+
+

जनप्रतिनिधि भन्छन्– महिलाले नेतृत्व गरेको उपभोक्ता समितिको काम उम्दा

रामहरि ओझा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते ८:५९

२१ फागुन, डोटी । महिला नेतृत्व पाएको उपभोक्ता समितिको काम उम्दा भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

डोटीमा आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले उपभोक्ता समितिमा महिला नेतृत्व प्रभावकारी देखिएकाले ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरे ।

दीपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले महिलाले नेतृत्व गरेको उपभोक्ता समितिले पुरुषको भन्दा राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

‘हाम्रो समाजमा महिलाहरुले राम्रो काम गर्न सक्दैनन् भन्ने भ्रम छ’, खड्काले भने, ‘तर महिलाहरुले नेतृत्व गरेको उपभोक्ता समितिले पुरुषको भन्दा राम्रो काम गरेको पाएको छु ।’

खड्काको जस्तै अनुभव छ डोटी बडीकेदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा वोहराको पनि । महिलाहरुले इमानदारीपूर्वक काम गर्छन भन्ने कुराको प्रमाण महिलाले नेतृत्व गरेका उपभोक्ता समिति भएको उनले बताइन् । उनले महिलाहरुको नेतृत्व विकास गरेर थप राम्रो काम गर्दै जानुपर्ने आवश्यकता पनि औंल्याइन् ।

उपभोक्ता समिति अध्यक्ष महिला भएको योजनामा राम्रो काम भएको स्वीकार्छन्, बडीकेदार गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिसागर बिनाडी । ‘हाम्रो वडामा पनि एक÷दुई वटा योजनामा महिला अध्यक्ष हुनुहुन्छ’, वडाध्यक्ष बिनाडीले भने, ‘अन्य योजनाभन्दा महिलाले नेतृत्व गरेकोमा छिटो काम भइरहेको छ ।’

कैलारी गाउँपालिका, कैलालीकी उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले त महिलाहरुलाई उपभोक्ता समितिमा आउन आग्रह नै गरिन् । महिलाहरुको काम नतिजामुखी भएकाले नेतृत्व क्षमता बढाउन गाउँपालिकाले विविध कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

उपभोक्ता समितिमा मात्रै नभएर अन्य सामाजिक संघ–संस्थाहरुमा पनि महिला सहभागिता तथा नेतृत्व आवश्यक भएको उनले बताइन् ।

कैलालीको भजनी नगरपालिका–३ का वडाध्यक्ष बिक्रम चौधरी पनि महिलाहरु उपभोक्ता समितिमा भए राम्रो काम हुने आफ्नो अनुभव रहेको सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?