
हेलिकप्टर दुर्घटना र नेकपा नेता भरतमोहन अधिकारीको मृत्युमा केन्द्रित रहेर केही दिनदेखि समाचार प्रकाशित गर्दै आएका दैनिक पत्रिकाहरु आजबाट विस्तारै अन्य विषयतर्फ लागेका छन् । केहीले खोजमूलक विषय पस्केका छन् भने कुनैले समसामयिक राजनीतिकलगायत विषय उठाएका छन् ।
शिक्षक प्रदर्शनको तस्वीर प्रकाशित गरेको अन्नपूर्णले केन्द्र र स्थानीय तहको टसलबारे मुख्य समाचार लेखेको छ ।
‘केन्द्रको हस्तक्षेपले स्थानीय तह रुष्ट’ शीर्षक दिएर रामकृष्ण अधिकारी लेख्छन्– कानून निर्माणका क्रममा सरकार संघीयताको मर्मविपरीत जान थालेपछि स्थानीय तह रुष्ट बनेको छ । संविधानले दिएको एकल अधिकार प्रयोगमा सरकारले हस्तक्षेप गरेको आरोप स्थानीय जनप्रतिनिधिले लगाएका छन् ।
समाचार अनुसार स्थानीय सरकारले हस्तक्षेपविरुद्ध कानूनी उपचारको चेतावनीसमेत दिएका छन् ।
राष्ट्रिय सुरक्षानीति–२०७५ को चर्चासँगै वीर अस्पतालको सेवा प्रवाहबारेको सामग्री पनि अन्नपूर्णको पहिलो पृष्ठमा प्रकाशित छ ।
पाथीभरामा जहिल्यै प्रतिकूल उडान हुने गरेको दाबी कान्तिपुरले गरेको छ । राष्ट्रपति प्रधानमन्त्रीलगायत भीआईपीहरु जसरी पनि पाथीभरा मन्दिर पुग्ने र मौसम बिग्रिए पनि पटकपटकको प्रयासमा दर्शन गरेरै फर्कने गरेका छन् । कान्तिपुरले त्यसका केही दृष्टान्तसमेत पेश गर्दै सचेत रहन सुझाएको छ ।
पछिल्लोसमय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पाथीभरा दर्शका लागि पुगेका थिए । मन्दिर परिसरबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना हुँदा उनीसहित ७ जनाको ज्यान गएको थियो ।
राष्ट्रिय सुरक्षा नीति–२०७५ लाई पनि कान्तिपुरले प्राथमिकताका साथ ‘कभरेज’ गरेको छ । कान्तिपुरका अनुसार, नीतिमा देशको सबैभन्दा ठूलो सुरक्षा खतरा नाकाबन्दीलाई औंल्याइएको छ ।
कान्तिपुर लेख्छ– राष्ट्रिय सुरक्षालाई सीमा सुरक्षामा मात्रै सीमित नगरी जनताको पनि सुरक्षा, लोकतन्त्र, विधिको शासन र मानव अधिकारको रक्षा पनि यसैअन्तर्गत रहनुपर्ने उल्लेख छ । ‘भारतीय नाकाबन्दीको असरले आमसर्वसाधारण आहत भउको र त्यस्तो स्थिति फेरि आइलागे त्यो नै मुलुकको ठूलो सुरक्षा खतरा हुने प्रतिवेदनमा औंल्याइएको छ’, स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ ।
प्रविधिको विकासले कृषिकर्म सहज बन्दै गए पनि गोरखामा भने अझै मानिस गोरीजसरी जोतिने गरेकोलाई कान्तिपुरले एंकर बनाएको छ । धार्चे गाउँपालिका–४ ,लाप्राकमा अझै पनि मानिस नारिएर खेतबारी जोत्ने गरिएको हो ।
कान्तिपुरले आफ्नो खबरमा लेखेको छ– वर्षभरि खाने अन्न उब्जाउन यहाँका स्थानीयलाई थाप्लामा नाम्लो अड्याएर हलो तान्नु बाध्यता हो । मकै रोप्ने सिजन सुरु भएसँगै स्कुले विद्यार्थी पनि साँझ–बिहान हलो तानेर बाबुआमालाई सघाउँछन् ।
नागरिकले विप्लव नेतृत्वको नेकपाको सक्रियताबारे सरोकार राखेको छ । समाचार अनुसार, यो समूहका नेता संगठन निर्माणमा सक्रिय बनिरहेका छन् । विप्लवलगायतका नेता पार्टी निर्माणमा व्यस्त बनिरहेका बेला प्रहरी भने पक्राउ आदेशको पर्खाइमा रहेको समाचारको सार छ ।
साहित्य लेखनमा गर्दा विचार पुर्याएर शब्द खेलाउन सर्वोच्चले दिएको आदेशलाई पनि नागरिकले निकै महत्त्व दिएर आज छापेको छ ।
गोरखापत्रले कर्मचारी समायोजनामा अधिकांशले संघ रोजेको लेखेको छ भने राजधानीले विदेशस्थित नियोगका कर्मचारीले कर नतिर्ने गरेको खुलासा गरेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया 4