Comments Add Comment

नारी दिवसमा नयाँ एजेण्डा–महिला सशक्तिकरणका लागि शारीरिक सुगठन

२० फागुन,काठमाडौं । करिब एक सय १० वर्षअघि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सुरू गर्दा त्यसको उद्धेश्य महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा सशक्तिकरण गर्ने र समान अधिकारको वकालत गर्ने थियो । तर, अब महिला सशक्तिकरणको एउटा युग सकिएको भन्दै शारीरिक रुपमा पनि महिलालाई पुरुष सरह सशक्तिकरण गर्ने भन्दै नेपालमा नयाँ अभियान सुरू भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवससमेत भनिने ८ मार्चको सन्दर्भ पारेर काठमाडौंमा महिलाको शारीरिक सशक्तिकरणका लागि ‘वुमन स्क्वाट’को तयारी पूरा भएको छ । नारी दिवसको अघिल्लो दिन ललितपुरको लबि मलमा महिलाहरुको शारीरिक क्षमता प्रदर्शन गर्न लागिएको हो ।

त्रिपुरेश्वरस्थित ज्यास्मिन फिटनेश क्लबले चार वर्षअघि सुरु गरेको क्लबस्तरीय वुमन स्क्वाटले महिला शारीरिक रुपमा पनि पुरुषभन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको आयोजक निरोज लामाले बताए । यसवर्ष ज्यास्मिनसँगै यो प्रतियोगिता आयोजकमा आइडिया शप इमेन्ट म्यानेजमेन्ट कम्पनी पनि थपिएको छ ।

देशभरका बिभिन्न क्लबमा आबद्ध महिलाहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् । जसले पुरुषले जस्तै तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । ६० केजी तौलभन्दा माथि र सो भन्दा तलका गरि दुई समूहमा प्रतिस्पर्धा हुने ज्यास्मिन फिटनेसका प्रबन्ध निर्देशक समेत रहेका लामाले बताए ।

दुवै समूहका प्रतिस्पर्धीहरुबाट पहिलो दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार राशीका पुरस्कार व्यवस्था गरिएको उनले बताए । परिवार मानिसको पहिलो पाठशाला र आमा बच्चाको पहिलो गुरु हन् भने जस्तै आमा स्वस्थ र सबल भएमात्र परिवार सबल हुने धारणा अनुसार यो प्रतियोगिता सुरू गरिएको उनले बताए ।

नारी दिवसका सन्दर्भमा महिलाको शारीरिक सशक्तिकरण अहिलेसम्म एजेण्डा नबनेकाले आगामी दिनमा यस्ता प्रतियोगिताले त्यसतर्फ बहस सिर्जना गर्न सघाउने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment