Comments Add Comment

किन हुन्छ बालबालिकालाई बारम्बार संक्रमण ?

बालबालिकालाई बारम्वार हुने संक्रमणले थुप्रै अभिभावकहरुलाई चिन्तित बनाउने गर्दछ । बालबालिकालाई हुने प्रमुख स्वास्थ्य समस्या मध्येमा पर्दछ संक्रमण । यसरी बारम्बार संक्रमण हुने बालबालिकाहरु मध्ये धेरैको रोगसँग लड्न सक्ने क्षमता सामान्य हुने भएपनि कुनै–कुनै बालबालिकामा दीर्घ रोग वा रोगसँग लड्न सक्ने क्षमताको कमी भएको हुनसक्छ जसको उचित निदान, उपचार आवश्यक हुन्छ ।

संक्रमण किन हुन्छ ?

सामान्यता स्वस्थ बालबालिकालाई पनि जन्मेको केही वर्षसम्म वर्षको ८ देखि १० पटकसम्म माथिल्लो श्वासप्रश्वास नलीको संक्रमण हुनसक्छ । र हरेक संक्रमण पूर्ण रुपमा निको हुन दुईदेखि तीन हप्तासम्म लाग्न सक्छ । यसरी हेर्दा स्वस्थ बच्चा पनि वर्षमा धेरै महिना बिरामी नै हुन सक्ने देखिन्छ ।

यसको प्रमुख कारण भनेको साना बालबालिकामा रोगसँग लड्न सक्ने क्षमताको पूर्ण विकास भैसकेको नहुनु हो । साथै श्वासप्रश्वासको संक्रमण गर्ने किटाणुसँग बारम्वार सम्पर्कमा आउनु हो । त्यसमाथि धुवाँ र धूलोको सम्पर्कमा आउने बालबालिकामा यस्तो संक्रमणको दर बढी हुन्छ ।

बारम्बार संक्रमण हुने बालबालिका चार प्रकारका हुने गर्दछन् ।

१. सामान्य बालबालिका : माथि उल्लेख गरिए अनुसार सामान्य बालबालिकामा बारम्बार संक्रमण भएको खण्डमा बालबालिकाको वृद्धि विकास उमेरअनुसार नै भएको हुन्छ । यस्ता बालबालिका उपचार पश्चात तुरुन्त निको हुनुका साथै संक्रमणको बीचमा स्वस्थ देखिन्छन् । यस्ता बालबालिकामा गरिने स्वास्थ्य परीक्षण तथा ल्याव रिपोर्टमा पनि खराबी देखिँदैन ।

२. एलर्जी भएका बालबालिका : बारम्वार संक्रमण हुने बालवालिकाहरुमध्ये लगभग ३० प्रतिशत बालबालिकामा कुनै न कुनै किसिमको एलर्जी भएको हुन्छ । यस्ता एलर्जीले गर्दा श्वास नलीको भित्री भाग सुन्निने हुँदा सजिलै संक्रमण हुन सक्छ । त्यसैले नाक वा घाँटीको एलर्जीको प्रस्तुती माथिल्लो श्वासनलीको बारम्वारको संक्रमण जस्तो हुन सक्छ भने फोक्सोको एलर्जी दमलाई धेरैपटक न्यूमोनिया भनेर उपचार गरिएको हुन सक्छ ।

३. दीर्घरोग भएका बालबालिका : संक्रमण दोहोरीरहने बालबालिका मध्ये लगभग १० प्रतिशतमा कुनै दीर्घरोग हुनसक्छ । यसमा जन्मजात हुने मुटुको समस्या, फोक्सो वा मिर्गौलाको दीर्घरोग वा अन्य कुनै दीर्घ रोग हुन सक्छ । यस्ता बालबालिकाको विकास औसतभन्दा कम हुनुका साथै दीर्घ रोगका अन्य लक्षणहरु देखिन्छन् ।

४. रोगसँग लड्ने क्षमता कम भएका बालबालिका : बारम्वार संक्रमण हुने बालबालिकामध्ये लगभग १० प्रतिशतमा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । यस्ता समस्या जन्मजात हुने वा पछि देखिने पनि हुन सक्छ । हाम्रो समाजमा बालबालिकामा रोगसँग लड्ने क्षमता नहुनुमा कुपोषण एक प्रमुख कारण हो । साथै मधुमेह, सिकलसेल, कलेजो र मिर्गौलाको दीर्घरोगले पनि बालबालिकाको रोगसँग लड्ने क्षमता कम गर्दछ । यस्ता बालबालिकामा बारम्बार संक्रमण हुनुका साथै संक्रमण गम्भीर प्रकृतिको पनि हुन्छ र निको हुन धेरै समय लाग्छ । यस्ता बालबालिकाको वृद्धि पनि औसतभन्दा कम हुन्छ ।

बालबालिकालाई बारम्वार संक्रमण भएमा के गर्ने ?

· चिकित्सकको सल्लाह अनुसार संक्रमणको उपचार तथा आवश्यक जाँच गर्ने ।

· सामान्य रुघाखोकीमा आफैंले औषधी पसलबाट एन्टिवायोटिक किनेर नखुवाउने । एन्टिवायोटिक चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्ने । वारम्वारको एन्टिवायोटिक सेवनले पनि रोगसँग लड्ने क्षमता कम गर्न सक्छ ।

· निमोनिया दोहोरिएको छ भनेर बारम्वार एन्टिवायोटिक खानुपरेको छ भने कतै फोक्सोको एलर्जी वा दम त होइन भनेर पनि सचेत हुने र चिकित्सकको सल्लाह लिने ।

· धुवाँ धूलोबाट बच्ने र बचाउने, धुमपान सेवन नगर्ने ।

· नियमित खोप लगाउने, दीर्घरोग भएको भए खोपको लागि चिकित्सकको सल्लाह लिने ।

· बालबालिकाको खानपान र वृद्धि विकासमा विशेष ध्यान दिने ।

· बालबालिकाको दीर्घरोगको नियमित जाँच तथा उपचार गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment