Comments Add Comment

कविता : फूलको रहर

फूलको रहर

कसलाई हुँदैन ?

फूलको सुवासले

कसलाई छुँदैन ?

 

फूलको बैंस रहेसम्म,

फूलमा बास्ना भएसम्म,

सबैले, सँधै,

जिब्रो रसाउँछन्,

मोह बर्साउँछन् ।

माहुरी उसैलाई चुस्न खोज्छ,

पुतली उसैमाथि बस्न खोज्छ,

यहाँसम्म कि,

त्यो सर्बब्यापी ईश्वर पनि

उसैको भेटी खोज्दछ ।

 

फूलको रहर

कसलाई हुँदैन ?

ऊ बोटमा रहेसम्म,

भुइँमा नझरेसम्म,

सबैले अँगाल्न खोज्दछन्

आफूभित्र सँगाल्न खोज्दछन् ।

 

तर,

जब फूलको बैँस मुर्झाउँछ,

जब उसको बास्ना हराउँछ,

जब फूल भुइँमा खस्दछ,

तब,

फूलको रहर

कसलाई हुन्छ ?

फूललाई कसले छुन्छ ?

 

फूल बोटबाट खसेपछि,

ऊ धरतीमाथि बसेपछि,

माहुरीले नाक खुम्च्याउँछ,

पुतलीले मुन्टो बटार्छ,

अरु त अरू,

त्यो सर्बब्यापी ईश्वर पनि,

फूलको भेटी अस्वीकार गर्छ ।

 

अनि फेरि,

ती सबै,

अर्को फूलमा

तँछाड-मछाड गर्छन् ।

अनि फेरि,

फूलको रहर,

सबैलाई हुन्छ ।

फूलको सुवासले,

सबैलाई छुन्छ ।

 

तर बिडम्बना,

फूलमा मरिहत्ते गर्ने,

ती पिपासुहरु,

कहिल्यै बिचार्दैनन्,

फूलले के खोज्छ ?

फूलले के रोज्छ ?

फूलको रहर गर्नेहरु,

कहिल्यै सोच्दैनन्,

कहिल्यै सोध्दैनन्,

फूललाई केको रहर छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment