 
																			केही बर्ष अगाडि संकटकाल लाग्न ठिक्क परेको चलचित्र क्षेत्रको तलाउबाट विचमै अल्झिएको डुंगालाई उतार्ने निर्देशक थिए, निश्चल बस्नेत । संकटकाल लाग्न ठिक्क परेको चलचित्र क्षेत्रले निश्चलको ‘लुट’ पायो र आफ्नो गतीलाई फेरि चलायमान बनायो ।
‘लुट, टलकजंग भर्सेस टुल्के हुँदै लुट २’ सम्म आइपुग्दा निश्चल बस्नेतमाथि चलचित्र क्षेत्रको आड र भरोसा टिकिरह्यो । तर, निश्चलको दिमागमा भने यसको दबाब दिनप्रतिदिन बढिरहेको थियो । ‘लुट’ बनाउँदा निश्चललाई नेपाली चलचित्र क्षेत्र हाक्ने ड्राइभरको रुपमा नहेरिएको होइन । तर, शुक्रबार मुलपानीमा रहेको नर्लिङ रिसोर्टमा अनलाइनखबरको टिम पुग्दा, निश्चलको परिचय फेरिदै गएको स्पष्ट देखिन्थ्यो । उनी, निर्देशकको रुपमा एक्सन कटमा रमाएका थिएनन्, बरु चलचित्र ‘जात्रै जात्रा’मा समावेश गर्न लागिएको ‘एक एक जोडे दुई’ बोलको गीतमा अहिलेकी उदाउँदी नायिका सारा सिर्पालीलाई जोडी बनाएर कम्मर मर्काइरहेका थिए । नेपाली चलचित्रको ड्राइभर बन्ने दौडमा लागेका निश्चल, कुनै एक निर्देशकको चलचित्रको एउटा गीतमा अतिथी डान्सरको रुपमा नृत्य गर्दै थिए । हुनत, पछिल्लो केही समययता निश्चललाई निर्देशक कम आइटम डान्सर बढी भन्न थालिएको छ ।
नृत्य गर्दै गर्दा सुस्ताएका निश्चललाई अनलाइनखबरका लागि दिप्सन लुइटेलको पहिलो प्रश्न थियो–‘के तपाई अब यसरी नै चलचित्रको गीतमा आइटम नृत्य गरेरै रमाउने हो ?’ यो प्रश्नमा निश्चलले भने–‘म अहिले चुप लागेर बसेको नै छैन । मेरो दिमागमा मैले के गर्ने भन्ने कुरा आइसकेको छ । तर, आयो भन्दैमा हतार गर्न पनि हुँदैन । त्यसलाई कथामा ढालेर राम्रो चलचित्र बनाउन समय लाग्छ । मलाई निर्देशन गर्न हतारो नै छैन ।’
चलचित्र क्षेत्रलाई नै नयाँ दिशा दिने निश्चल आइटम गीतमा रमाउँदा चलचित्र क्षेत्र खुशी छैन । तर, निश्चल भने यो कुरा स्विकार गर्न तयार छैनन् । उनले अगाडि थपे–‘एउटा गीत गाउन र त्यसको भिडियो गर्न बढीमा एक साता लाग्छ । अब भन्नुहोस्, मैले आजसम्म कतिवटा आइटम गीतमा नृत्य गरेँ होला ? यसले मलाई असर गरेको छ जस्तो मलाई लाग्दैनँ । मैले गरेका गीतबाट मलाई घाटा भने भएको छैन ।’
निश्चलले चलचित्रमा अभिनय पनि गरिरहेका छन् । चलचित्रमा काम गर्दा के तपाइको नयाँ चलचित्र निर्देशनको तयारीमा कुनै असर गर्दैन ? यो प्रश्नमा घोत्लिएका निश्चल भन्छन्–‘मैले राम्रो चलचित्रमा मात्र काम गरिरहेको छु । अफर आएका सबै चलचित्रमा मैले काम गरेको भए, आधा दर्जन भन्दा बढी चलचित्र बजारमा आइसक्थे ।’
चलचित्रमा काम गर्नुमा उनको अर्को स्वार्थ जोडिएको छ । ‘मैले चलचित्रमा काम गर्नुको एउटा मुख्य कारण भनेको निर्देशकको काम गर्ने तरिका बुझ्न पनि हो’, निश्चलले भने, ‘अर्को निर्देशकको सेटमा पुगेर काम गर्दा उहाँले काम गर्ने तरिकालाई बुझ्न पाउछु । त्यसले मलाई फाइदा नै पुगेको हुन्छ ।’, निश्चल सुनिए ।
निश्चलले चलचित्रको निर्देशन नगर्नुको कारण राम्रो कथा नपाउनुलाई नै दोष दिएका छन् । उनले भने–‘चलचित्र राम्रो बन्ने भनेको कथा राम्रो भएर नै हो । सबैभन्दा बढी मिहिनेत गर्नुपर्ने पनि त्यसैमा हो । म नेलेखी बसेको पनि छैन । लेखेको कुरा चित्त नबुझेकाले त्यसलाई राम्रो गर्न अझै मिहिनेत गरिरहेको छु ।’
निश्चलले अरु कसैले राम्रो कथा दिएको खण्डमा पनि आफूले काम गर्ने बताए । तर, अहिलेसम्म आफ्नो मन छुने कथा कसैले नदिएको उनको दुखेसो छ । उनी भन्छन्–‘अहिले रिलिज भैरहेको जस्तो चलचित्र बनाउने हो भने त वर्षमा एउटा निर्देशन गर्न गाह्रो छैन । तर, मलाई अहिलेको जस्तो चलचित्र निर्देशन गर्ने मन अलिकति पनि छैन ।’
निश्चललाई निर्देशन गर्न डराएको भन्नेहरुको जमात पनि ठुलै छ । यस कुरालाई निश्चल स्विकार गर्छन् । उनी भन्छन्–‘मलाई डराएको भन्नुहुन्छ भने म यो कुरालाई मान्न तयार छु । हो, म डराएको पनि छु । सफलता र असफलता दुबै बुझेको म नडराउने भन्ने त कुरै छैन नि ।’ निश्चल पहिला भोगेको असफलतालाई आफूले फेरि दोहोर्याउन नचाहेको स्विकार गर्छन् ।
निश्चललाई फेरि पनि ‘जात्रै जात्रा’को गीतका लागि टेक दिनुथियो । उनलाई अनलाइनखबरको अन्तिम प्रश्न थियो–‘तपाई निर्देशक कि कलाकार कि आइटम ब्वाई ?’ यसमा निश्चलले हाँस्दै जवाफ फर्काए–‘निर्देशक बन्ने सोच बोकेर आएको छु । पक्कै पनि निर्देशक नै हुँ । निर्देशक बन्नको लागि नै संघर्ष गरिरहेको छु ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4