Comments Add Comment

विप्लव समूहमाथिको प्रतिबन्ध सरकारको बाध्यता : मन्त्री पण्डित

'न संविधानविपरीतका गतिविध छाडे, न वार्ता गर्न चाहे'

जनकपुरधाम, ३० फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेत्रविक्रम चन्द ‘विप्लव’ ले संविधान विपरीत गतिविधि गरेकाले उनको संगठनमाथि प्रतिबन्ध लगाएको बताएका छन् ।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले विप्लवले सरकारसँग वार्ता गर्न समेत नचाहेको बताए ।

‘न त संविधान विपरीतका गतिविधि त्याग्न चाहे, न त सरकारसँग वार्ता गर्न नै चाहे’ मन्त्री पण्डितले भने, ‘सरकारले बाध्य भएर उनीमाथि प्रतिबन्ध लगाउनुपरेको छ ।’

अब मुलुकममा शान्ति र विकास चाहिएको उल्लेख गर्दै मन्त्री पण्डितले कुनै पनि बहानामा अराजक गतिविधि गर्नेले छुट नपाउने बताए ।

उनले मुलुकमा शान्ति र अमनचयन कायम गर्नका लागि सशस्त्र संघर्षमा रहेका जयकृष्ण गोइत र ज्वाला सिंहलाई पनि सरकारले वार्ताका निम्ति पत्र पठाएको जानकारी दिए ।

मन्त्री पण्डितले सिके राउतसँग भएको ११ बुँदे सहमति पालना हुने विश्वास व्यक्त गरे । ‘सीके राउतले सम्झौताको पालना गर्ने विश्वास छ’ उनले भने, ‘गलत गतिविधि गरेमा सरकार कडा रुपमा प्रस्तुत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment