Comments Add Comment

विदेशिने विद्यार्थीको संख्या बढेको बढ्यै, पाँच वर्षमा बाहिरियो १ खर्ब

२३ फागुन, काठमाडौं । सरकारले रोजगारीका लागि मात्र होइन, उच्च शिक्षाका लागि विदेश जानेहरुलाई रोक्ने लक्ष्य लिएको छ । तर, तथ्यांक उति उत्साहजनक छैन ।

चालु आर्थिक वर्षको ८ महिनामा ४१ हजार ७५७ हजार विद्यार्थीले विदेशमा अध्ययन गर्न जान शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएको पाइएको छ । गत आर्थिक वर्षमा यो संख्या करिब ५९ हजार थियो ।

नेपाली विद्यार्थीहरु मेडिसिन, इञ्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी, पाइलटिङलगायतका बिषय अध्ययनका लागि अष्ट्रेलिया, जापान, क्यानडालगायतका देशमा बढी जाने गरेका छन् । विकसित देशमा उच्च शिक्षा लिएपछि अन्तर्राष्ट्रिय श्रम बजारमा अवसर सहज हुने भएकैले नेपाली विद्यार्थी विदेश गइरहेका छन् ।

स्वदेशमा अध्ययनपछि उपयुक्त अवसर नपाउने मात्र होइन, राजनीतिक स्थिरता कायम रहनेमा विश्वस्त हुन नसक्दा पनि नेपाली विद्यार्थीमा विदेश पलायनको मनोविज्ञान नरोकिएको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार, अध्ययनपछि उतैको स्थायी बासिन्दा बनेर सहज जीवनयापन गर्ने सोचका साथ नेपाली विद्यार्थीहरु विदेश भासिँदैछन् । शिक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार, ‘एनओसी’ लिनेमध्ये ८० प्रतिशत विद्यार्थीले भिसा पाउने गरेका छन् ।

पछिल्लो पाँचवर्षको तथ्यांक

लामो समय आन्तरिक द्वन्द्वमा भोगेका नेपालीले नयाँ संविधान बनेपछि मुलुकमा अमनचयन हुने अपेक्षा गरेका थिए । तर, त्यो अपेक्षा पूरा नभएको विदेश जान खोज्ने विद्यार्थीको संख्याले देखाउँछ ।

आर्थिक वर्ष २०७०/०७१ मा २८ हजार १२६ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएकामा आव २०७१/०७२ मा यो संख्या ३० हजार ६९६ पुग्यो । नयाँ संविधान आएको वर्ष २०७२/०७३ मा ३२ हजार ४८९ विद्यार्थीले ‘एनओसी’ लिएकामा त्यसपछिको आवमा ५० हजार ६५९ जनाले ।

त्यस्तै, २०७४/०७५ मा ५८ हजार ७५८ र चालु आवको फागुन १७ गतेसम्म ४१ हजार ७५७ जना विद्यार्थी ‘नो अब्जेक्सन लेटर (एनओसी) लगेको शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन शाखाको तथ्यांकले देखाउँछ । एनओसी लिन दैनिक २०० भन्दा बढी विद्यार्थी आउने गरेका शाखा प्रमुख बमशेर राईले बताए ।

कुनकुन देश रोजाइका पर्छन् ?

नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया पर्ने गरेको तथ्याकंले देखाउँछ । त्यसपछि क्रमशः जापान, भारत, चीन, साइप्रस, क्यानडा लगायतका ६३ देश छन् ।

पहिले धेरै विद्यार्थीले रोज्ने गरेको अमेरिका चालु आवमा ८ औं नम्बरमा छ । गत ८ महिनामा अध्ययनका लागि अष्ट्रेलिया जान एनओसी लिने नेपाली विद्यार्थीको संख्या सबभन्दा धेरै २६ हजार ६७३ छ । अध्ययन गर्न र रोजगारी पाउनमा तुलनात्मकरुपमा बढी सहज भएकाले अष्ट्रेलिया नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

अष्ट्रेलिया पछिको रोजाइमा जापान देखिन्छ । पछिल्लो ८ महिनामा जापानमा अध्ययनका लागि चारहजार ९४ नेपाली विद्यार्थीले ‘एनओसी’ लिएको तथ्यांक छ ।

आन्तरिक कामदारको संकट खेपिरहेको जापानमा अध्ययनसँगै केही समय काम गर्ने रहरले नेपाली विद्यार्थीलाई त्यता तान्दै लगेको छ ।

स्वदेशमा केहि नहुने मनोविज्ञानमा रहेका नेपाली विद्यार्थीका नजरमा छिमेकी भारत पनि ‘अवसरको मुलुक’ बनेको देखिन्छ । चालु आवमा एक हजार ६२५ जनाले भारतमा पढ्न ‘एनओसी’ लिएको तथ्यांकले त्यही भन्छ । भारतमा सहज आउजाउ र कम खर्चमा अध्ययन सकिने कुरा पनि छँदैछ ।

त्यस्तै, चीन जान एकहजार ३४७ जनाले, साइप्रस जान एकहजार ५२ ले, क्यानडा जान ९४६ ले, दक्षिण कोरिया जान ८२४ र अमेरिका जान ७१६ जनाले ‘आइओसि’ लिएका छन् ।

त्यस्तै, ६५७ जनाले न्युजिल्याण्ड, ५८६ ले बांग्लादेश, ५४३ ले संयुक्त अरब इमिरेट्स (युएई), ४४५ फ्रान्स, ३२३ थाइल्याण्ड, ३०८ पोल्याण्ड, २७९ जर्मनी, १७५ वेलायत, १३७ बहराइन, १२४ माल्टा, १२३ रुस र १०९ जनाले मलेसियामा पढ्न ‘आइओसी’ लिएका छन् ।

नेपालमा त्यति नाम नलिइने देशमा समेत अध्ययन गर्न नेपाली विद्यार्थीहरुले ‘आइओसी’ लिन थालेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन एनओसी शाखाको तथ्यांक अनुसार चालु आवको फागुन १७ सम्म युक्रेन, स्लोभेनिया, रोमानिया, श्रीलंका, केन्या, कुवेत, अजरबैजान र बोस्निया हर्जगोभिनामा जान एक–एकले ‘एनओसी लेटर’ लगेका हुन् ।

त्यस्तै, एन्टिगुआ एण्ड बर्बुडा, किर्गिस्तान, इजरायल, इण्डोनेशिया, सिंगापुर, टर्की, भियतनाम र स्वाजिल्याण्ड जान तीन–तीन जना नेपाली विद्यार्थीले ‘एनओसी लेटर’ लिएका छन् ।

इङल्याण्ड जान चारजना, अष्ट्रिया पाचजना, इजिप्ट जान सातजना, स्वीट्जरल्याण्ड जान आठजना तथा नर्वे र बेल्जियम जान छ–छ जना नेपाली विद्यार्थीले ‘एनओसी लेटर’ लिएका छन् ।

साढे पाँच वर्षमा बाहिरियो १ खर्ब

वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले वर्षेनी अर्बौं रकम खर्च गर्न गरेका छन् । विदेशमा अध्ययनमा जाने विद्यार्थीको संख्यासँगै नेपालबाट बाहिरिने रकमको अनुपात पनि वर्षेनी बढ्दैछ । पछिल्लो साढे पाँच वर्षमा १ खर्ब ३ अर्ब भन्दा बढी रकम शिक्षाका लागि नेपालबाट बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १७ अर्ब ७ करोड रुपैयाँ शिक्षामा बाहिरिएको छ भने आर्थिक वर्ष ०७२/७३ मा २० अर्ब १४ करोड नेपाली रकम विदेश गएको छ ।

०७३/७४ को २१ अर्ब ८३ करोड नेपाली रकम बाहिरिएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा मात्रै २७ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा १६ अर्ब २१ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि खर्चेको विभागका कार्यकारी निर्देशक भीष्म ढुंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment