Comments Add Comment

हावाहुरी प्रभावितको सहयोगमा जुटे सत्तारुढ विद्यार्थी संगठन

२० चैत, काठमाडौं । सत्तारुढ नेकपानिकट विद्यार्थी संगठनहरू आँधी प्रभावित बारा र पर्साका गाउँहरुमा अस्थायी बासस्थान निर्माणमा सक्रिय भएका छन् । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को टोलीले बुधबार भरबलियामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यसहित संयुक्त टोली प्रभावित क्षेत्र पुगेर राहत र पुनःस्थापनामा जुटेको हो ।

क्षतिग्रस्त संरचना हटाउने, राहत वितरण गर्नेदेखि अस्थायी बासस्थानहरु निर्माण गर्ने काममा नेकपाका दुवै विद्यार्थी संगठन जुटेको तामाङले जानकारी दिए ।

पुरैनिया, भलुही, हर्दिया र चैनपुरलगायतका क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएका छन् । गत आइतबार आएको आँधीबाट २८ जनाको मृत्यु भएको छ भने ३८४ जना घाइते छन् ।

प्रभावित क्षेत्रमा काम गर्न भरवलियामा सम्पर्क कार्यालय खोलिएको छ । दुवै संगठनका सचिवद्वय आरती लामा र सूर्यनारायण साह रहेको सचिवालयसमेत गठन गरेर आवश्यक काम भइरहेको छ ।

अनेरास्ववियुका उपाध्यक्ष आचार्यले हरेक दिन कम्तीमा ३० जना स्वयंसेवक प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए । ‘यहाँ बिजुलीको एकदमै अभाव रहेछ । हाम्रो पहलमा सोलार बत्ती पुर्‍याउने निर्णय केन्द्रबाट भएको छ,’ आचार्यले भने ।

प्रभावित बस्तीहरुमा म्याट्रेस, भाँडाकुँडा, जुत्ता चप्पल, झुल वितरण गर्ने योजना पनि बनाइएको उनले जानकारी दिए ।

यसअघि अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त बैठकले आँधी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणको लागि सिंगो जनशक्ति परिचालित गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बिभिन्न जिल्लाहरुबाट स्वयंसेवकहरु पुग्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment