Comments Add Comment

महिला दिवसले नछोएका कमला ओलीहरु

२४ फागुन, पोखरा । एक दिन काममा ननिस्किए कमला ओलीलाई बेलुका चुल्हो बाल्न गाह्रो पर्छ । शुक्रबार पनि उनी बिहानै थुन्से बोकेर काममा निस्किइन् ।

नयाँ बजारमा बन्दै गरेको घरमा बालुवा र इट्टा बोकेर उनी दैनिक ५ सय रुपैयाँ थाप्छिन् । दाङमा घर भएकी कमलाको पोखरामा सानो डेरा छ । ज्यामी काम गरेर उनले आफ्ना छोराछोरी पढाइरहेकी छन् ।

शुक्रबार पोखरामा अन्तर्राष्ट्रिय महिला दिवसका डेढ दर्जन कार्यक्रम छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरले श्रमिक महिलाका पक्षमा भाषण गरेर १ सय ९ औं महिला दिवस मनायो ।

तर, कमलालाई यसको पत्तो छैन । पत्तो पाए पनि के गर्नु, काम नगरी मुखमा माड लाग्ने होइन । कमलाले जुन काम गर्छिन्, त्यही काम पुरुषले गर्दा १२ सय रुपैयाँसम्म पाउँछन् । डोको उत्रै हो, समय उही हो, तर ज्याला आधा पनि छैन ।

कमला ओलीजस्तै कमला नेपाली, सन्तमाया तामाङ, सरिता क्षेत्रीलगायत महिला श्रमिकलाई पोखरामा भइरहेका डेढ दर्जन कार्यक्रमले छोएन । यतिसम्म कि उनीहरुलाई आज महिला दिवस हो भन्नेसम्म जानकारी छैन ।

श्रमिक महिलाहरु सँधै जस्तै गिट्टी कुटिरहेका छन् । कोही सानो छोरा छोउमा सुताएर बालुवा बोकिरहेका छन्, पसिना चुहाइरहेका छन् । बडेमानको भारी बोकेर कुक्रुक्क परेर हिँडिरहेका छन् । एक दिन काम नगर्दा उनीहरुलाई हातमुख जोर्न मुश्किल पर्छ । सन्तानसहितका श्रमिक एकल महिलाको जीवनयापन झन् संघर्षपूर्ण र सकसपूर्ण छ ।

धादिङकी सन्तमाया तामाङ सानो छोरो नब्युझिँदै मन्डी पुग्छिन् । डोको भरेर सुन्तला र स्याउ बोकेर आउँछिन् । शुक्रबार पनि उसैगरी सडकमा सुन्तला बेचिरहेकी छन् ।

फोटो खिचिरहेको देखेपछि सन्तमायाले प्रश्न गरिन्, ‘तपाईंलाई नगरपालिकाले फोटो खिच्न पठाएको त होइन ?’ त्यो प्रश्नको पछाडि उनको ठूलो भय लुकेको छ । फुटपाथ हटाउने भन्दै नगर प्रहरी कतिबेला आउँछन् र फलफूल उठाएर लैजान्छन् भन्ने डरमा सामान बेच्नुपर्छ ।

‘नगर प्रहरी आउँदा डोको बोकेर गल्लीगल्ली भाग्ने, लुक्ने गर्नुपर्छ । नत्र कहिले सामान फालिदिन्छ त कहिले सबै उडाएर लगिदिन्छ,’ सन्तमायाले दुखेसो गरिन्, ‘श्रम कहिले खान पनि डोके, पोकेले पोखरा बद्नाम गरे भन्छन् ।’

सरिता क्षेत्रीको पनि उस्तै समस्या छ । श्रीमान छन् तर आफ्ना भएनन् । पोखरामा फलफूल बेचेर उनले दैनिकी गुजारेकी छन् । छोरा एक कक्षा पढ्ने भएको छ ।

‘बिहानै मन्डीबाट सामान ल्याएर छोरो स्कुल पठाएपछि म डोको बोकेर निस्कन्छु,’ सरिताले भनिन्, ‘यति नगरे साहुले कोठा दिँदैन । पसलेले सामान दिँदैन । त्यसैका लागि पनि दौडनै पर्‍यो ।’

पर्वतकी पवित्रा पराजुलीले चिप्लेढु्ंगामा यसैगरी गुजारा चलाएकी छन् । बेलाबेला नगर प्रहरीको लात्ति सहनु परेको उनको पनि दुखेसो छ ।

‘कतिपटक सामान हु¥याइदियो, कतिपटक जफत गरिदियो । हामीले सहर बिगा¥यौं भन्छ महानगर,’ पवित्राले भनिन्, ‘हामीलाई दुख नगरि खान पुग्दैन । सरकारले आज सार्वजनिक बिदा दिएको छ क्यारे । तर, हाम्रो पेटले त बिदा दिँदैन ।’

तनहुँदेखि निहुरो टिपेर बेच्न आइपुगेकी ६५ वर्षीय सीता परियारलाई पनि महिला दिवसबारे जानकारी छैन । उनी भन्छिन्, ‘मलाई अरु कुराको चिन्ता छैन । निहुरोको मुठा ५० रुपैयाँमा बिके पुग्छ ।’

पोखरा रामघाटमा उसैगरी महिलाहरु काममा व्यस्त छन् । यहाँका श्रमिक महिलाका आफ्नै दुख र व्यस्तता छन् । महिला दिवस के हो उनीहरुलाई थाहा छैन । उनीहरुलाई केबल थाहा छ, बालुवा चालिएन भने, गिटी बोकिएन भने गुजारा चल्दैन । उनीहरु भन्छन्, ‘महिला दिवसबारे ठूला मान्छेले भाषण गरिहाल्छन्, भइहाल्यो नि । हाम्रो ज्याला ५ सयभन्दा बढ्ने होइन ।’

यस बर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘लैँगिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिका आधार’ तय गरिएको छ । कम्युनिस्टहरुले यो दिवसलाई श्रमिक दिवसको रुपमा लिन्छन् । तर, महिलाका मुद्धा अझै उस्तै र उही नै छन् । समान ज्याला, काम गर्ने वातावरण खोजिरहेकै छन् ।

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक एवं सबै प्रकारका शोषण, उत्पीडन र बिभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने भनिएको छ तर त्यसको स्वाद श्रमिक महिलाले त अझ लिएकै छैनन् ।

समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण कसरी भइरहेको छ भन्ने उनीहरुले बुझेकै छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment