Comments Add Comment

भारतीय सामान आयातमा भन्सार छुट रोक्ने ट्रम्पको चेतावनी

Photo Credit : AP

२१ फागुन, काठमाडौं । छिमेकी पाकिस्तानसँग तनाव झेलिरहेको भारतलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झट्का दिएका छन् । यद्यपि, यो भारत-पाक तनावसँग सम्वन्धित विषय भने होइन ।

राष्ट्रपति ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको कडा आलोचना गरेका छन् । उनले भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा रोक लगाउने समेत घोषणा गरे । भारतले अमेरिकाका सामानहरुको आयातमा उच्च भन्सार लगाउने गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।

अमेरिकी कंग्रेसलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘भारत सरकारसँग धेरै लामो कुराकानीपछि म यो कदम उठाइरहेको छु । किनकी भारतले अहिलेसम्म अमेरिकालाई आफ्नो बजारमा सहज पहुँच दिने आश्वासन दिएको छैन ।’

सन् १९७० मा अमेरिकाले विशेष आयात नीति बनाएको थियो । यस अन्तरगत अमेरिकामा भारत र टर्कीलाई विकासशील देशका रुपमा विशेष ग्राह्यता दिइएको थियो ।

समाचार एजेन्सी रोयटर्सका यस नीति अनुसार भारतको ५.६ अर्ब डलरको सामान अमेरिकी बजारमा बिना आयात शुल्क प्रवेश हुन्छ । जबकी अमेरिकाबाट आयात हुने सामानमा भारतले अत्यधिक आयात शुल्क लगाउँदै आएको छ । यसैमा ट्रम्पको असन्तुष्टि हो । उनी अमेरिकाको व्यापार घाटा कम गर्न चाहन्छन् । भारतले लगाइरहेको आयात शुल्क अनुचित रहेको उनको निश्कर्ष छ ।

‘भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई न्यायसंगत र उचित पहुँच दिनुपर्छ, तर भारतले दिएको छैन,’ ट्रम्पले पत्रमा भनेका छन् ।

राष्ट्रपति ट्रम्पको प्रस्ताव कंग्रेसले पारित गरेमा ६० दिनपछि लागू हुने छ । यसबाट भारतीय वैदेशिक व्यापारमा ठूलो चोट लाग्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

तर, भारतीय वाणिज्य मन्त्रालयका सचिव अनुप धवनले भने अमेरिकाको बिशेष ग्राह्यता हट्दैमा भारतीय अर्थव्यवस्थामा ठूलो असर नपर्ने दावी गरे । उनको भनाइमा यसले १९ करोड डलरसम्म मात्रै हानी हुनेछ ।

धवनले भने, ‘अमेरिकासँग हाम्रो व्यापारिक सम्वन्ध बिगि्रने छैन । दुवै देशबीच व्यापारिक मुद्दाहरुमा कुराकानी जारी रहनेछ । अमेरिकी उत्पादनमा भारतले लगाएको आयात शुल्क विश्व व्यापार संगठनको निर्धारित सीमाभित्रै छ ।’

उनले थपे, ‘हामी केही अमेरिकी उत्पादनलाई भारतीय बजारमा सशर्त पहुँच दिनलाई तयार छौं । यसमा अमेरिकी कृषि तथा डेरीसँग सम्वन्धित सामानहरु छन् । हामी आईटी र मेडिकल उत्पादनहरुमा पनि भन्सार घटाउन तयार छौं । तर, दुर्भाग्यवस हामीबीच समझदारी बन्न सकिरहेको छैन ।’

सन् २०१७ मा भारतसँग अमेरिकी सामान र सेवाको व्यापार घाटा २७.३ अर्ब डलर थियो । अमेरिकाले दिएको भन्साररहित सुविधाको सर्वाधिक उपभोग गर्ने राष्ट्र भारत हो । पाकिस्तानसँगको तनावमा अमेरिकी समर्थन खोजिरहेको भारतका लागि ट्रम्पको पछिल्लो कदम अपि्रय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment