Comments Add Comment

प्रधानमन्त्री भन्छन् : विप्लव समूहलाई नियन्त्रण गर्न राज्य लाग्यो, ब्याक गियर छैन

१० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका गतिविधि नियन्त्रण गरेरै छाड्ने बताएका छन् ।

आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै सम्झाउँदा पनि विप्लव समूहले लुट, हिंसात्मक गतिविधि नरोकेकाले कानुनअनुसार नियन्त्रण गरेरै छाड्ने बताए । उनले भने ‘राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’

यद्यपि अहिले पनि विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको बताए । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’

सरकारले चन्दाको नाममा लुटपाट गर्न, बम पड्काउन र विध्वंस मच्चाउन नदिने भन्दै यस्तो कल्पना नगर्न आग्रह गरे ।

‘लोकतान्त्रिक अभ्यास आचरणअनुसार सबै चल्नुपर्छ, त्यसमा सरकार एकदमै दृढ छ । अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृखला जारी रहन्छ कि भन्ने कल्पना नगरे हुन्छ, जारी राख्न सकिन्छ कि भनेर सोचेको छ भने कल्पना नगरे हुन्छ ।’

कतिपयले दुई तिहाईको सरकार, दुई तिहाईको सरकार भन्ने गरेको भन्र्दै उनले भने, ‘दुई तिहाईको सरकार हो । जथाभावी हुन दिँदैन, संविधान कानुन अनुसार नियन्त्रण गर्छ ।’

सरकारले विप्लव समूहलाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको पनि उनले बताए । श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अहिले भूमिगत बसेर क्रान्ति गर्छु भन्ने सपना नदेख्न विप्लव समूहलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment