Comments Add Comment

बैजनाथपुर खेलग्राम अलपत्र, अर्बौंको योजनालाई एक करोड बजेट !

१५ चैत, बिराटनगर । मोरङको बैजनाथपुरमा निर्माणाधीन खेलग्राम यतिबेला अलपत्रजस्तै बनेको छ । सरकारले पर्याप्त बजेट नदिएपछि खेलग्रामको निर्माण अघि बढ्न नसकेको हो ।

यो खेलग्रामभित्र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको क्रिकेट र फुटबल रंगशाला निर्माण गर्ने योजना छ । त्यस्तै, बहुउदेश्यीय कभर्डहल, स्विमिङ पुल, बास्केटबल, भलिबल, टेनिस कोर्ट आदि बनाउने भनिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले मोरङको विराटनगरलाई पूर्वाञ्चलकै खेलकुदको हवको रुपमा विकास गर्ने उद्देश्यसहित खेलग्रामको गुरुयोजना बनाएको थियो । तर, अहिले न त यसमा राखेपले पर्याप्त चासो राखेको छ न सरकारले आफ्नो कार्ययोजनामै समेटेको छ ।

राखेप भने केन्द्र सरकारले न्यून बजेट विनियोजन गरेकाले काममा सुस्तता आएको बताउँछ । राखेपका सदस्य–सचिव केशवकुमार विष्ट भन्छन्, ‘योपटक जम्मा एक करोड मात्रै बजेट विनियोजन भएको छ । जति बजेट आयो त्यहीअनुसारको काम हुने हो ।’

एकै छाताभित्र विभिन्न खेलका रंगशाला, कर्भडहल, कोर्ट निर्माणका लागि वार्षिक रुपमा बजेट भने एक करोड विनियोजन हुन्छ । ३–४ अर्ब लाग्ने आँकलन गरिएको आयोजनामा एक–एक करोड बजेट छुट्याएर कहिले निर्माण सकिएला ? सरकारको थोरै बजेट तर राखेपको ठूलो गफ । आशैआशमा खेलाडीले वर्षौ बिताइ सके ।

कति भयो काम ?

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा सम्पन्न हुँदा क्रिकेट, सुटिङ र टेनिसको प्रतिस्पर्धा यहीँ भएको थियो । राष्ट्रिय खेलकुदका लागि यो खेलग्रामले केही गति लिएको थियो । त्यसबेला क्रिकेट मैदान, सुटिङको भवन र सफ्ट टेनिस कोर्ट बन्यो ।

त्यसपछि भने यहाँ कुनै काम भएको छैन । त्यसो त, सातौं खेलकुदपछि क्रिकेट मैदान, सुटिङ भवन र सफ्ट टेनिस कोर्ट बेवारिसेजस्तै बन्यो । प्रवेशद्वारमै बन्दै गरेको कार्यालय प्रयोजनको भवन पनि इन्जिनियर र ठेकेदारको लापारबाहीले सानो बनेको छ । मोरङ जिल्ला खेलकुद विकास समितिको अगुवाइमा प्रवेशद्वारकै छेउमा विभिन्न खेलको प्रशिक्षण हल भनेर निर्माण गरिएको भवन पनि अहिले बजेट अभावमा बेवारिसे बनेको छ ।

यता, फुटबल स्टेडियमतर्फ भने अहिले पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अगुवाइमा माटो पुर्ने काम भइरहेको छ । ५० लाख बजेट विनियोजन भएकोमा टेन्डर आह्वान गरेर समितिले पानी जम्ने स्थानमा माटो पुर्ने काम गरिरहेको छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी त ठोकुवा नै दिएर भन्छन्, ‘४०–५० हजार दर्शक क्षमताको रंगशाला अहिले मुलुकले कल्पना पनि गर्न सक्दैन ।’

कभर्डहलका लागि ५ करोड बजेट

यो खेलग्रामभित्रै पर्ने बहुउद्देश्यीय कभर्डहलका लागि प्रदेश १ सरकारले पाँच करोड बजेट विनियोजन गरेको छ ।

करिब ५ हजार दर्शक क्षमताको सुविधा सम्पन्न हुने भनिएको यो कभर्डहलको डीपीआर बनेको छैन भने कुन मोडालिटीमा बन्ने भन्ने कुरा पनि यकिन भएको छैन ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले प्रदेश सरकार, राखेप र महानगरपालिकाबीच बसेको बैठकपछि बजेट विनियोजन भएको बताए ।

उनले भने, ‘बहुउद्देश्यीय कभर्डहल निर्माणको लागि ५ करोड बजेट विनियोजन गरेको छ । यो क्रिकेट मैदानको उत्तरतर्फ रहेको छ । अब छिट्टै थप कार्यमा हामी अघि बढ्ने छौ ।’

कहिले निर्माण सम्पन्न हुन्छ ?

यो खेलग्राम कहिले निर्माण सम्पन्न हुन्छ ? यसको जवाफ न त राखेपसँग छ न सरकारसँग । बर्सेनि छुट्टिने करोडको बजेटले निर्माण सम्पन्न हुन वर्षौं लाग्ने निश्चित छ ।

मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्य बजेटकै अभावमा निर्माणले गति लिन नसकेको बताउँछन् ।

त्यसो त, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष नगरकोटी आफैं निर्माणबारे सन्तुष्ट छैनन् । उनले भने, ‘म पनि सन्तुष्ट छैन । सुस्त गतिमा काम भइरहेको छ ।’

मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अमात्य मास्टर प्लानअनुसार कार्य नभएको स्वीकार्छन् । उनी भन्छन्, ‘एकैचोटी बनाउन गाह्रो छ । यति नै वर्षमा
सकिन्छ भन्ने अवस्था छैन । बजेट भए ३–४ वर्षमै बनाउन सकिन्छ । तर बजेट नै आएन भने अहिले नै बनाउन सकिन्छ भन्ने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment