Comments Add Comment

कोमल वलीले संसदमै मागिन् माफी

२९ फागुन, काठमाडौं । आफूले प्रयोग गरेको एक उखानका कारण विवादमा तानिएकी राष्ट्रियसभा सदस्य कोमल वलीले संसद बैठकबाटै माफी मागेकी छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रयोग गरेको ‘मरेपछि … राजा’ उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएका थिए ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसद ओलीले आफूले प्रयोग गरेको उखानको शब्दले कसैमाथि चोट पुगेको भए क्षमा याचना गर्ने बताएकी हुन् । ‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ उनले भनेकी छन् ।

देशका सबै जाति र समुदायप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै कसैको मर्यादामा आँच पुर्‍याउनका लागि उखान प्रयोग नगरिएको पनि सांसद वलीले प्रष्ट्याएकी छन् ।

आफूले पूर्व योजनाअनुसार नभइ तत्कालिन अवस्थामा कुनै विचार नपुर्‍याई उखान प्रयोग गरेको सांसद वलीको भनाइ छ । ‘मेरो मष्तिश्कमा तत्कालिन समयमा यसले पुर्‍याउने हानी यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्‍याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकतामात्र थियो’ उनले भनिन् ।

उखानलाई ब्यंग्यार्थमा मात्र बुझ्नुपर्छ

जीवति हुँदा नै राम्रो काम गर्न मन भएको र मृत्युपछि दिने सम्मानमा विश्वास नभएको भावना अभिव्यक्त गर्न आफूले उक्त उखान प्रयोग गरेको वलीको भनाइ छ । उनले उखानको शब्दमा भन्दा त्यसको लक्ष्य र ब्यंग्यार्थमा बुझ्नुपर्ने पनि बताइन् ।

‘सामान्यत उखानलाई यसले प्रवाह गर्ने अभिप्राय वा व्यंग्यार्थ वा लक्ष्यका दृष्टिले मात्र महत्व दिनुपर्छ भन्ने मान्यता छ’ उनले भनिन् ‘नेपाली लोकजीवनमा यस्ता धेरै परम्परागत उखानहरु छन् । जसले व्यञ्जनात्मक रुपमा मात्र अर्थ दिन्छन् । कुनै कुनै उखानको शब्द तहमा देखिने अभिधार्थले कुनै जातिलाई ओच्याउने वा उक्साउने किसिमको भूमिका खेलेको देखिन्छ ।’

म माथि झन् ठूलो प्रहार

आफूले आकस्मिक रुपमा प्रयोग गरेको उखानको विषयलाई इस्यु बनाएर आफूमाथि झन् ठूलो प्रहार भएको वलीको भनाइ छ । ‘जसले मैले भनेको शब्दबाट आफ्नो मन दुखेको बताउनुभएको छ उहाँहरुबाटै म माथि त्यो भन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सञ्जालमा भेटेकी छु’ उनले भनेकी छन् ।

म अनलर्निङको प्रक्रियामा छु

परम्परागत रुपमा प्रयोग हुँदै आएका कतिपय उखान, भनाइहरु विभेदकारी रहेको भन्दै यस्ता उखान र भनाइको प्रयोगमा ख्याल गर्नुपर्ने सिकाइ आफूलाई भएको बताएकी छन् ।

‘म पनि अनलर्निङ (पुनर्सिकाइ) प्रक्रियामा छु, हाम्रो समाज पनि अन लर्निङ प्रक्रियामा छ’ उनले भनेकी छन् ‘यसबाट मैले निश्कर्ष निकालेको छु । हाम्रो समाजमा अनलर्निङ (पुनर्सिकाइ) को प्रक्रिया अझ आवश्यक छ । अझ प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment