Comments Add Comment

प्रदेश ५ मा ४ हजार सहकारी : साढे ९ लाख सदस्य २६ अर्ब बचत

२० चैत, बुटवल । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नारासहित बुधबार (आज) देशभर ६२ औं सहकारी दिवस मनाइँदै छ । संविधानमै सहकारीलाई अर्थतन्त्रको तीन खम्बा मध्ये एक खम्बाका रुपमा परिभाषित गरिएको छ । प्रदेश ५ का १२ जिल्लामा ४ हजार ४३ वटा सहकारी सञ्चालनमा छन् ।

प्रदेश ५ का सहकारी सदस्यको संख्या नेपालभरका सदस्यहरुको कूल संख्याको १५.३ प्रतिशत छ । शेयर लगानी र निक्षेप परिचालनका हिसाबले क्रमशः ८.२ प्रतिशत र ८.७ प्रतिशत हिस्सा प्रदेश ५ का सहकारीले ओगटेका छन् ।

ऋण लगानीमा ११.२ प्रतिशत हिस्सा रहेको देखिन्छ । यो प्रदेशमा भिन्नभिन्न प्रकृतिका सहकारीमध्ये कृषि सहकारीको संख्या धेरै रहेको छ । एक पालिका भन्दा बढी कार्यक्षेत्र भएका (प्रदेशस्तरीय) सहकारी ६ सय १६ वटा रहेका छन् ।

प्रदेशस्तरीय सहकारी सदस्यहरु ७ हजार ६ सय ३५, वचत तथा ऋण सहकारी २ सय १८, वहुउद्देश्यीय सहकारी १ सय ४९, कृषि सहकारी १ सय २२, कफी सहकारी ६, तरकारी तथा फलफूल सहकारी ४, मौरीपालन सहकारी ४, दुग्ध सहकारी २७, साना किसान सहकारी ५, अदुवा सहकारी ८, विद्युत सहकारी ४ वटा र जडिबुटी सहकारी एउटा छन् ।

प्रदेश ५ का कूल सहकारीहरुमध्ये कृषि सहकारी सबैभन्दा बढी १७ सय ४१ वटा छन् । यो प्रदेशका कूल सहकारी संख्याको ४३.१ प्रतिशत हो भने देशभरको १५.९ प्रतिशत हो । जिल्लागतरुपमा कपिलवस्तुमा सबैभन्दा बढी कृषि सहकारी ३ सय २९ वटा छन् भने सबै भन्दा कम रुकुम पुर्वमा २२ वटा छन् ।

दोस्रो स्थानमा बचत तथा ऋण सहकारी संस्था छन् । वचत तथा ऋणको कारोबार गर्ने सहकारी १३ सय एक वटा (३२.२ प्रतिशत) संचालनमा छन् । वचत तथा ऋण सहकारी रुपन्देहीमा सबैभन्दा बढी ३ सय ५४ र सबैभन्दा कम रुकुम पुर्वमा ३ वटा मात्र छन् ।

प्रदेश ५ मा बहुउद्देश्यीय सहकारी संस्था ४ सय ८१ वटा रहेका छन् । वहुउद्देश्यीय सहकारी पनि सबैभन्दा धेरै रुपन्देहीमा ११० वटा र सबैभन्दा कम रुकुम पुर्वमा २ वटा छन् । यो प्रदेशमा यातायात, जुडिबुटी, सञ्चार र औद्योगिक सहकारी पनि संचालनमा छन् । यिनको संख्या भने ५ वटाको हाराहारीमा मात्रै छ ।

 

जिल्लागत रुपमा सबैभदा बढी सहकारी रुपन्देहीमा ७ सय ७९ वटा र दोस्रोमा दाङमा ६ सय २७ वटा सहकारी सञ्चालनमा छन् । सहकारीका शेयर सदस्य पनि रुपन्देहीमा सबैभन्दा धेरै एक लाख ९८ हजार ६ सय ४९ जना छन् भने दोस्रोमा दांगमा १ लाख ३९ हजार ७ सय ५१ जना रहेका छन् ।

शेयर पुँजी र कारोबारका हिसाबले प्रदेश ५ कै सबैभन्दा ठूलो सहकारी सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था शंकरनगर पनि रुपन्देहीमै छ । यो सहकारीको शेयर पुंजी १६ करोड ८३ लाख २७ हजार छ भने सहकारीले गएको वर्ष पौने ४ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

प्रदेशकै सबैभन्दा धेरै शेयर सदस्य रहेको सहकारी जनउत्थान वचत तथा ऋण सहकारी संस्था कोटिहवा पनि रुपन्देहीमै छ । जनउत्थानमा ८ हजार ५ ३२ जना महिला र ३ हजार ८ सय ४५ पुरुष गरी १२ हजार ३ सय ७७ जना शेयर सदस्य छन् । सबैभदा कम रुकुम पूर्वमा ४४ वटा सहकारी सञ्चालनमा छन् । रुकुम पुर्वमा १७ सय ४८ जना मात्र सहकारीका सदस्य छन् ।

प्रदेश ५ मा ९ लाख ६७ हजार २ सय २३ जना व्यक्ति सहकारी संस्थाहरुमा शेयर सदस्यका रुपमा आवद्ध छन् भने ६ हजार एक सय ६२ जनाले सहकारीमा रोजगारी पाएका छन् । प्रदेशका सहकारीमा फागुनसम्म ६ अर्ब २ करोड शेयर लगानी, २६ अर्ब ४३ करोड निक्षेप तथा ३० अर्ब ७० करोड कर्जा लगानी भएको छ ।

जिल्लागत रुपमा कारोबारका हिसाबले रुपन्देही सबैभन्दा अगाडि छ । रुपन्देहीमा एक लाख ९८ हजार ६ सय ४९ जना सदस्य,२ अर्ब ४७ करोड शेयर लगानी, ११ अर्ब ७३ करोड निक्षेप परिचालन र १२ अर्ब ६९ करोड कर्जा लगानी भएको छ ।

दाङमा एक लाख ३९ हजार सदस्य, ५८ करोड शेयर लगानी, एक अर्ब ६२ करोड निक्षेप परिचालन र २ अर्ब ४३ करोड कर्जा लगानी रहेको छ । नवलपरासी पश्चिममा ९९ हजार २ सय २१ जना सदस्य, ६४ करोड ७३ लाख शेयर लगानी, ३ अर्ब ५९ करोड १९ लाख निक्षेप र ४ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।

कपिलवस्तुमा ८८ हजार १ सय २८ जना सदस्य, ३१ करोड ८६ लाख शेयर लगानी, १ अर्ब ३८ करोड निक्षेप परिचालन र ८४ करोड ३ लाख रुपैयां कर्जा लगानी भएको प्रदेश योजना आयोगको तथ्यांकमा उल्लेख छ । पाल्पामा ७६ हजार १०५ सदस्य, २२ करोड ३७ लाख शेयर लगानी, एक अर्ब ४७ करोड ८७ लाख निक्षेप संकलन, १ अर्ब ६७ करोड ४ लाख कर्जा लगानी रहेको छ ।

अर्घाखाँचीमा २३ हजार २ सय ५० जना सदस्य, शेयर लगानी ५० करोड ४ लाख, निक्षेप संकलन ३९ करोड ४ लाख र कर्जा लगानी ५३ करोड ७ लाख रुपैयां भएको छ । गुल्मीमा ४७ हजार ५ सय ५८ जना सदस्य, २० करोड ३६ लाख शेयर लगानी,७७ करोड एक लाख निक्षेप र ८८ करोड ८ लाख कर्जा लगानी भएको छ ।

रुकुम पूर्वमा एक हजार ७ सय ४८ सदस्य, ७ लाख शेयर लगानी, ४ लाख निक्षेप र ७ लाख कर्जा लगानी भएको छ । रोल्पामा १६ हजार ३ सय ५५ सदस्य, ६ करोड २ लाख शेयर लगानी,९ करोड ६ लाख निक्षेप र १५ करोड ७ लाख कर्जा लगानी भएको छ ।

प्युठानमा ३३ हजार १ सय ३० सदस्य, ९ करोड ३ लाख शेयर लगानी, ३४ करोड १ लाख निक्षेप परिचालन र ४९ करोड एक लाख कर्जा लगानी भएको छ । बांकेमा एक लाख २० हजार ९ सय ४२ सदस्य, ५३ करोड एक लाख शेयर लगानी,२ अर्ब ९४ करोड ६ लाख निक्षेप र ३ अर्ब ६९ करोड ६ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

बर्दियामा एक लाख २२ हजार ३ सय ८६ सदस्य, ३७ करोड ४ लाख शेयर लगानी, २ अर्ब ७ करोड एक लाख निक्षेप र २ अर्ब ३३ करोड ८९ लाख कर्जा लगानी भएको छ । सहकारी विभागका अनुसार देशभरका सहकारीमा ६३ लाख ५ हजार ५ सय ८१ जना शेयर सदस्य छन् भने ६० हजार ५ सय १७ जनाले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment