Comments Add Comment

धितोपत्र बोर्डमा लगानीकर्ताले लगाए ताला, भित्रै थुनिए कर्मचारी

१० चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि भन्दै केहि सातापहिले चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।

ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । दबाब समूहले ताला लगाए पछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन् । भित्र थुनिने कर्मचारीको नाम भने खुलाइएको छैन ।

समूहले पनि एक जना कर्मचारी भित्रै थुनिएको स्वीकार गरेको छ । दबाब समूहका महासचिव बास्तोलाले एक जना कमृचारी भुलबस थुनिएको बताए । समूहको शान्तिपुर्ण आन्दोलनमा कसैलाई थुन्ने नियत नभएको भन्दै उनले भने, ‘हामीले कार्यालय खुल्ने समय भन्दा थोरै पहिला नै ताला लगाउने कार्यक्रम थियो, सोहि अनुसार ताला लगाएयौं कर्मचारीभित्रै हुनुहुन्छ भन्ने थाहाँ थिएन ।’

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउदै आएको छ ।

यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो ।

आफ्ना माग पूरा नभई आमरण अनसन तोड्न बाध्य भएको समूहले त्यसबेला आफ्ना आंशिक मागहरु पूरा भएको दाबी गर्दै आएको छ । यसपटक भने समूहले गभर्नर, बोर्डका अध्यक्षलगायतको राजीनामा मागलाई भने अघि सारेको छैन ।

लगानीकर्ताहरुको घोषित आन्दोलनमा आइतबार धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने उल्लेख गरेका थिए । तर घर घेराउँ गर्न जादा नकरात्मक असर पर्न सक्ने भन्दै आन्दोलनको स्वरुप बदलेर बोर्डमा ताला लगाइएको महासचिव बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment