+
+

प्रदेश ५ गाडी खरिद प्रकरण अख्तियारको अनुसन्धानमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १९:५६

१० चैत, बुटवल । प्रदेश ५ को प्रदेशसभा सचिवालय र सरकारका विभिन्न मन्त्रालयका लागि गाडी खरिद गर्दा भएको भनिएको अनियमितताको छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको बुटवल कार्यालयले आइतबार गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख तारानाथ अधिकारीले गाडी खरिदमा भएको अनियमितता सम्बन्धमा आयोगको केन्द्रीय कार्यालय टंगालले नै अनुसन्धान गरिरहेको जवाफ दिए ।

‘गाडी खरिदसम्बन्धी अनियमिततालाई आयोगको केन्द्रीय कार्यालयले गम्भीर रुपमा लिएर अनुसन्धान अधिकृत तोकेरै अनुसन्धान अगाडि बढाएको छ’ अधिकारीले भने ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले पनि प्रदेश ५ सरकारका मन्त्रालय र प्रदेश सभा सचिवालयका गाडी खरिदमा अनियमितता भएको विषयमा अनुसन्धान जारी रहेको बताए । ‘अनियमितता भएको प्रमाणहरु नभएको भए यसरी अनुसन्धान नै अघि बढ्दैनथ्यो तर निचोड त अनुसन्धान पूरा भएपछि मात्रै आउँछ’ प्रवक्ता कोइरालाले भने–‘अनुसन्धान सकिन कति समय लाग्छ भन्ने यसै भन्न सकिन्न ।’

प्रदेशसभा र सरकारका विभिन्न मन्त्रालयका लागि चार पांग्रे गाडीहरु खरिद गर्दा अनियमितता भएको प्रश्न उठेपछि छानविन गरेको सार्वजनिक लेखा समितिले बजार मूल्य ६८ लाख ५५ हजार भन्दा बढी मूल्य फिर्ता गर्न निर्देशन दिएको थियो ।

सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीका अनुसार गाडी खरिद गर्दा करिब ५५ लाख रुपैयाँ बढी रकम पर्न गरी टेण्डर स्वीकृत भएको पाइएको थियो । समितिले गाडी खरिदमा १३ वटा प्रश्न उठाउँदै खरिदको प्रक्रिया पूरा भएपनि नियतमा शंका देखिएको बताएको थियो । प्रदेश सभा सचिवालयले ११ वटा र विभिन्न मन्त्रालयहरुले ४ वटा गाडी खरिद गरेका थिए ।

प्रदेशसभा र प्रदेश सरकारका लागि २२ करोड ७५ लाख ५७ हजार ९ सय ९९ रुपैयाँका गाडी खरिद भएका छन् । एउटै गाडी प्रदेश सभा र मन्त्रालयले खरिद गर्दा तीन थरी मूल्य देखिएको थियो ।

प्रदेशसभामा खरिद गरिएका गाडीको मूल्य एउटाको ७१ लाख ९५ हजार छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सोही गाडीलाई ७२ लाख ९९ हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ७२ लाख ४२ हजारमा खरिद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?