Comments Add Comment

राजविराजमा श्री एयरलाइन्सको उडान कटौती, अब हप्तामा तीन दिन मात्र

२६ फागुन, राजविराज । सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महीना नबित्दै श्री एयरलायन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पुर्‍याइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ ।

हप्ताको मङ्गलबार र शनिबार बाहेक पाँच दिन काठमाडाैंबाट एउटा उडान राजविराज विमानस्थल आएको श्री एयरलायन्सले पछिल्लो समय नियमित उडानमा दुई दिन कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी जम्मा तीन दिन मात्र उडान गर्ने गरेको श्री एयरलायन्सले जनाइएको छ ।

श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेपछि कुनै जरुरी कामको लागि काठमाडौँ जानुपर्ने अवस्थामा समयमा जान नसकिने भएकाले समस्या हुने गरेको पत्रकार श्रवणकुमार देवले गुनासो गरे ।

लामो सयमपछि राजविराज विमानस्थलबाट श्री एयरलायन्सले आफ्नो सेवा दिँदै आएको बेला यसरी नियमित उडानमा कटौती गरेपछि यात्रु मर्कामा परेका छन् ।

श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेपछि विशेष कामका लागि काठमाडौँ जानका लागि राजविराजबाट माइक्रोबसमा चढेर करीब ९० किलोमिटर विराटनगर विमानस्थलमा पुगी काठमाडाैं लगायत अन्य ठाउँमा जानुपर्ने अवस्था रहेको देवले बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ का कृष्णाकुमार मण्डलले पनि श्री एयरलायन्सले नियमित उडानमा दई दिन कटौती गरेको उडानमा समेत समयमा नउड्ने र कुनै दिन उडान नै रद्ध गर्ने गरेको कारण पनि यात्रु समस्यामा परेको गुनासो गरे ।

श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेयता सप्तरीवासीमा निराश देखिएको जानकारी दिँदै राजविराज विमानस्थलबाट हप्तामा सातै दिन उडान हुनुपर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका स्थानीय नेता गजेन्द्रकुमार मण्डलले माग गरे ।

श्री एयरलायन्सको विमान मर्मतमा रहेकाले राजविराज विमानस्थलमा नियमित उडान सेवा कटौती गर्नुपरेको श्री एयरलायन्सका स्टेसन म्यानेजर सुरेश मल्लिकले जानकारी दिए ।

यात्रुुको संख्या बढेपछि मात्र उडान थप गरिने उनले बताए । यसअघि आइतबार, बिहीबार गरी जम्मा पाँच दिन यहाँ श्री एयरलायन्सले नियमित उडान गर्ने गर्दथ्यो तर अहिले यात्रुको अभाव देखाउँदै उडानमा कटौती गरेको स्थानीयवासीको भनाइ छ ।
सप्तरीवासीको आशाको रुपमा रहेको विमानस्थलको औपचारिक रुपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उपप्रधानमन्त्रीसमेत रहनुभएका सप्तरी क्षेत्र नं-२ का सांसद उपेन्द्र यादव, पूर्वमन्त्री एवं राष्ट्रियसभा सदस्य जीतेन्ऽनारायण देवसहित व्यक्तित्वको टोलीद्वारा २०७५ जेठ १० गते उद्घाटन गरिएको थियो ।

उद्घाटनपछि राजविराज विमानस्थलमा श्री एयरलाइन्सको ७२ यात्रु क्षमता भएको जहाजको परीक्षण उडान २०७५ जेठ १ गते नै गरिएको थियो ।

श्री एयरलायन्सले असारबाट आफ्नै नियमित उडान राख्ने जनाइएका थिए । श्री एयरलायन्सले राजविराजबाट काठमाडाैं २५ मिनेटको समयावधि रहने यो फ्लाइटको सस्तो भाडादर न्यूनतम रु तीन हजार ५०० र अधिकतम रु छ हजार २०० तोकेका थिए ।

विसं २०१६ मा तत्कालीन यातायातमन्त्री स्व गणेशमान सिंहद्वारा राजविराज विमानस्थलको शिलान्यास गरिएको थियो । यो विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की धावन मार्ग रहेको छ ।

नागरिक उड्डययन मन्त्रालयद्वारा रु ३० करोड ३० लाखको लागतमा राजविराज विमानस्थल निर्माण गरिएको थियो । सो क्रममा विमानस्थलको ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न गरिएको थियो ।

राजविराज विमानस्थलको निर्माण कार्य सम्पन्न र नियमित उडानले सप्तरीवासी खुशी भएका थिए तर अहिले नियमित उडानमा श्री एयरलायन्सले कटौती गरेपछि यहाँको जनतामा निराशा छाएको राजविराज नगरपालिका-३ का मुकेश यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment