
बाहिरबाट हेर्दा ईज्जतदार, सबैले मानेको तर महिला हिंसा गर्ने पुरुषको मुखटा हटाउने काम मीटु अभियानले गर्यो । प्रतिष्ठित भनिएका व्यक्तिले कसरी जागिरको प्रलोभन देखाएर, सहयोग गरेजस्तो गरेर महिला हिंसा गर्छन् भन्ने कुरा यो अभियानले बाहिर ल्यायो ।
सरिफ पनि देखिनुपर्ने, तर नचाहिने काम गर्नेको विरुद्धमा महिलाहरू बोल्दैनथे । पीडकद्वारा महिलालाई यो घटना सार्वजनिक गरिस् भने पनि मेरो के जान्छ ? यो कुरा बाहिर ल्याइस् भने तेरै बेइज्जत हुन्छ भनिथ्यो । अर्कोतिर समाजले पनि हिंसा परेकी महिलालाई नै दोषी ठान्थे । तै उच्छृंखल नभए समाजले किन हमला गथ्र्यो भन्ने गरिन्थ्यो । जसले गर्दा आफूमाथिको हिंसा धेरै महिलाहरूले सहे ।
तर, मीटु अभियान चलेपछि उनीहरुले म पनि प्रताडीत हुँ भन्न थाले । मैले पनि हिंसा सहेकी हुँ, मलाई पनि फलानाले यसरी हिंसा गरे भनेर आउन थाले । यो अभियान आएपछि बाहिरबाट हेर्दा राम्रो भनिने मान्छे कति खराब रहेछ भन्ने सार्वजनिक हुन थाल्यो ।
भारतमा महिला हिंसा गर्ने कलाकारले चलचित्र पाउन छाडे । महिलाहरूले निकै ठूलो हिम्मत गरेर यस्तो कुरा बाहिर ल्याएका थिए । नेपालमै पनि यस्तै थुप्रै घटना सार्वजनिक भए । छद्मभेषीहरूको वास्तविकता सार्वजनिक हुन थाल्यो । मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आयो ।
त्योभन्दा पनि महत्वपूर्ण कुरा, पीडितलाई समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आयो । आवाज उठाउँदा पीडितको बेइज्जत त हुँदो रहेनछ भन्ने स्थापित भयो । यसबाट मेरो दिमागमा के कुरा आयो भने आखिर आफूमाथि भएको हिंसाको कुरा लुकाउन हुँदो रहेनछ ।
भ्रष्टाचारले मुलुक ध्वस्त भइसक्यो
भ्रष्टाचारको सीमा नै छैन । कार्यालय सहयोगीले पनि यहाँको फाइल त्यहाँ पुर्याउन भ्रष्टाचार गरिरहेका छन् । भलै त्यो रकम सामान्य किन नहोस् । हरेक पदमा बस्ने मान्छेले भ्रष्टाचार गर्ने ठाउँ खोज्न थाले । नखाने ठाउँ नै भएन । जबकि उनीहरूले तलब पाइरहेका छन् । विभिन्न सेवा सुविधा लिइरहेका छन् ।
मेरो जग्गाको कामले डिल्लीबजार मालपोतमा गएकी थिएँ । एकजना बुढीमान्छेको जग्गा रहेछ । उनले आफ्नो जग्गा बेचिनन् भनेर मालपोतका कर्मचारीले ‘हस्ताक्षर गराउन त्यो बुढीलाई पछारेर ल्याओ’ पो भनिरहेका थिए । उनीहरूको कुरा सुनिरहेँ, मलाई चिनेनन् ।
त्यहीँ अर्को के देखेँ भने दुर्गम जिल्लाबाट आएका मान्छेलाई पैसा खानकै लागि हप्ता–हप्तामा दौडाइरहने गर्दा रहेछन् । थाकेर जबसम्म पैसा दिँदैनन्, तबसम्म काम नगरिदिने । पटक–पटक धाउनुभन्दा घुस दिन बाध्य हुन्छन् । यस्ता कुरा सबैले भनिदिने हो भने उनीहरूलाई गाह्रो हुन्छ । भ्रष्टाचार गर्नेहरू पाँच–दश प्रतिशत होलान् । पीडित जनता ठूलो संख्यामा छन् ।
हिजो मात्रै एकजना उच्च अधिकारीले आफ्नो काम गराउँदा पैसा दिएँ भन्नुभयो । यो सुन्दा मलाई आश्चार्य लाग्यो । निकै शक्तिशाली पदमा बसेर अवकाश भएका व्यक्तिले घरको कर तिर्न जाँदाखेरि चार÷पाँच दिन लट्याङ–पट्याङ पारिदिएछ । त्यसपछि घुस दिन बाध्य भएछन् ।
भूतपूर्व प्रधानमन्त्रीले नै घुस खुवाउनुपर्ने अवस्था आउनु भनेको सामान्य कुरा होइन । भूतपूर्व प्रधानमन्त्रीलाई नै हाम्रो खर्चपानी कसरी चल्छ पो भन्छ ।
भ्रष्टाचारले मुलुक ध्वस्त भइसक्यो । काठमाडौं उपत्यकाभित्र कसरी प्लटिङ भइरहेको छ । प्रकृतिको कस्तो बिनास छ ? यो भ्रष्टाचार होइन ? यो नदेख्ने को होला ? तर, रोक्ने काम किन हुँदैन ? मसँग पनि पैसा मागेको थियो भन्न सक्नुपर्दछ । अब त उपाय नै छैन । आवाज उठाउँ ।
मान्छेले मान्छेलाई खाँदा पनि चुप लागेर बस्ने ?
महिला हिंसाबाट जस्तै नेपालीहरू भ्रष्टाचारबाट पनि एकदमै प्रताडीत छन् । हेर्नुस् त भ्रष्टाचारका कति ठूला ठूला कुरा आइरहेका छन् । जो भ्रष्टाचार गर्छ उनीहरू नै चोखा, उनीहरू नै आदर्शवान । मानिससँग जवरजस्ती पैसा असुल्नेहरू नै इज्जतदार । दूध, चामल, पानी, इँटा, बालुवा, जमीन, मल, औषधी, शिक्षा, उपचार, सडक, कहाँ छैन भ्रष्टाचार ?
जनताचाहिँ यिनीहरू दिइरहने मात्रै भए । भ्रष्टाचारीहरू कहिले पनि नअघाउने भए । जनतासँग सहनुबाहेक केही उपाय पनि भएन ।
भ्रष्टाचार नहुने हो भने नेपालीलाई खान लाउन केही समस्या हुँदैन । बाहिरबाट आएको सहायतामा पनि भ्रष्टाचार । जनताबाट उठाएको रकममा पनि भ्रष्टाचार । राज्यको साधन स्रोत मुठ्ठीभर मान्छेको कब्जामा छ ।
त्यसैले मेरो कुरा के हो भने कसैले पैसा मागेको छ भने किन लुकाउने ? यसले पैसा माग्यो भनेर भन्न अब हिम्मत गर्न सक्नुपर्यो । अब भ्रष्टाचारका कुरा लुकाउनुभएन ।
कसैका बुबाको मृत्यु हुन्छ । बुबाका नाममा अलिकति जायजेथा छ भने प्रक्रिया पुर्याएर नामसारी गर्नुपर्छ । यस्तो काम गर्नका लागि पनि उसले घुस खुवाउनुपर्छ । गरीबले बाख्रा बेचेर आफ्नो छोराछोरीको आङ ढाक्न लुगा हाल्नुपर्ने, चामल किन्नुपर्ने, औषधी किन्नुपर्ने पैसा सुकिला–मुकिलालाई घुस खुवाउनुपर्छ । गरिबको गास काटेर इमानदार, इज्जतदार भन्नेलाई बुझाउनुपर्छ । गरीबले मरीमरी कमाएको पैसाबाट पालिनुजत्तिको दर्दनाक अवस्था अरु के होला ?
यति साह्रो भ्रष्टाचार हुनु भनेको त मान्छेले मान्छेलाई खाएसरह भयो नि । मान्छेले मान्छेलाई खाँदा पनि चुप लागेर बस्ने ? सहेर बस्ने ? छाती पिटेर भन्न सक्नुपर्छ यसले मसँग पैसा माग्यो भनेर ।
महिला हिंसाविरुद्धको मिटु र भ्रष्टाचारमा समानता के छ भने बाहिरबाट हेर्दा प्रतिष्ठित, इमानदार देखिने मान्छेले नै भित्र–भित्र यो अपराध कर्म गरिरहेका हुन्छन् । कमजोर, गरिबलाई रुवाएको हुन्छ । अलिकति कमजोर मान्छेको जग्गा छ भने खोस्न मालपोत, भूमिसुधार मिल्छ । उस्तै परे बन्दुक तेर्स्याउँछ र आफ्नो नाममा पार्छ । त्यसैले यस्तो अपराध किन लुकाउने ?
पाठकलाई घुस दिनेलाई कारवाही खोई ?
कानूनतः घुस लिने र दिने दुबैलाई सजाय हुन्छ । तर, भ्रष्टाचारीले बाध्य पारेर, जबरजस्ती घुस लिएको छ भने दिनेलाई कारवाही हुनुहुँदैन । तर, घुस दिनेले पनि आफ्नो गल्ती लुकाउन वा कानूनतः गर्न नहुने कामका लागि दिएको हो भने उसलाई पनि कारवाही गर्नुपर्छ ।
जस्तो– भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको केस बाहिर आयो । १७४ रोपनी जग्गा व्यक्तिका नाममा बनाउन ७८ लाख रुपैयाँ घुस दिइएको रहेछ । यस्तोमा लिनेदिने दुबैलाई कारवाही हुनुपर्छ ।
सार्वजनिक सम्पत्तिलाई निजी बनाउनु भनेको त सोझै भ्रष्टाचार ऐनको परिभाषाभित्र पर्ने अपराध हो । र, तेस्रो पक्षले थाहा पाएको भए उसले पनि भनिदिनुपथ्र्यो । यत्रो लामो समयसम्म लुकाउनुहुँदैनथ्यो ।
पाठकको कुरा किन लुक्यो त ? युट्युबमा राखेर देखाउन खोजेपछि न बाहिर आएको हो । पाठकले मार्नेसम्म धम्की दिएको कुरा बाहिर आएको छ ।
अब भ्रष्टाचारमा मीटु अभियान चलाऔं
अरु देशमा भ्रष्टाचारीसँग नाता पनि जोड्दैनन् । तर, हामीकहाँ भ्रष्टाचारीकोमा हुल कसेर भोज खान जाने चलन छ । सबै कुरो उल्टो छ यहाँ ।
भ्रष्टाचार नेपालमा ठूलो रोग भइसकेको छ । यो रोगको जरा कहाँ–कहाँ गएको छ, गएको छ । अनुसन्धान गर्ने हो भने जरादेखि टुप्पीसम्म पुगेको छ । यस्तो कुरा लुकाउने हो भने यहाँ सास फेर्न सक्ने अवस्था पनि हुँदैन । घाँटीसम्म डोरी ल्याउँछ ।
भ्रष्टाचार अन्त्य गर्ने हो भने भ्रष्टाचारमा पनि मिटु अभियान चलाउनुपर्छ । भन्न त भ्रष्टाचारमा शुन्य सहनशीलता भनिन्छ । तर, भ्रष्टहरूलाई कारवाही भएको खै त ? चारजना मान्छेलाई कारवाही गरेर त पुग्दैन नि ।
भ्रष्टाचार लुकाउनु भनेको पाप हो । केही कर्मचारीले बोल्न पनि थालेका छन् । सचिव, उपसचिवहरूले बोल्न थालेका छन् । मागेको पैसा दिन नसक्दा सरुवा हुनुपरेको कुरा गर्न थालेका छन् ।
मीटु अभियान चलाएर भ्रष्टाचारीको पोल नखोल्ने हो भने आम जनता बाँच्ने सक्ने अवस्था छैन । त्यसैले आजैदेखि फलाना मसँग घुस माग्यो भन्ने हिम्मत गरौं ।
(पूर्वप्रधानन्यायाधीश कार्कीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4