Comments Add Comment

न्यूजिल्याण्ड आक्रमणका मुख्य आरोपी ५ अप्रिलसम्म हिरासतमा

Photo Credit : Mark Mitchell,New Zealand Herald,Pool via REUTERS

२ चैत, काठमाडौं । न्यूजिल्याण्ड आक्रमणका मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई पाँच अप्रिलसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । २८ वर्षीय अष्ट्रेलियन मूलका ब्रेन्टनलाई शनिबार अदालतमा पेश गरिएको थियो ।

उनीमाथि न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित अलनुर मस्जिदमा आक्रमण गरेर ४९ जनाको ज्यान लिएको आरोप छ । शुक्रबार नमाज चलिरहेको बेला उनले अन्धाधुन्द गोली चलाएका थिए । आक्रमणको फेसबुकमार्फत लाइभसमेत गरेका उनलाई प्रहरीले शुक्रबारै नियन्त्रणमा लिएको थियो । शुक्रबार लिनवुड मस्जिदमा पनि आक्रमण भएको थियो ।

आक्रमणकारी अष्ट्रेलियन मूलका फिटनेस इन्स्ट्रक्टर हुन् । उनलाई अदालतमा पेश गरिँदा हतकडी लगाइएको थियो । उनले घटना स्वीकार गरेको र जमानतका लागि आग्रहसमेत नगरेको बीबीसीले लेखेको छ ।

यो घटना भएको दिनलाई प्रधानमन्त्री जेसिन्डा अर्डनले ‘कालो दिन’को संज्ञा दिएकी छन् । उनले बन्दुकसम्बन्धी कानुन संशोधन गरिने पनि बताएकी छन् ।

उनले भनेकी छन्, ‘मुख्य आरोपीले पाँच वटा बन्दुक प्रयोग गरेको जानकारी मलाई छ । उसँग बन्दुक राख्ने लाइसेन्स थियो । आरोपीले २०१७ मा लाइसेन्स पाएको थियो । यस गम्भीर घटनालाई मध्यनजर गर्दै म भन्न सक्छु अब हाम्रो बन्दुकसम्बन्धी कानुन बदलिन्छ ।’

न्यूजिल्याण्डमा सन् २००५, २०१२ र २०१७ मा बन्दुक सम्बन्धी कानुन संशोधनको तयारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment