+
+

भोजपुरबाट एक वर्षमा ५७ हजार किलो चिराइतो निकासी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १७:४९

२८ फागुन, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा जडिबुटीको व्यवसायिक सम्भावना बढेसँगै विभिन्न जातका जडिबुटीहरुको पकेट क्षेत्र घोषणा गरी काम थालिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार जडिबुटी खेतीका लागि राम्रो मानिएका पश्चिमी भोजपुरका टेम्केमैयुङ-१ तिम्मा, सोही गाउँपालिकाको ५ नम्बर वडा खावा र भोजपुर नगरपालिकाको वडानम्बर ३ गुप्तेश्वर र वडा नम्बर ४ सिद्धेश्वरलाई चिराइतोको पकेट क्षेत्र बनाइने भएको छ ।

जिल्लाबाट चालु आर्थिक वर्षको यो अवधिसम्म ५७ हजार किलो चिराइतो बिक्रीका लागि तराईतिर निकासी भएको डिभिजन वन कार्यालय भोजपुरका वन अधिकृत हेमन्तप्रसाद साहले बताए । त्यसबाहेक सतुवा ३ हजार ५ सय केजी र अर्घेली १० हजार केजी निकासी भएको तथ्यांक पाइएको छ ।

चिराइतो खेतीको सम्भावना बढ्नुका साथै यहाँका कृषहरु यस खेतीतर्फ आकर्षित भएका कारण स्थानीय तहहरुसँग समन्वय गरेर पकेट क्षेत्र घोषणा गरी थप कार्यक्रम अगाडि बढाउने निर्णय गरिएको छ । यससँगै चिराइतोको विरुवा उत्पादन, भण्डारण र बजारिकरणमा कृषकको माग र आवश्यकताको आधारमा अनुदान दिने जिल्ला जडिबुटी फोकल समितिले निर्णय गरेको छ ।

लेकाली क्षेत्रमा हुने चिराइतो किसानहरुले वषौंदेखि गर्दै आएको आलु, मकै, फापर लगायतका खेती छाडेर व्यवसायीक रुपमै गर्न थालेका छन् । कृषकहरुले खेर गएको जमीन, खाली जग्गा तथा बारीका काँल्लामा समेत चिराइतो खेती शुरु गरेका हुन् ।

जिल्लामा २ सय ५० हेक्टरबढी क्षेत्र चिराइतो खेतीले ढाकेको छ । षडानन्द नगरपालिका तिनतलेका पासाङ्गदोर्ची शेर्पाका अनुसार कृषकहरुले व्यक्तिगत रुपमा मात्र नभइ विद्यालय, सामुदायिक वन समूह लगायतले संस्थागत रुपमा पनि यसको खेती गरेका छन् ।

बोखिमकोे धापखर्क प्राथमिक विद्यालयले स्रोत वृद्धिको लागि ६ रोपनी क्षेत्रफल जग्गामा व्यवसायिक रुपमा चिराइतो खेती लगाएको छ ।

व्यवस्थापन समिति तथा अभिभावकले खेतीको हेरचाह गरिरहेका छन् । त्यस्तै चौकिडाँडा गाविस वडानम्बर ३ का वासीन्दाले सामुदायीक वनमा समुहिक रुपमा चिराइतो खेती गरेका छन् ।

चिराइतोको माग बढेपछि ठाउँठाउँमा नर्सरी पनि खुलेको छ । हाल जिल्लाका दोभाने, किमालुङ, खाटम्मा, भैसीपंखा, तिम्मा, छिनामखु, खावा, यूँ, चौकीडाँडा, कुदाकाउले लगायतका ठाउँमा व्यवसायिक चिराइतो खेती देख्न सकिन्छ ।

चिराइतोको मूल्य स्थानीय बजारमै प्रतिमन २२ देखि २५ हजार पर्ने गरेको छ । तर कतिपय किसानले विचौलीयाका कारण उचित मुल्य नपाउने गरेको समेत गुनासो गरे ।

हावापानी तथा माटोको अनुकुलमा जिल्लामा उत्पादन हुने चिराइतो, सतुवा, तेजपत्ता, लौठसल्ला, खिरौला, टिम्मुर लगायतका जडिबुटीमा लगानी गर्ने योजना बनाएर काम थालिएको वन अधिकृत साहले बताए ।

स्थानीय तहमा रहेका सामुदायिक, कबुलियती, साझेदारी वनलाई लक्षित गरेर खेती गर्न लागिएको उनको भनाइ छ ।

भोजपुरको दक्षिण आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिका क्षेत्रमा टिम्मुर खेतीका लागि पकेट क्षेत्र बनाइएको छ । अन्य जडिबुटी खेतीका लागि कृषकहरुलाई उत्प्रेरित गरि लगानी योजना बनाइने डिभीजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?