमा उपयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment