Comments Add Comment

ठेकेदारले रोके लामोसाँघु-जिरी सडकको काम, असारसम्म पिच भइसक्नेमा आशंका

असुरक्षा र भुक्तानी नपाएको ठेकेदारको आरोप, गुणस्तरहीन काम गरेको सरकारको दावी

८ चैत, सिन्धुपाल्चोक । राजधानी पूर्वका चार जिल्लाको लाइफलाइन मानिने लामोसाँघु-जिरी सडकखण्ड निर्माणको काम ठेकेदारले अनिश्चितकालको लागि बन्द गरेको छ । काम गरेको रकम नपाएको र असुरक्षा भएको भन्दै काम रोकिएको हो ।

ठेकेदारले यस्तो आरोप लगाइरहदा सडक डिभिजन कार्यालयले भने निर्माणपक्षले गरेको गुणस्तरहीन काम नसुधारेसम्म भुक्तानी दिन नसकिने बताएको छ । यो सडक सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बुसम्मका जनताको लागि रणनीतिक महत्वको राजमार्ग हो ।

सडक कालोपत्रे तयारीका लागि काम हुँदा सडकमा धुलो उडेको भन्दै सडक छेउका स्थानीयले विरोध गर्दै आएका थिए । सडकमा देखिएको धुलोलाई कम गर्न ट्यांकरबाट दैनिक पानी हाल्ने गरेपनि धुलो नियन्त्रण नगरेको भन्दै सडक आसपासका स्थानीयले मजदुरहरुलाई कुट्ने गरेको निर्माण कम्पनी गौरी पार्वती कन्स्ट्रक्सनका साइट इञ्चार्ज लोकबहादुर श्रेष्ठले बताए ।

‘हामी दिनहुँ दुई-तीन पटक पानी हाल्छौं, तर पनि स्थानीयले हाम्रा मजदुरहरुलाई सधैं दुर्व्यहार गर्छन्, यस्तो अवस्थामा कसरी काम गर्न सक्छौं,’ श्रेष्ठले भने, ‘सुरक्षा नहुदासम्म काम गर्न सकिँदैन ।’

निर्माण व्यावसायीहरुको आन्तरिक विवाद र सरकारी ढिलासुस्तीका कारण सुस्त भएको सडक स्तोरन्नतीको काम केही महिनादेखि तीव्र गतिमा काम सुरु भएको थियो । असार महिनाभित्रै कालोपत्रे गरिसक्ने लक्ष्य थियो । तर, काम रोकिएकाले पूर्वनिर्धारित समयमै काम सकिनेमा शंका बढेको छ ।

खाडिचौरदेखि ६ किलोसम्म निर्माण पक्षले गुणस्तरहीन ग्राभेलिङ गरेको छ, त्यसलाई सुधार गर्नू भनेर भनेका छौं, सुधार नहुँदासम्म बिल भुक्तानी गर्न हामीलाई समस्या छ- डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झा

लामोसाँघु-जिरी सडकखण्डको खाडिचौरमाथि साढे १८ किलोमिटर सडकमा बेसको काम सकिएको छ । खाडिचौरदेखि १२ किलोसम्म सब बेस, १७ किलोसम्म सब ग्रेड र १८ किलोसम्म स्ट्रक्चरको काम भइरहेपनि स्थानीयले अवरोध गरेपछि काम गर्न समस्या भएको श्रेष्ठले जानकारी दिए ।

सुरक्षा चाहियो भनेर प्रशासनलाई भनेपनि खासै चासो नदिइएको श्रेष्ठको गुनासो छ । ‘काम गर्ने मजदुरहरु ठाउँको ठाउँ कुटिएका छन्, ट्यांकर चालकहरुको चाबी खोसीदिने लगायतका गतिविधिहरु भइरहेका छन्,’ श्रेष्ठले भने, ‘मलाई पनि फोन गरेर धुलो खानु भन्दा बरु तेरो मासु खान्छौं भनेर धम्की दिने आयो ।’ सडक बनाउँदा धुलो उड्नु स्वाभाविक भएको उनले बताए ।

सडक कालोपत्रेका लागि आवश्यक सबै सामग्री ल्याएर तयारी हालतमा राखिएको र एक सातापछि नै कालोपत्रे सुरु गर्ने योजना भएपनि असुरक्षा र काम गरेको रकम भुक्तानी नहुँदा समस्या भएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार हालसम्म तीन करोड रुपैयाँ बढीको काम भइसकेको छ । तर, पटक-पटक बिल पेश गरेपनि डिभिजन सडक कार्यालयले भुक्तानीका लागि आनाकानी गरेको श्रेष्ठले बताए ।

डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झाले भने निर्माण व्यावसायीहरुले गुणस्तरहीन काम गरेकाले भुक्तानी रोकिएको बताए । ‘खाडिचौरदेखि ६ किलोसम्म निर्माण पक्षले गुणस्तरहीन ग्राभेलिङ गरेको छ, त्यसलाई सुधार गर्नू भनेर भनेका छौं, सुधार नहुँदासम्म बिल भुक्तानी गर्न हामीलाई समस्या छ,’ झाले भने ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने आफूहरु निर्माण व्यावसयीहरुलाई सबै सुरक्षा दिन तयार भएको बताए । ‘स्थानीयको पूरा गर्न सक्ने माग निर्माण व्यवसायीले पूरा गर्नुपर्छ, कसैले अवरोध गर्न खोजेमा कानुन अनुसार अघि बढ्छौं,’ प्रजिअ अधिकारीले भने ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु-जिरी सडकलाई अहिले चौडा बनाउने काम भैरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नतीको काम दुई वर्ष अर्थात २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा भूकम्प, निर्माण व्यावसायीको आन्तरिक विवादले ढिलाइ भएको छ ।

भारतको एक्जीम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडिचौरदेखि मुडे नजिकै २५ किलोमिटर सडक निर्माण भारतको सिमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौलो खिम्ती कन्स्ट्रक्सनले पाएको छ । त्यस्तै मुडेबाट चरिकोटसम्मको ३० किलोमिटर सडक स्तरोन्नतीको जिम्मा भारतको सकिल हैदर, शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको छ ।

भ्याटसहित ९१ करोड ९४ लाख ९४ हजारमा सडक कालोपत्रे र चौडा बनाउनु पर्ने सडक सुधार आयोजनाले जनाएको छ । सुरु सम्झौतामा खाडिचौरदेखि मुडेसम्म खण्डको लागि भ्याटसहित ४४ करोड ३६ लाख ९७ हजार थियो भने दोस्रो पटक ४७ करोड ३२ लाख र तेस्रो पटक ५० करोड लागत पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment