Comments Add Comment

पोखरामा जंगिए देउवा : तपाईंले सुन्नुहुन्न कि क्या हो !

२८ फागुन, पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनबारे कांग्रेस किन मौन ? सोमबार आयोजित पत्रकार भेटघाटमा यो प्रश्न सुन्नसाथ कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक जंगिए, के बोल्नु पर्ने हो मैले ?

‘चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा गोविन्द केसीलाई सर्मथन गर्नु भएको थियो । अहिले ४/५ सय विद्यार्थी आन्दोलन गरिरहेका छन् किन बोल्नु भएन भनेर सोधेको ?’ पत्रकारले यसो भनिरहँदा देउवा जिज्ञासु भावमा सुनिरहे ।

देउवा फेरि जंगिए, ‘चिकित्सा विधेयकमा …(चोर औला ठड्याउँदै) तपाईंले सुन्नु हुन्न कि क्या हो कुरा । अघि भनेको होइन मैले त्यो । चिकिस्सा विधेयक अध्यादेश मैले ल्याएको होइन ? त्यसलाई खतम त ओलीले पारेको हो नि । मैले पारेको हो ?’’

चिकित्सा विधेयकलाई ओलीले विगारेको भन्दै उनले थाहा पाएर पनि थाहा नभएको जस्तो नगर्न प्रश्नकर्तालाई आग्रह गरे । उनले भने, मैले बोलेको कुरा तपाईले सुन्नु हुन्न ?’

पत्रकारहरुले कलेजको आन्दोलनबारे तपाईंको धारणा खोजेको मात्र के भनेका थिए ।

देउवा फेरि कड्किए, त्यही भनिसकेँ मैले ।

पत्रकारहरुको फेरि सोधे, संसदमा पनि खगराज अधिकारीले त (गण्डकी मेडिकल) कलेज बन्दगर्नु पर्छ भन्नु भएको छ त ? त्यहाँ उपस्थित कांग्रेस नेता कार्यकर्ताले सम्झाए, गण्डकी मेडिकल कलेजबारे थाहा छैन उहाँ (देउवा)लाई ।

बल्ल देउवाले विद्यार्थीहरुको आन्दोलनको विषय आफूलाई थाहा नभएको बताए ।

पत्रकारहरुले कलेजमा आन्दोलन भइरहेको विषयमा कांग्रेसको धारणा चाहिएको बताए । तर, कांग्रेस सभापति देउवा फेरि जंगिए, ‘मैले तपाईलाई भनिसकेँ, सुन्नु भएन तपाईले ? मैले भने, चिकित्सा विधेयकअनुसार हुनुपर्छ । त्यही हो ।’

देउवा बारम्बार जंगिएपछि भेटघाट आयोजना गर्ने कास्की कांग्रेसका नेताहरुले कलेजको विषय छाडेर अरु प्रश्न गर्न पत्रकारहरुलाई आग्रह गरे । एक पत्रकारले सोधे, कांग्रेसलै सशक्त आन्दोलन गर्ने भनेको छ, कस्तो हुन्छ आन्दोलन ?

देउवाले भने फेरि कलेजकै विषयमा आए । उनले रिसाएको भावमा भने, ‘अदालतले कारबाही गर भन्यो, भयो । कारबाही पनि उनलाई किन भएन ? एमालेको बोर्ड अफ डाइरेक्टरलाई किन भएन कारबाही ? सबैलाई हुनुपर्‍यो नि !

झोक्की स्वभावका देउवा प्रधानमन्त्री भएकै बेला एक प्रश्नकर्तालाई ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भनेका थिए । त्यही कारण उनको चर्को आलोचना समेत भएको थियो ।

खुमा अर्याल र देउवाको सम्बन्ध

पोखराको गण्डकी मेडिकल कलेजका ५ सयभन्दा बढी विद्यार्थी बिना भर्पाई अतिरिक्त शुल्कका नाम लाखौं रुपैयाँ असुलेको भन्दै डेढ महिनादेखि आन्दोलनमा छन् । यसअघि चिकित्सा शिक्षा विधेयक लगातारलाई लिएर संसद नै अवरोध गरेको कांग्रेस गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलनबारे मौन छ ।

कतिपयले भने यसलाई मेडिकल सञ्चालक खुला अर्याल र देउवाको सम्बन्धसँग जोडेर हेरेका छन् । खुमा अर्याल देउवाकैै जोडबलमा दोस्रो संविधानसभा निर्वाचनमा स्याङ्जाबाट कांग्रेसको समानुपातिक सूचीमा परेका थिए । तर, पद किनबेच भएको भन्दै पार्टीमा बिरोध भएपछि सांसद बन्न पाएनन् ।

देउवासँगको निकट सम्बन्धको लाभ लिँदै अर्यालले मेडिकल कलेजको साम्राज्य विस्तार गर्दै लगेको स्रोत बताउँछ । उनको नेपालगन्ज मेडिकल कलेजमा समेत सेयर छ । साथै जानकी मेडिकल कलेजको सेयर लिन निकै जोड गरेका थिए ।

अर्यालको गण्डकी मेडिकल कलेजमा तोकिए भन्दा बढी शुल्क लिएको लगायतका विषयमा डेढ महिनादेखि आन्दोलनरत विद्यार्थीहरुले प्रहरी प्रशासनलाई गुहार मागेका छन् ।

विद्यार्थीहरुको जाहेरीका आधारमा मेडिकलका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी ठगी मुद्दा चलाएको छ । तर, सञ्चालक अर्यालसहित ८ जना फरार छन् । फरार रहेकै अवस्थामा अर्यालले निषेधाज्ञा माग्दै उच्च अदालत पोखरामा रिट दर्ता गरेका छन्, जसमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ ।

राजनीतिक शक्तिको अडमा कलेज प्रशासनले विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको आरोप निकटस्थ स्रोत बताउँछ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment