Comments Add Comment

मन्त्री अधिकारीको निधनमा दुबै सदनबाट शोक प्रस्ताव पारित

१७ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको निधनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेका छन ।

शुक्रबार बसेको दुबै सदनको छुट्टाछुट्टै बैठकले मन्त्री अधिकारीको निधनमा सर्वसम्मत रुपमा शोक प्रस्ताव गरेको हो ।

बैठकको प्रारम्भमै प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेका थिए भने राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

शोक प्रस्तावमा भनिएको छ, ‘लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताको पक्षमा अनवरत रुपमा लाग्नु भएका विकासप्रमेमी जनप्रिय नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको ४९ वर्षको उमेरमा हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ ।’

बैठकले मन्त्री अधिकारीको आत्माको चीरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ । मन्त्री अधिकारीको आत्माको चीरशान्तिको कामना गर्दै सांसदहरुले पनि एक मिनेट मौन धारण गरे ।

मन्त्री अधिकारी ०६० र ०७० सालको संविधानसभा र ०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी व्यवस्थापिका संसदको विकास समितिका पूर्व सभापति समेत हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक शनिवार दिउँसो १ बजे र राष्ट्रिय सभाको अर्को बैठक आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment