Comments Add Comment

तीन स्थानीय तह मिलेर बारुणयन्त्र संचालन

१८ चैत, बुटवल । रुपन्देहीका तीन स्थानीय तह मिलेर संयुक्तरुपमा वारुणयन्त्र संचालनमा ल्याएका छन् ।

सिद्धार्थनगर नगरपालिका तथा मायादेवी र सियारी गाउँपालिकाले ६३ लाख २४ हजार रुपैयाँमा वारुणयन्त्र खरिद गरी संचालनमा ल्याएका हुन् । यसअघि सिद्धार्थनगरमा वारुणयन्त्र भएपनि पुराना भएका कारण टाढा लैजान समस्या थियो । मायादेवी र सियारीमा भने बारुणयन्त्र यसअघि थिएन ।

पुराना वारुणयन्त्रबाट काम चलाउँदै आएका तहले नयाँ यन्त्रआएसँगै घटना घटिहाले ठूलो क्षति हुनबाट बचाउन सकिने सिद्धार्थनगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।

अशोक लेल्याण्ड कम्पनीको वारुणयन्त्रमा तीन हजार ५ सय लिटर पानी र पाँच सय लिटर फोम भर्न सकिने क्षमता छ । यस्तै, ६ मिटर अग्लो घुमेर उज्यालो दिनसक्ने हाइड्रोलिक लाइट जडित छ ।

पाइप नजोडिकनै एक सय मिटर टाढासम्म पानीको फोर्स फाल्न मिल्ने क्षमता रहेको यन्त्रले अग्लाअग्ला घरहरुमा समेत आगलागी हुँदा निभाउन सकिने सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

यन्त्रमा साना साइजका २ वटा र ठूला साइजका १५ वटा पाइप रहेका छन् । एक्लै खरिद गर्दा आर्थिक भार बढी पर्ने र प्रयोग पनि कम हुने हुँदा तीन तह मिलेर संचालन गरिएको हो ।

यन्त्रको संरक्षण, कर्मचारी व्यवस्थापन, मर्मत सम्भार लगायतका काम तीनै तहले मिलेर गर्ने छन् ।

सिद्धार्थनगरको ६० तथा मायादेवी र सियारीको २०/२० प्रतिशत लागतमा यन्त्र खरिद गरिएको हो । संरक्षणका लाग्ने खर्च पनि खरिद प्रक्रियाजस्तै प्रतिशतका आधारमा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment