Comments Add Comment

साना सेयर लगानीकर्ताले प्यान नम्बर लिनु नपर्ने

५ लाख वा सो भन्दा माथिका लगानीकर्तालाई प्यान अनिवार्य

३० फागुन, काठमाडौं । सरकारले ५ लाख भन्दा कमको कारोबार गर्ने सेयर लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने जनाएको छ ।

आगाम बैशाख १ गतेबाट सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्ने भनिएकोमा एक पटकमा ५ लाख भन्दा कमको कारोबार गर्ने साना लगानीकर्तालाई त्यो लागू नहुने भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार आगामी बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुले भने अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने हुन्छ ।

साना-ठूला सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने विषय समेटिएको थियो ।

तर, लगानीकर्ता तथा सम्वद्धपक्षहरुसँगको छलफल तथा अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार बोर्डले साना लगानीकर्तालाई प्रोत्साहन गर्न ५ लाख भन्दा कमको सेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगर्ने निर्णय भएको जनाएको छ ।

‘…साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको छ । लगानीकर्ताहरु तथा अन्य सरोकारवालाहरुको सुझाव अनुसार गरिएको यस व्यवस्थाले दोस्रो बजार कारोवारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने अपेक्षा बोर्डले गरेको छ’, बिहीबार बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र बोर्डले जारी गरेको प्रेस विज्ञप्ती

हाल संस्थागत लगानीकर्ताहरुले प्यान नम्बर लिएको भए पनि व्यक्तिगत लगानीकर्ताहरुले भने लिएका छैनन् ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गरिने उल्लेख गरेका थिए । गत कात्तिकमा अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई प्यान नम्बर अनिवार्य गर्न पत्राचार गरेको थियो ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आवश्यक गृहकार्य गर्न पत्राचार गरेपछि केही लगानीकर्ताका संघ संगठनहरु भने यसको विरोधमा थिए । लगानीकर्ताहरुका केही संघहरुले प्यान अनिवार्य नगर्न धितोपत्र बोर्डको ध्यानाकर्षण गराउँदै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment