Comments Add Comment

न्युरोड क्षेत्रमा बैशाखबाट सेन्सरयुक्त स्मार्ट पार्किङ, एपबाटै प्रि-बुकिङ

Photo Credit : प्रतिकात्मक तस्वीर

१३ चैत, काठमाडौं । काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा अब स्मार्ट पार्किङ सेवा शुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा आगामी बैशाखदेखि स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो ।

ब्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

यी स्थानमा बन्ने स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ् गर्न सकिने बताइएको छ । ब्हिल्स ट्रुली योर्स प्रालिका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालका अनुसार ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइनेछ ।

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ सहयोगी राखिनेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

ती क्षेत्रमा पार्किङ् गर्दा दुई पाङ्गे सवारीका लागि प्रति घण्टा कर बाहेक २० रुपैयाँ, चार पाङ्ग्रेका लागि प्रति घण्टा ५० रुपैयाँ र ६ पाङ्ग्रे वा सो भन्दा माथिका लागि प्रति घण्टा २ सय रुपैयाँ शुल्क लाग्नेछ । यसरी संकलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजस्व बुझाउनेछन् ।

महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्र अनुसार शुल्क निर्धारण गरिएको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायत भित्री सहरी क्षेत्र क्षेत्र नम्बर २ मा पर्छन् ।

त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो ।

काठमाडौंमा सवारी पार्किङ व्यवस्थापनका लागि ट्वीन, पजल, मिनी रोटरी र टावर पार्किङ निर्माण तथा सञ्चालनमा ल्याउन सकिने प्रस्ताव आएका छन् ।

यीमध्ये अहिले प्रयोगमा ल्याउन लागिएको प्रणालीमा सेन्सरमा आधारित छ । यसमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ ।

रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता बिवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ । यसका एप्लिकेसनहरु एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिन्छ ।

काठमाडौंमा भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन् । बाँकी समय पार्किङ गरिएका हुन्छन् । त्यसैले पार्किङ्को समस्या बढेको हो । पहिले एक परिवारमा एउटा मात्र सवारी साधन हुन्थ्यो ।

तर, पछिल्लो समय एकै घरमा एक भन्दा बढी सवारी साधन हुन थालेका छन् । अब परम्परागत पार्किङले मात्र समस्या सुल्झने अवस्था छैन । यसका लागि प्रविधिमा आधारित व्यवस्था नगरि सुखै छैन ।

न्युरोड क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा आवागमन अस्तव्यस्त हुने गरेको छ । त्यसक्षेत्रमा किनमेलका लागि जाने उपभोक्ता सवारी पार्किङ स्थान नपाएर दिक्क हुने गर्दछन् ।

महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं सहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । ‘पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment